महानगरमा बालेनका चार वर्ष : दलीय जनप्रतिनिधि समेत निर्दलीय मेयरका फ्यान ! « Khabarhub

महानगरमा बालेनका चार वर्ष : दलीय जनप्रतिनिधि समेत निर्दलीय मेयरका फ्यान !

शिक्षा, स्वास्थ्य, संस्कृतिमा उल्लेख काम भएको ठहर



काठमाडौं– ०७९ वैशाखमा भएको स्थानीय निर्वाचनबाट काठमाडौं महानगरको प्रमुखमा निर्वाचित भएका बालेन्द्र साह ‘बालेन’ले आइतबार आफ्नो पदबाट राजीनामा दिएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार बन्ने उद्देश्यले उनले राजीनामा दिएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेन नेतृत्वको समूहबीचमा बालेनलाई आगामी प्रधानमन्त्रीको रूपमा अगाडि सार्ने र पार्टीको वरिष्ठ नेताको रूपमा जिम्मेवारी रहने समझदारी भएको छ । सोही समझदारी अनुसार उनी काठमाडौं, झापा वा महोत्तरीमध्ये कुनै एक ठाउँबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने चर्चा भइरहेको छ ।

यद्यपी यतिबेलासम्म बालेनको लागि कुन निर्वाचन क्षेत्र भन्ने कुरा रास्वपाले निश्चित गरिसकेको छैन । तर, केही दिनअघि रास्वपासँग एकता गरेका बालेनले आइतबार नगरप्रमुख पदबाट राजीनामा दिएर आफ्नो दलीय राजनीतिको औपचारिक सुरुवात गरेका छन् ।

पुराना तथा परम्परागत राजनीतिक शक्ति र नेतृत्वले अब मुलुकको नेतृत्व गर्न नसक्ने भन्दै चुनौती दिएका बालेन पछिल्लो पुस्ता र युवामाझ निकै लोकप्रिय छन् । तर, निर्वाचन नजिकिँदै गर्दा आगामी प्रधानमन्त्रीको उम्मेदवारको रूपमा समेत उनले आफूलाई अगाडि सार्दा उनीतर्फ पनि केही महत्पूर्ण प्रश्न अवश्य सोझ्याउनुपर्ने हुन्छ ।

बालेनले झण्डै ४ वर्ष सम्हालेको काठमाडौं महानगरमा चुनाव अगाडि आफैँले जारी गरेको घोषणापत्रअनुसार के–के काम गरे ? के–के गर्न सकेनन ? उनको कार्यकालमा बालेन महानगरले के–के नयाँ र राम्रा मानक स्थापित गर्यो ? के–के आलोचनायोग्य वा नकारात्मक प्रभाव छाड्ने काम भयो ? के बालेन तुलनात्मक सफल नगरप्रमुख भए ? वा हुन सकेनन् ? के उनी कामको आधारमा मुलुकको आगामी प्रधानमन्त्रीको लागि योग्य छन् ?

सायद आगामी निर्वाचनमा जनताले मत दिनुअगाडि बालेनको विषयमा यी प्रश्नको उत्तर खोजेर दियो भने भोलि पनि उनीबाट ती मतदाताले अनुमानित नतिजाको अपेक्षा राख्नसक्छन् ।

०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरको प्रमुखमा उम्मेदवारी दिँदै गर्दा बालेनले ६ पृष्ठको ‘मेरो प्रतिबद्धता’ भनेर घोषणापत्र सार्वजनिक गरेका थिए ।

जसमा उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार, यातायात र यातायात व्यवस्थापन, पानी व्यवस्थापन, महिला तथा बालबालिका, पर्यटन, प्रदूषण नियन्त्रण, फोहोर व्यवस्थापन, संस्कृति, सम्पदा, कृषि, खेलकुद, खुला ठाउँ र हरियाली, डिजिटल सरकार, होम डेलिभरी सरकार, आइडिया बैंक, दक्ष उद्यमशीलता र इनोभेसन केन्द्रको क्षेत्रमा आफ्नो कार्यकालमा गर्ने कामको विषयमा उल्लेख गरेका थिए ।

साथै, उनले आफ्नो प्रतिबद्धतापत्रमा नेपाल भाषाको प्रवद्र्धन, ग्रेटर नेपाः, भ्रष्टाचार विरोधी व्युरो, मेट्रो साइबर ब्यूरो, कल सेन्टर, स्वास्थ्य बिमा लगायतका क्षेत्र सहित २८ वटा विभिन्न मुख्य क्षेत्रमा काम गर्ने विषय उल्लेख गरेका थिए ।

