क्रोएसियामाथि इङ्गल्यान्ड ४–२ ले विजयी, कप्तान केनले बनाए कीर्तिमान « Khabarhub

क्रोएसियामाथि इङ्गल्यान्ड ४–२ ले विजयी, कप्तान केनले बनाए कीर्तिमान

टुकलको प्रशिक्षणमा इङ्गल्यान्डको सानदार प्रस्थान


४ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

टेक्सास – कप्तान ह्यारी केनको दुई गोलको मद्दतले इङ्गल्यान्डले फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिकाको टेक्ससस्थित डलास काउब्वयजको रंगशालामा बुधबार राति सम्पन्न रोमाञ्चक खेलमा इङ्गल्यान्डले क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।

नयाँ मुख्य प्रशिक्षक थोमस टुकलको नेतृत्वमा पहिलो ठूलो प्रतियोगिता खेलिरहेको इङ्गल्यान्डका लागि केनबाहेक जुड बेलिङ्घम र वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका मार्कस रासफोर्डले एक/एक गोल गरे । क्रोएसियाका तर्फबाट मार्टिन बातुरिना र पेटार मुसाले गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

७० हजार दर्शक क्षमताको एअर–कन्डिसन्ड रंगशालामा खेलको १२ औँ मिनेटमै इङ्गल्यान्डले अग्रता लिएको थियो । क्रोएसियाका कप्तान लुका मोड्रिचले पेनाल्टी बक्समा नोनी माडुएकेलाई लडाएपछि इङ्गल्यान्डले पेनाल्टी पाएको थियो ।

केनको पहिलो प्रहार क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिचले रोके पनि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहयोगमा गोलरक्षक आफ्नो लाइनभन्दा अघि बढेको भन्दै पुनः पेनाल्टी प्रहार गर्न निर्देशन दिएका थिए । दोस्रो पटकमा केनले कुनै गल्ती नगरी टोलीलाई अग्रता दिलाए ।

खेलको ३६ औँ मिनेटमा क्रोएसियाका २३ वर्षीय मिडफिल्डर मार्टिन बातुरिनाले उत्कृष्ट गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । तर, त्यसको छ मिनेटपछि नै ड्याक्लन राइसको कर्नर पासमा हेडमार्फत गोल गर्दै केनले इङ्गल्यान्डलाई पुनः २–१ को अग्रता दिलाए । यस गोलसँगै केनले विश्वकपमा आफ्नो व्यक्तिगत गोल संख्या १० पुर्‍याउँदै इङ्गल्यान्डका लागि ग्यारी लिनेकरको कीर्तिमानसँग बराबरी गरेका छन् । पहिलो हाफको इन्जुरी समयको पाँचौँ मिनेटमा क्रोएसियाका पेटार मुसाले गोल गरेपछि पहिलो हाफ २–२ को बराबरीमा सकिएको थियो ।

दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमै जुड बेलिङ्घमले एकल प्रयासमा सानदार गोल गर्दै इङ्गल्यान्डलाई ३–२ ले अघि बढाए । त्यसपछि दुवै टोलीले गोलका केही अवसर गुमाएका थिए । खेल सकिन पाँच मिनेट बाँकी छँदा मार्कस रासफोर्डले गोल गर्दै इङ्गल्यान्डको ४–२ को जित सुनिश्चित गरे ।

सन् २०१८ को विश्वकप सेमिफाइनलमा क्रोएसियासँग बेहोरेको हारको बदला लिँदै इङ्गल्यान्डले यस पटक सुखद सुरुवात गरेको हो ।

प्रकाशित मिति : ४ असार २०८३, बिहीबार  ६ : ०३ बजे

प्रतिनिधिसभा बैठकमा बजेटबारे सम्बन्धित मन्त्रीले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ ।

धौलागिरिका घुम्ती गोठ सङ्कटमा

म्याग्दी- उच्च पहाडी भूगोलमा अवस्थित म्याग्दीको धवलागिरी गाउँपालिकाका बासिन्दाको जीविकोपार्जनको

विश्वकपमा घानाको रोमान्चक जित: ९५ औँ मिनेट गोलले पानामा पराजित

टोरन्टो – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा

पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना, तराईमा तातो बढ्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय