लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता « Khabarhub

भिडियो अन्तर्वार्ता

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 9 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ । कतिपय रोगले लक्षण नदेखाएरै भित्रभित्रै असर गरेर अन्तिम अवस्थामा आएपछि मात्रै हामीलाई थाहा हुन्छ भने कति रोग समयमै पत्ता लागे पनि बाचुञ्जेल औषधी खानुपर्ने खालका हुन्छन् ।
ती दीर्घरोग मध्येकै एउटा बाथ पनि हो ।

सामान्यतया हाडजोर्नीको समस्याका रुपमा लिइने बाथले हाम्रो शरीरका विभिन्न अंगहरुलाई असर गर्ने चिकित्सक बताउँछन् । बाथरोगबारे फैलिँदो जनचेतना र उपचारमा सहज पहुँचका कारण नेपालमा पछिल्लो समय बाथका बिरामीको संख्या बढिरहेको छ ।

त्यस्तै बाथमा पनि विशेष गरी महिलामा देखिने एकदमै दुर्लभ मानिएको लुपस बाथका बिरामी पनि बढ्दै गएका विज्ञको भनाइ छ ।

चिसो मौसममा धेरै सताउने बाथ कस्तो रोग हो ? बाथ कति प्रकारका छन् ? दुर्लभ रोग मानिएको लुपस बाथ के हो ? यिनै विषयमा नर्भिक अस्पताल थापाथली र बाथ रोग सेन्टर नक्सालमा कार्यरत कन्सल्ट्यान्ट रुमेटोलोजिष्ट एण्ड क्लिनिकल इम्युनोलोजिष्ट डा. अरुणकुमार गुप्तासँग गरिएको कुराकानीको सम्पादित अंश :

चिसो मौसममा धेरै सताउने बाथ कस्तो रोग हो ?
प्रायजसो बाथको पीडा धेरैजसो चिसो मौसममै अधिक हुन्छ । बाथ अर्थात् अर्थोराइटिस्लाई तराई क्षेत्रमा गठिया भनिन्छ । नेपालीमा बाथ भनिन्छ । यसलाई बुझ्ने हिसाबले कुनै पनि हाडजोर्नी सुन्निएर, फुलेर हुने रोग बाथ हो ।

बाथलाई हामीले हाडजोर्नीको रोग मात्रै भनेर चिन्छौं । तर बाथ धेरै प्रकारका छन् भनिन्छ । खासमा बाथ कति प्रकारका छन् ?
बाथ हाडजोर्नीमै मात्रै सीमित रोग होइन । हाडजोर्नी, नसा, मांशपेसी, छालासँगै भित्री अंग मुटु, कलेजो, मिर्गौला र फोक्सोमा पनि यसले असर गरेर बाथरोगको उत्पति हुन्छ । त्यसैले बाथ एउटा रोग नभएर सयौं प्ररकारको रोग हो ।

कुन बाथले शरीरमा कस्तो प्रभाव गर्ने हो ?
सामान्यतया बाथ भनेको दुखाइबाटै सुरु हुन्छ । कुनै पनि मान्छे व्यक्ति विशेष अनुसार कसैको एउटा जोर्नी र एकभन्दा धेरै जोर्नी दुख्यो वा बिहान उठ्दा जाम भएको जस्तो कक्रक्क, हिँड्न, बस्न, उठ्न गाह्रो हुने हुन्छ भने कतिको हातका आँख्ला सुनिन्छ ।
त्यस्तै कतिलाई कम्मर ढाड, गर्धन, मेरुदण्ड, खोक्दा, हाच्छिउँ गर्दा असह्य पीडा हुने हुन्छ । कसैलाई घुँडाको जोर्नीहरु दुख्ने, फुल्ने, उठ्दा बस्दा जोर्नीबाट आवाज आउने जस्ता लक्षण यदि कसैमा छ भने बाथ रोग हो कि भनेर शंका गर्नुपर्छ । यी लक्षणका आधारमा कस्तो बाथ हो भनेर हामीले पहिचान गर्नुपर्छ ।
बाथलाई हाडजोर्नीको समस्या हो भनेर धेरैलाई थाहा भएकै हो । तर पछिल्लो समय लुपस बाथको बारेमा पनि सुनिन थालेको छ।