बालेनको झण्डै ४ वर्षको कार्यकाललाई हेर्दा उनले आफ्नो प्रतिबद्धतामा उल्लेख गरेकामध्ये केही विषयको मात्रै प्रभावकारी सुरुवात भएको तर, अधिकांश विषय कार्यान्वयन हुन नसकेको देखिएको छ ।

शिक्षा, स्वास्थ्य, संस्कृति संरक्षण र सरसफाइको क्षेत्रमा प्रभावकारी सुरुवात

बालेनले घोषणापत्रमा सार्वजनिक शिक्षा क्षेत्रको गुणस्तर सुधारको विषयलाई प्राथमिकतामा राखेका थिए । घोषणपत्रअनुसार विद्यालयको पूर्वाधार, गुणस्तर र वातावरण सुधार गरेर प्राविधिक शिक्षामा जोड दिने विषयलाई उनको कार्यकालमा महानगरले पनि कार्यान्वयनमा जोड दिएको पाइन्छ ।

महानगर शिक्षा शाखाका अधिकृत नेत्रनारायण पौडेलले नगरप्रमुख बालेनको कार्यकालमा निजी विद्यालयमा ३० हजार बढी विद्यार्थीलाई छात्रवृत्ति, सामुदायिक विद्यालयमा बुक फ्री फ्राइडे, सबै विद्यालयमा डिजिटल बोर्ड, स्थायी शिक्षकको व्यवस्थापन लगायतका धेरै विषयमा महत्वपूर्ण एवं प्रभावकारी कामको सुरुवात भएको बताए ।

‘१ देखि कक्षा १२ सम्म कानुनसम्मत रूपले छात्रवृत्तिलाई व्यवस्थित गरियो, विद्यालयहरूमा स्मार्ट बोर्ड, आइसिटी ल्याबहरू, सबै सामुदायिक विद्यालयको गुरुयोजना, बुक फ्री फ्राइडे, इसीडी कक्षाकोठा सुधार र बालविकास कक्षा, दिवाखाजा कार्यक्रममा रकम थप, शिक्षक तालिम, विद्यालयमा स्थायी शिक्षकको व्यवस्थापन, शैक्षिक सुशासन र पारदर्शिता लगायतका कामहरू भएका छन्’, उनले भने ।

बालेनको कार्यकालमा काठमाडौंको शिक्षा क्षेत्रमा राम्रो सुरुवात भएको भनेर बाह्य क्षेत्रमा पनि प्रशंसा भएको पाइन्छ । बालेनले घोषणापत्रमा उल्लेख गरेअनुसार स्वास्थ्य विषयका अधिकांश कार्यक्रमको प्रभावकारी कार्यान्वयन भएको देखिएको छ ।

महानगर स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीले पछिल्लो ४ वर्षमा महानगरको ३२ वटा केन्द्रमा सहरी स्वास्थ्य सेवा केन्द्र स्थापना गर्ने, ती मध्ये ३२ वटा ल्याब, ३२ वटा फिजियोथेरापी, १० वटा केन्द्रमा बीमा लागू, पाँच ठाउँबाट भिडियो एक्सरे, १० ठाउँबाट एक्सरे स्थापना लगायतका सेवा प्रारम्भ भएको बताए । साथै, उनले महानगरभित्रका सबै ज्येष्ठ नागरिकको स्वास्थ्यावस्थाको तथ्यांक लिएर घरबाटै उपचार दिन सुरु गर्न सकिने अवस्था तयार भएको पनि बताए ।

महानगरले बालेनकै कार्यकालमा ३५ वटा विभिन्न पालिकालाई एम्बुलेन्स वितरण गरेको छ भने महानगरभित्र १० वटा निःशुल्क एम्बुलेन्स सञ्चालन भएको छ ।

मौलिक पहिचान, संस्कृति तथा पुरातात्विक क्षेत्र र सार्वजनिक जग्गा संरक्षणको विषयमा बालेनको कार्यकालमा महत्वपूर्ण काम भएको तथ्यांकले देखाएको छ । बागमती नदी किनारका बासिन्दा हटाउने, टुकुचा खोला खाली गर्ने लगायतका केही विषय अदालतमा विचाराधीन र समन्वयमा समस्याको कारण स्थगनको अवस्थामा रहेको भएपनि २०८ रोपनी निजी स्वामित्वबाट फिर्ता गरिएको बालेन नै बताएका छन् ।

साथै, महानगरभित्रका पुरातात्विक संरचनाको पुनर्निर्माण, सार्वजनिक स्थानहरूमा मौलिक कला संस्कृतिमा आधारित फल्चाहरूको निर्माण, हराएका हिटीहरूको संरक्षण लगायत संस्कृतिको क्षेत्रमा बालेनको कार्यकालमा धेरै काम भएको देखिएको छ । बालेनले आफ्नो घोषणापत्रमा पनि संस्कृति सम्पदा संरक्षणको विषयलाई निकै महत्व दिएका थिए ।

