पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बागलुङ जिल्लामा राष्ट्रिय जनमोर्चा र नेपाल कम्युनिस्ट पार्टीबीच चुनावी तालमेल भएको छ । दुवै दलका केन्द्रीय तहका प्रतिनिधिबीच भएको छलफलपछि संयुक्त रूपमा निर्वाचनमा अघि बढ्ने औपचारिक सहमति भएको हो ।
सहमति अनुसार बागलुङ निर्वाचन क्षेत्र नम्बर–१ मा राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई नेपाल कम्युनिस्ट पार्टीले समर्थन गर्नेछ । सो क्षेत्रमा जनमोर्चाले कृष्ण अधिकारीलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै, निर्वाचन क्षेत्र नम्बर- २ मा भने नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवारलाई राष्ट्रिय जनमोर्चाले साथ दिने निर्णय गरिएको छ । उक्त क्षेत्रमा नेकपाले ज्ञामनाथ गैह्रेलाई उम्मेदवारका रूपमा अघि सारेको छ ।
दुवै दलले भएको सहमतिलाई इमानदारितापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । सहमति पत्रमा नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट केन्द्रीय कार्यालयका गणेशमान पुन र राष्ट्रिय जनमोर्चाका तर्फबाट केन्द्रीय सचिव घनश्याम न्यौपानेले हस्ताक्षर गरेका छन् ।
यो तालमेलसँगै बागलुङको राजनीतिक तथा चुनावी समीकरणमा उल्लेखनीय परिवर्तन आउने अपेक्षा गरिएको छ ।













प्रतिक्रिया