चितवन निकुञ्जको ‘सेलिब्रेटी’ हात्ती रोनाल्डो मृत भेटियो, करेन्ट लागेको प्रारम्भिक आशंका « Khabarhub

चितवन निकुञ्जको ‘सेलिब्रेटी’ हात्ती रोनाल्डो मृत भेटियो, करेन्ट लागेको प्रारम्भिक आशंका


३ आश्विन २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा फेला परेको छ।

निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी अविनाश थापा मगरका अनुसार रोनाल्डो शनिबार बिहान विषहजारी पोस्ट नजिकै मृत अवस्थामा फेला परेको हो। घटनास्थलको निरीक्षण तथा आवश्यक परीक्षणपछि मात्र मृत्युको वास्तविक कारण खुल्ने उनले बताए।

रोनाल्डोको मृत्यु करेन्ट लागेर भएको हुन सक्ने प्रारम्भिक सूचना आए पनि निकुञ्जले यसलाई पुष्टि गरिसकेको छैन। घटनाबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ।

करिब ३५ वर्षको रोनाल्डो लामो समयदेखि चितवनको बरण्डाभार क्षेत्रमा सक्रिय जंगली मत्ता हात्तीका रूपमा परिचित थियो। विशेषगरी सौराहास्थित हात्ती प्रजनन केन्द्रमा रहेका ढोई हात्तीको प्रजननका क्रममा रोनाल्डो नियमित आउने गर्थ्यो।

प्रजनन केन्द्रका अनुसार २०८३ असारसम्म केन्द्रमा जन्मिएका ६९ वटा छावामध्ये ३८ वटा रोनाल्डोकै सन्तान हुन्। यसले चितवनमा हात्तीको वंश वृद्धिमा रोनाल्डोको महत्वपूर्ण भूमिका रहेको देखाउँछ।

केन्द्रमा रोनाल्डो कहिले एक सातासम्म र कहिले दुई–तीन दिनसम्म बसेर पोथी हात्तीसँग संसर्ग गर्ने गरेको बताइन्छ। ऊ प्रजनन केन्द्रमा आएका बेला अन्य जंगली भाले हात्ती कमै देखिने गरेको कर्मचारीहरूको अनुभव छ। यही कारण केन्द्रका कर्मचारीबीच रोनाल्डोलाई ‘ज्वाईं राजा’ समेत भन्ने गरिएको थियो।

रोनाल्डो प्रजननमा महत्वपूर्ण भए पनि मानिसका लागि भने जोखिमपूर्ण जंगली हात्तीका रूपमा पनि परिचित थियो। विभिन्न समयमा हात्तीको आक्रमणबाट मानिसको ज्यान गएको घटनामा रोनाल्डोको नाम जोडिँदै आएको छ। उपलब्ध विवरणअनुसार १६ वर्षको अवधिमा रोनाल्डोको आक्रमणबाट २२ जनाको मृत्यु भएको बताइन्छ।

यद्यपि पछिल्लो समय रोनाल्डो पहिलेको तुलनामा कम आक्रामक भएको बताइन्थ्यो। प्रजनन केन्द्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरू नजिकै पुगेर फोटो खिच्दा समेत उसले खासै वास्ता नगर्ने गरेको कर्मचारीहरूको भनाइ थियो।

बरण्डाभार क्षेत्रबाट गाउँबस्ती प्रवेश गर्दा भने रोनाल्डोले बालीनालीमा क्षति पुर्‍याउने गरेको थियो। घर तथा अन्य भौतिक संरचनामा समेत क्षति पुर्‍याएको स्थानीयको अनुभव छ।

रोनाल्डोको एउटा छुट्टै पहिचान उसको छोटो पुच्छर पनि थियो। उसको पुच्छरको फेद मात्रै देखिन्थ्यो। पुच्छर कसरी चुँडिएको भन्ने विषयमा समेत लामो समयदेखि विभिन्न अनुमान हुँदै आएका थिए।

प्रजनन केन्द्रका लागि रोनाल्डो किन महत्वपूर्ण थियो ?

चितवनको सौराहामा रहेको हात्ती प्रजनन केन्द्र सन् १९८७ मा स्थापना भएको हो। भारतबाट १६ तथा म्यानमार र थाइल्यान्डबाट दुई–दुई वटा हात्ती उपहारमा लिएर स्थापना गरिएको केन्द्रमा २०५४ सालदेखि हात्तीको प्रजनन सुरु गरिएको थियो।

२०५७ सालमा जंगली हात्तीको आक्रमणबाट केन्द्रको घरपालुवा मत्ता ‘धीरेन्द्रप्रसाद’ मरेपछि ऐरावतगज र शेरप्रसादलाई समेत जंगली हात्तीले आक्रमण गरेर मारेका थिए। त्यसपछि केन्द्रमा घरपालुवा मत्ता राख्ने क्रम रोकिएको थियो।

त्यसयता केन्द्रका ढोई हात्तीको प्रजननका लागि रोनाल्डो, धुव्रे र गोविन्देजस्ता जंगली मत्तामाथि निर्भर रहनुपरेको थियो। तीमध्ये रोनाल्डोले प्रजननमा ठूलो योगदान पुर्‍याएको केन्द्रका अधिकारीहरू बताउँछन्।

यसअघि उपलब्ध विवरणअनुसार केन्द्रमा जन्मिएका दर्जनौँ छावा रोनाल्डोकै सन्तान हुन्। नेपालले विभिन्न देशलाई हात्ती उपहार दिने क्रममा समेत रोनाल्डोबाट जन्मिएका हात्तीहरू समावेश भएका छन्।

त्यसैले मानिसमाथि आक्रमणको इतिहास बोकेको भए पनि हात्तीको वंश वृद्धिमा पुर्‍याएको योगदानका कारण रोनाल्डो चितवनको हात्ती प्रजनन केन्द्र र सौराहाको वन्यजन्तु पर्यटनसँग जोडिएको चर्चित जंगली हात्ती बनेको थियो।

अब भने बरन्डाभार क्षेत्रमा उसको मृत्युको वास्तविक कारण पत्ता लगाउन निकुञ्जले घटनास्थलको परीक्षण तथा आवश्यक अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : ३ आश्विन २०८३, शनिबार  ९ : ४५ बजे

टुँडिखेलमा संविधान दिवस

काठमाडौं- नेपालको संविधान जारी भएको दिनको स्मरण गर्दै आज देशभर

पाकिस्तानमा प्रहरी मुख्यालयमा आक्रमण, ३१ जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको उत्तरी क्षेत्रमा रहेको प्रहरी मुख्यालयमा भएको विस्फोट र

‘संविधानद्वारा सुशासन र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न मार्गनिर्देश’

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिगो शान्ति, सुशासन,

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला सडक पुल संरक्षण

म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी-दरवाङ सडकअन्तर्गत

‘संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार’ 

दाङ–  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान राजनीतिक स्थायित्व, सामाजिक