बालेनको कार्यकालमा भएको एउटा महत्वपूर्ण काम भनेको काठमाडौंको फोहोर व्यवस्थापन हो । यद्यपी महानगर स्वयंले आफ्नै स्वामित्वमा यसको दीर्घकालीन व्यवस्थापन भने गरेको छैन । तर, बालेन महानगरको नेतृत्वमा आइसकेपछि सरसफाइ क्षेत्रका कर्मचारीको उचित परिचालन र उपकरणको परिचालनले सामान्यतया काठमाडौं महानगर क्षेत्र पछिल्लो समयमा तुलनात्मक रूपमा सफा देखिएको छ ।

पछिल्लो ४ वर्षमा महानगरले धेरै साँघुरा गल्लीहरूमा फायर हाइड्रेन्ट स्थापना गर्ने, गल्लीहरूको सुधार गर्दै नयाँ टायल बिछ्याउने, लगायत पूर्वाधारको क्षेत्रमा केही महत्वपूर्ण काम गरेको देखिन्छ ।

साथै, काठमाडौंभित्र खुला हरियाली क्षेत्रको विकास, खेलकुल मैदानहरूको विकास, इनोभेसन सेन्टर लगायत उनको घोषणापत्र लेखिएका धेरै कुराहरूको पनि कार्यान्वयन सुरुवात भएको भौतिक रूपमा नै देख्न सकिन्छ ।

सुधारसँगै कमजोरी पनि

बालेनको चार वर्षे कार्यकालमा उनले घोषणापत्रमा लेखेका धेरै कुरा र कतिपय नियमिततामा गर्नुपर्ने कामहरूमा कमजोरी रहेको देखिन्छ । मुलुकको विकासको क्षेत्रमा सबैभन्दा ठूलो समस्याको रूपमा रहेको विषय हो– पूँजीगत खर्च हुन नसक्नु ।

बालेनले पनि महानगरको पूँजीगत खर्चमा सुधारका उपायहरू अपनाउन सकेनन् । गत आर्थिक वर्षमा महानगरले पूँजीगत खर्चमा विनियोजित बजेटबाट जम्मा ४४.६८ मात्रै खर्च गरेको थियो ।

बालेनले आफ्नो घोषणापत्रमा ‘ग्रेटर नेपाः भ्याली काँस्मोपलिटन’को विषय राखेका थिए । तर, उपत्यकाभित्रका अन्य पालिकाहरूसँग समन्वय गर्ने र साझा विषय तय गर्ने काममा भने उनको समन्वयकारी भूमिकामा निकै कमजोरी देखियो । बालेन काठमाडौं उपत्यका पालिका फोरममा सहभागी समेत भएनन् ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले औसत रूपमा हेर्दा बालेनको कार्यकाल सफल भएको औँल्याएका छन् । ‘उहाँले काठमाडौं महानगरमा राम्रो गरेर जानुभएको छ, काठमाडौं महानगरपालिकालाई मुहार मुहार परिवर्तन गर्नमा ठूलो भूमिका खेल्नुभएको छ’, उनले भने, ‘उहाँको घोषणापत्रअनुसार नै काम भएको छ, केही समयको कारणले गर्दा पूर्णता भएन कि भन्ने लाग्छ ।’

तर, जनसम्पर्क र जनप्रतिनिधिहरूसँगको सम्बन्धमा भने समस्या देखिएको उनको भनाइ छ ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  २ : २७ बजे

फ्लाइङ किस दिएर आफ्नै भाषामा बालेनको भाषण

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मधेस पुगेर

मनाङमा सात हजार मतदाता, २९ मतदान केन्द्र निर्धारण

मनाङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र

लामो समयपछि सार्वजनिक ठाउँमा हाँसे बालेन

काठमाडौं– सामान्यतया कुनै कार्यक्रम समारोहमा नहाँस्ने राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ

गण्डकी र मधेशका स्वास्थ्य सचिवमा नयाँ नियुक्ति, गण्डकीमा डा. बसौला

काठमाडौं– सरकारले गण्डकी र मधेश प्रदेशका स्वास्थ्य सचिवमा नयाँ नियुक्ति

किरात सांस्कृतिक मेला सम्पन्न, साहित्यकार राईको ‘विभक्त आकाश’ लोकार्पण

हङकङ– किरात राई यायोक्खाको सान तिन, कि लुन चुन क्षेत्रमा रहेको