दुर्लभ रोग मानिएको लुपस बाथलाई कसरी बुझ्ने ?
यो बाथ हाडजोर्नीमात्रै नभई शरीरका धेरै अंगमा लाग्ने रोग हो । त्यसमा पनि छालामा लाग्ने बाथ जुन भित्रीअंगसम्म असर पर्ने गरेर शुरु हुन्छ । त्यसमध्ये लाखौंमा एक जनालाई हुने बाथ लुपस बाथ हो। यो विशेष गरी पुरुषको तुलनामा महिलालाई बढी देखिन्छ ।

महिलामा अघि देखिनुको कारण के हो ?
कतिपय बाथ पुरुषमा बढी देखिन्छ भने कति महिलामा । यसको कारण भनेको महिलामा एष्ट्रोजेन नामक हर्मोनको मात्रा बढी हुन्छ । यो पनि एउटा कारण हो भने अर्को वंशाणुगत कारणले महिलामा लुपस बाथको प्रभाव बढी देखिन्छ ।
त्यस्तै वातावरणीय प्रभावका कारणले बाथको प्रकोप महिलामा बढी देखिन्छ ।

महिलामा बढी देखिने लुपस बाथले प्रजनन प्रणालीमा कत्तिको असर गर्छ ?
यसले प्रजनन प्रणालीले असर गर्ने भन्दा अगाडि लुपसलाई कसरी चिन्ने भन्ने कुरा म प्रष्ट पार्न चाहन्छु । जस्तै लुपस बाथ पनि दुई किसिमले देखिन्छ । एउटा १५ देखि ४५ वर्षको उमेरका महिलामा बढी देखिन्छ ।

अर्थात् सन्तान उत्पादन गर्ने उमेरमा यसको प्रभाव बढी देखिन्छ । त्यसमा पनि अनकमन र दुर्लभ डिजिज हो । यो डिजिज विशेष गरेर एशिया र अफ्रिकाका मानिसमा अधिक देखिने गरेको छ । नेपालमा पनि लुपस बाथरोगीको संख्या दिनदिनै बढ्दै गएको छ ।

आजभन्दा ३० वर्ष अगाडि लुपस के हो ? यो रोग हो कि होइन ? भन्ने कुरा नै थाहा थिएन । समय बित्दै जाँदा मानिसमा यसबारेमा चेतना फैलिँदै गयो । विशेषज्ञहरु यो क्षेत्रमा आएर दृष्टिकोण दिए । यसको उपचार पनि नेपालमै सम्भव भयो । हामीले यसको नाम पनि सुन्यौं ।

यो रोगको लक्षण भनेको कपाल झर्ने, घाममा जाँदा छालामा पुतलीको प्वाँख जस्तै डाबर आउने, मुखमा घाउ आउने, नाकमा घाउ हुने, चिसो पानीमा हात राख्दा हातको रङ सेतो, निलो रातो हुने, मसल दुख्ने, खाँदा बस्दा उठ्दा गाह्रो हुने, यस्ता लक्षण देखिएको केही समयपछि छालामा अन्य रोग निम्त्याउने जस्तै शरीरको कुनै भागमा पनि दादुरा जस्तो आउने र पछि अरु अंगमा असर गर्दै जान्छ ।

जस्तै अन्य बाथले प्रत्यक्ष जोर्नीलाई असर गरेको जस्तो यसले हड्डीलाई असर गर्दैन । तर मांसपेशीलाई असर गरेर दुखाइ हुने, शरीर भारी हुने, आलस्य लाग्ने, थकान महसुस हुने जस्ता लक्षण देखिन्छन् ।

