काठमाडौँ – बलिउड अभिनेत्री राखी सावन्तविरुद्ध भारतको झाँसीस्थित अदालतले गैरजमानती वारेन्ट जारी गर्दै पक्राउ गर्न आदेश दिएको छ ।
सन् २०१० मा प्रसारित टेलिभिजन कार्यक्रमसँग सम्बन्धित पुरानो मुद्दामा अदालतमा उपस्थित नभएपछि उनीविरुद्ध यस्तो आदेश जारी गरिएको हो ।
‘राखी का इन्साफ’ नामक कार्यक्रममा एक युवकलाई अपमान गरेको र त्यसको केही दिनपछि उनले आत्महत्या गरेको घटनासँग यो मुद्दा सम्बन्धित छ ।
मुद्दासम्बन्धी विवरणअनुसार, सन् २०१० मा प्रसारित उक्त कार्यक्रममा झाँसीका २४ वर्षीय तरकारी व्यापारी लक्ष्मणप्रसाद अहिरवारलाई राखीले उनकी पत्नी र परिवारका सदस्यकै अगाडि ‘नामर्द’ र ‘नपुंसक’ जस्ता शब्द प्रयोग गर्दै अपमान गरेकी थिइन् । त्यसको केही दिनपछि लक्ष्मणले आत्महत्या गरेको बताइएको छ ।
घटनापछि मृतककी आमाले उजुरी दिएसँगै प्रहरीले राखी सावन्त र उनको टोलीविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको थियो । प्रहरीले अदालतमा आरोपपत्र पेस गरेपछि मुद्दाको सुनुवाइ हुँदै आएको थियो ।
अदालतमा पटक–पटक उपस्थित हुनुपर्ने भए पनि राखी अनुपस्थित रहँदै आएकाले उनीविरुद्ध गैरजमानती वारेन्ट जारी गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अदालतले प्रहरीलाई राखी र उनको टोलीलाई पक्राउ गरी सन् २०२६ डिसेम्बर १ मा उपस्थित गराउन निर्देशन दिएको छ ।
वारेन्ट जारी भएपछि राखीले आफू उक्त कार्यक्रमको प्रस्तोता मात्र भएको र टेलिभिजन च्यानलले जे भन्न लगाउँथ्यो, त्यही बोलेको दाबी गरेकी छन् । आफूलाई जेल जानुपर्ने अवस्था आए पनि जान तयार रहेको उनको प्रतिक्रिया छ ।
डिसेम्बर १ मा हुने सुनुवाइले लामो समयदेखि विचाराधीन यस मुद्दाको आगामी प्रक्रिया तय गर्नेछ ।














प्रतिक्रिया