त्यस्तै, लुपसले भविष्यमा मुटु मिर्गौला, कलेजो, फोक्सो, आँखा, छालामा डाइग्नोसिसमा जति ढिलो हुन्छ, त्यत्ति नै यसले असर गर्छ । मुटुलाई कसरी गर्छ भने विभिन्न किसिमका रोग जस्तै मुटुमा पानी जम्ने, हृदयाघात हुने जस्ता समस्या ल्याउँछ ।
यो रोगले सबैभन्दा पहिले असर गर्ने अंग भनेको मिर्गौला हो ।

मिर्गौैलामा असर गरेको कसरी थाहा पाउने ?
फिँज जस्तो पिसाब आउने, पिसाबमा रगत देखिने, खुट्टा सुन्निने, पेट सुन्निने हुन्छ । त्यस्तै कतिपयलाई टाउको दुख्ने, छारे रोग लाग्ने, सिजर आउने लक्षणहरु देखिँदै जाँदा मस्तिष्कलाई नै असर गरेर स्ट्रोक हुने, प्यारालाइसिस, मेनेन्जाइटिस लगायत मानसिक समस्या देखिन सक्छ ।

लुपसले कहिलेकाहीँ रगतमा पनि समस्या ल्याइदिन्छ । कतिपय बिरामी रगत चढाउँदा पनि रगतको मात्रा नपुगेको समस्या लिएर आउँछन् । जस्तै यसले एनिमिया गराउँछ । हाम्रो शरीरमा रोग प्रतिरक्षा प्रणालीलाई बढाउने सेतो रगतको मात्रालाई कम गराइदिन्छ भने कतिको फियो, कलेजो बढेको हुन्छ । यी सवै लक्षणमा कुनै एक लक्षण लिएर बिरामी आए भने उसको लक्षणको आधारमा ‘तपाईंलाई यस्तो खालको लुपस हो है’ भनेर बुझाउने हो ।

प्रजनन स्वास्थ्यको बारेमा कुरा गर्दा एक त यो महिलामा धेरै त्यसमा पनि सन्तान उत्पादन गर्ने समयमा अझ बढी हुने भएकाले आजभन्दा २० वर्ष अगाडिका बिरामीमा लुपस बाथ भयो, अब म कहिल्यै पनि आमा बन्न सक्दिन भन्ने आमधारणा थियो ।

अहिले म के प्रष्ट पार्न चाहन्छु भने बाथरोगीको प्रजनन क्षमता र अन्य सामान्य व्यक्तिको प्रजनन क्षमता समान हुन्छ । तर हामीले बाथलाई कन्ट्रोल गर्नुपर्छ । ६ महिनादेखि १ वर्षसम्म लुपस बाथ कन्ट्रोलमा छ र यसले शरीरका अरु अंगलाई असर गरेको छैन भने सामान्य रुपमा सन्तान जन्मिन्छन् । तर कहिलेकाहीँ यो रोगले बच्चालाई पनि असर गर्ने हुँदा पहिले नै यसबारेमा पनि जानकारी राख्न आवश्यक हुन्छ ।

हामीले सुरुमै चिसो मौसममा बाथ बल्झिने कुरा गर्‍यौं । अन्य बाथजस्तै लुपसको समस्या पनि चिसोमै बल्झिने हो ?
मौसम अनुसार केही लक्षण बल्झिन सक्छन् । अन्य मौसममा १० जना बिरामी आउँछन् भने यो मौसममा २० जना बढी आउँछन् । किनकी यो मौसम बाथको रोगीको लागि कष्टकर मानिन्छ ।

बाथका कारण हाडजोर्नी त यसै पनि कक्रक्क परेको हुन्छ । त्यसैमाथि मानिसको शारीरिक क्रियाकलाप पनि चिसो मौसममा धेरै हुँदैन । त्यसले पनि बाथको समस्या बल्झिन्छ । ब्लड प्रेसरलाई पनि यसको कारक मान्न सकिन्छ ।

अब लुपसको कुरा गर्दा अघि मैले लक्षण भने चिसो पानीमा हात भिजाउँदा सेतो, निलो र रातो हुने, औंलामा घाउ हुने, सड्ने, अल्सर हुने हुन्छ । त्यसैले लुपस भएको बिरामीमा यस्तो खालको लक्षण देखिरहेका छन् भने चिसो मौसममा कष्टदायी हुन्छ ।

लुपसलाई सुरुवाती अवस्थामा पत्ता लगाउन सकिन्छ कि सकिँदैन ? के कस्ता जाँच आवश्यक पर्छ ?
नेपाल जस्तो विकासोन्मुख देशमा हामी शहर बजारतिर बसेका मान्छेलाई यो रोग यस्तो हो । यसका लक्षण यस्ता देखिन्छन् भन्ने कुरा थाहा होला । तर ग्रामीण भेगमा बसोवास गर्ने मानिसलाई बाथ के हो भन्ने थाहा छैन ।

त्यसैले सुरुवाती अवस्थामा कुनै रोग पत्ता नलाग्नुको कारण अशिक्षा हो भने जानकारी हुँदाहुँदै पनि यसको मिस कन्सेप्ट के छ भने यसको निदान हुँदैन । यो पनि एउटा कारण हो । त्यस्तै यसको उपचार नेपालमा सम्भव छैन भन्ने बुझाई कतिपयको छ । तर यो गलत हो ।

नेपालमा यसको उपचारको अवस्था हेर्ने हो भने एकदमै राम्रो छ । मैले यसका लक्षण भने ती लक्षणका आधारमा सुरुमै पहिचान गर्न सक्छौं भने यो रोगको समयमै सफल उपचार गर्न सकिन्छ र लक्षणका आधारमा आवश्यक जाँच गरिन्छ ।

उपचार तथा निदानकै कुरा गर्नुपर्दा अहिले सुरुवाती अवस्थामा आउने बिरामीहरुको अवस्था कस्तो छ ? यसप्रतिको सचेतना र लुपसका बिरामीलाई सामाजिक रुपमा हेर्ने दृष्टिकोण कस्तो छ ?
मैले यही क्षेत्रमा काम गरेको २० वर्ष भयो । उपचार पद्धतिमा निकै ठूलो परिवर्तन आएको छ । जुन पहिले थिएन त्यो दिनप्रतिदिन थपिँदै गएको छ । बाथ रोगको उपचारमा चाहिने सबै प्रकारको जाँच नेपालमा उपलब्ध छ ।

त्यस्तै लुपसबारे सचेतना पनि बढ्दै गएको अवस्था छ । जस्तै कतिपय बिरामी लक्षण देखिएको १ महिनामै पनि मलाई लुपस हो कि भन्दै जाँच गर्न आउँछन् ।

कतिपयको बिरामीमा लक्षणकै आधारमा पनि लुपस हो भन्न सकिन्छ र तर जो बिरामी अन्य अंगमा पनि असर गरेर आइरहेका छन् भने त्यस्ता बिरामीलाई त्यही अनुसार जाँचको पद्धति अपनाइन्छ ।

करिब ६० देखि ७० प्रतिशत बिरामीमा रगतको जाँचबाट नै लुपस बाथ हो भनेर थाहा पाउन सकिन्छ । त्यसपछि बिरामीको अवस्था हेरेर रगतमै गरिने अटो एण्टीबडीज जाँच गरेर पत्ता लगाउन सकिन्छ ।

त्यो जाँचबाट कसलाई कुन अंगमा असर गरेको छ । जस्तै कसैलाई मिर्गौैलामा असर गरेको छ भने मिर्गौलाको जाँच गर्ने, मुटुमा हो भने मुटुको जाँच गर्ने यी जाँच गरिसकेपछि बिरामीको रोग कतिसम्म कुन अंगमा फैलिएको छ भनेर भन्न सकिन्छ ।
अब कुरा आयो सामाजिक दृष्टिकोणको समाजमा बस्ने हरेक व्यक्तिले म स्वस्थ भएर बाँचौ भन्ने चाहन्छ । तर जो रोगले पीडित छ, त्यसमा पनि लुपस रोग छ भने त्यो व्यक्तिले बुझ्नुपर्छ कि यो दीर्घकालीन रोग हो । आजको भोलि औषधी खाएर निको हुँदैन । बाचुञ्जेल यसको उपचार गरिराख्नुपर्ने हुन्छ ।

विशेष गरी छोरी मान्छेमा कलिलै उमेरमा लाग्ने रोग भएकाले हामीले अभिभावकलाई पनि यो दीर्घरोग हो । यसलाई निर्मुल पार्न नसके पनि उपचारात्मक छ । समयमै उपचार पाए लुपसका बिरामीको भविष्य पनि राम्रो बन्न सक्छ । तर हाम्रो समाजमा त छोरी मान्छेको बिहेबारी र त्यसपछिको लाइफलाई कसरी अगाडि बढाउन सक्छन् कि सक्दैनन् ? भन्ने प्रश्न आउँछ ।
त्यसैले हामीले उपचार गर्दाखेरी नै यी सबै कुरालाई ध्यानमा राखेर लुपसका बिरामीको भविष्य उज्वल पार्ने हिसाबले उपचार र काउन्सिलिङ गर्ने गर्दछौं ।

यहाँले लुपसले शरीरका विभिन्न भित्री अंगलाई पनि असर गर्ने गर्दछ भन्न्नुभयो । लुपस र क्यान्सरको केही सम्बन्ध छ ?
क्यान्सर र लुपस बाथ भनेको एकदमै फरक रोग हुन् । कुनै पनि प्रकारले यी दुई रोगलाई एकअर्कासँग तुलना गर्न मिल्दैन ।
हो, यसमा के आउँछ भने लुपसको कम्लीकेशन अनुसार जस्तै लुपसले मिर्गौला, मुट, फोक्सो, स्नायु प्रणालीतिर असर गर्न सक्छ भने अपवादका रुपमा प्वाइन्ट शून्य १ प्रतिशतलाई कहिले कहिले क्यान्सरतिर लैजान सक्छ ।

लुपसबाहेक त्यस्ता केही बाथ छन् जसमा लाखौं कराडौंमा १ जनालाई क्यान्सर हुन्छ । तर लुपसका कारण क्यान्सर वा क्यान्सरले लुपस गराउँछ भन्नु एकदमै गलत बुझाइ हो ।

यसको उपचारपद्धति कत्तिको महंगो छ । न्यून आय भएका आम मानिसको पहुँचमा छ कि छैन ?
लुपस भनेको एउटा डिजिज हो । यो लागीसकेपछि बिरामी कति समयसम्म बाँच्छ कुरा त्यहाँबाट शुरु हुन्छ । पहिले पहिले लुपस के हो ? भन्ने पनि थाहा थिएन र यसको उपचार पनि थिएन बिरामी उपचारका लागि आउँदा केही अंग गइसकेको हुन्थ्यो ।
अहिले पनि लुपसका बिरामीको बाँच्ने समय बढीमा बढी १० वर्ष हुन्छ । तर वास्तविकता कस्तो छ भने मैले आफैंले ४ वर्षदेखि हेरेको एकजना बिरामीले आफ्नो करियर पुरा गरेर एउटा बच्चा समेत जन्माएको उदाहरण छ ।

त्यसैले हाम्रो समाजमा लुपसलाई लिएर जुन धारणा छन् जस्तै कोही छोरी मान्छेलाई लुपस लाग्यो, उसको बिहे गर्नु हुँदैन, उसले बच्चा जन्माउन सक्दैन भन्ने थिए । ती सबै अहिलेको उपचार पद्धतिले सम्भव भएका छन् ।

यदि बिरामी समयमै उपचारमा आयो भने त्यस्तो महंगो पर्दैन । तर उपचारमा आउने ढिलाइले शरीरका अन्य अंगमा पनि यसले असर गरिसकेको छ भने उपचार पद्धति लामो र खर्चिलो पनि हुन्छ । तर उपचार नपाएरै लुपस बिग्रिने अवस्था भने छैन ।

लुपस वंशाणुगत कारणले पनि हुन्छ भन्नुभयो । यदि लुपस भएको आमाले बच्चा जन्माउँदा त्यो बच्चामा जन्मजातै लुपसको संक्रमण देखिने सम्भावना कति रहन्छ ?
अघि हामीले कुरा ग¥यौं कि लुपस भएको आमाले बच्चाको प्लान गर्नु अगाडि नै हामीले त्यसपछि बच्चामा र आमामा आउनसक्ने जोखिमका विषयमा बुझाइसकेका हुन्छौैं ।

लुपस भनेको सरुवा रोग होइन तर वंशाणुगत रुपमा आउनसक्ने रोग हो । यसको पारिवारिक इतिहास अनुसार परिवारमा कसैलाई छ भने पछिल्लो पुस्तामा आउने सम्भावना बढी हुन्छ ।

मैले हेरेका कतिपय केशमा लुपस संक्रमित आमाबाट जन्मिएकी छोरीमा लुपस छ भने ति छोरीको छोरीलाई पनि लुपस देखिएको छ ।

लुपस भनेको सरुवा रोग होइन तर वंशाणुगत रुपमा आउनसक्ने रोग हो । यसको पारिवारिक इतिहास अनुसार परिवारमा कसैलाई छ भने पछिल्लो पुस्तामा आउने सम्भावना बढी हुन्छ ।

तर सबैमा त्यो लागु हुँदैन । लुपस संक्रमित आमाले गर्भधारण गरेको ३–४ महिनादेखि नै प्रोटोकल मेन्टेन गरेर पेटमा भएको बच्चाको विभिन्न जाँच गराएका हुन्छौं । किनकी त्यस्ता बच्चालाई कहिलेकाहीँ मुटु ब्लक हुने, मुटुमा पानी जम्ने, लगायतका समस्या आइरहेका हुन्छन् । त्यसैले त्यस्ता आमालाई हामीले बच्चा प्लान नगर्न सल्लाह दिन्छौैं ।

मकहाँ आएको भर्खरै यस्तै उउटा केश आएका थियो । जसमा एक महिलाको ३ पटक गर्भतन भइसकेको थियो । त्यो म कहाँ रेफर केश थियो । उहाँको पेटमा ८ महिनाको गर्भ थियो । सोनोग्राफी गराउँदा बच्चाको मुटुमा पानी जमेको, फोक्सोमा पानी जमेर एकदमै जोखिमपूर्ण अवस्था थियो ।

उहाँको तत्काल गर्भपतन गरायौं र अहिले उहाँ स्वस्थ हुनुहुन्छ । त्यसैले केही नयाँ जोडीलाई म के भन्न चाहन्छु भने यदि तपाईंको बच्चा पटकपटक खेर जाने समस्या भइरहेको छ भने कतै लुपस हो कि भनेर एकपटक जाँच गराउन सल्लाह दिन्छु । र त्यसको पनि उपचार गरेर स्वस्थ बच्चा जन्माउन सकिन्छ भन्न चाहन्छु ।

बालबालिकाकै कुरा गर्नुपर्दा डाउनसिण्ड्रोम, अटिजम भएका बालबालिकाहरुमा पनि विभिन्न खालका स्वास्थ्य समस्या देखिने गर्दछन् । ती बालबालिकामा लुपसको सम्भावना कति रहन्छ ?
डाउनसिण्ड्रोम, अटिजम भनेको एउटा वंशाणुगत आउने कज हो । यो क्रामोजोम छुट्टै हो भने लुपस छुट्टै हो । यी दुईटामा कुनै किसिमको सम्बन्ध छैन ।

तपाईं लामो समयदेखि बाथ रोग विशेषज्ञ भएर सेवा गरिरहँदा उपचारका क्रममा यहाँले महसूस गर्नुभएका सुखद तथा दुखद क्षणहरु के के छन् ?
डाक्टर भएको नाताले हामी चाहान्छौं कि हामीकहाँ आउने जति पनि बिरामी छन् सबैले निको पारेर पठाउन पाइयोस् । बाथ भनेको पीडाको रोग हो । यसको पीडा डाक्टरलाई थाहा हुन्छ या रोगीलाई नै थाहा हुन्छ । त्यसमा पनि हामीले चर्चा गरिरहेको लुपसको कुरा गर्नुपर्दा मैले हेरेका कयौं केश अहिले पनि फलोअपमा आइरहेका छन् ।

तीमध्ये कतिपय बिरामी आइकोनिक छन् । मान्छे जन्मिसकेपछि राम्रो पढ्ने, आफ्नो खुट्टामा उभिने र आफ्नो लाइफलाई आम मानिसजस्तै अगाडि बढाउने इच्छा हेक मानिसको हुन्छ । तर लुपस भइसकेपछि यी सबै कुरा हासिल गर्न अभिभावकको भूमिका महत्त्वपूर्ण हुन्छ । त्यसपछि उपचारमा संलग्न डाक्टर यो क्रममा मेरो सुखद क्षण भनेको मेरा कयौं रोगी आमा बनिसकेका छन् ।

उनीहरुको पारिवारिक वातावरण एकदमै राम्रो छ र उनीहरु आफ्नो खुट्टामा उभिएका छन् भने कति रोगी बिहे नगरेर पनि खुसी जीवन बिताइरहेका छन् । मैले उपचारमा आउने हरेक बिरामीलाई कसैमाथि निर्भर नभई आफू बलियो स्वावलम्बन बन्ने प्रेरणा दिइरहेको हुन्छु । र उनिहरुको अभिभावकलाई पनि यसबारे भनिरहेको हुन्छु ।

अन्तमा तपाईं बाथ रोग विशेषज्ञ भएको नाताले बाथ रोगसँग जुधिरहेका र बाथरोगसँग मिल्दजुल्दा लक्षण देखिरहेकालाई के सुझाव दिनुहुन्छ ?
बाथलाई रोग नसम्झेर शरारीरीक रुपमा हुने क्षणिक पीडा मात्रै हो भनेर सम्झिनुपर्छ र यसलाई सहज रुपमा लिनुपर्छ र सकेसम्म समयमै पहिचान गरी चिकित्सकको परामर्श अनुसार लाइफलाई अगाडि बढाउनुपर्छ ।

म सामान्य जीवन बाँच्न सक्छु तर लामो समय औषधी खानुपर्छ भन्ने कुरालाई मनन गर्दै सामाजिक, मानसिक त्रास नलिई जीवनलाई स्वस्थ तरिकाले अगाडि बढाउन मेरो सुझाव छ ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  १० : १९ बजे

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सुर्ती उद्योगको नीतिगत हस्तक्षेप बढ्दो, नेपाल उच्च जोखिममा 

काठमाडौं– नेपालमा सुर्ती उद्योगले स्वास्थ्य, शिक्षा र खेलकुदजस्ता संवेदनशील क्षेत्रमार्फत

नायिका गरिमाले खुलाइन् प्रेमी

काठमाडौं – गत साता प्रेम सम्बन्धमा रहेको खुलाएकी नायिका गरिमा

रुम-ताराखोला सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने

चिसियो बक्स अफिस

काठमाडौं- पछिल्लो समय प्रदर्शनमा आएका नेपाली फिल्महरुको व्यापार निराशजनक देखिएको