रियाद– साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फरहान अल साउदले आफ्नो देश र छिमेकी खाडी मुलुकमाथि भइरहेका आक्रमण सहेर बस्ने धैर्यताको सीमा सीमित रहेको भन्दै इरानलाई चेतावनी दिएका छन्। उनले तेहरानलाई आफ्नो रणनीति तत्काल ‘पुनरावलोकन’ गर्न समेत आग्रह गरेका छन्।
साउदी अरब र अन्य खाडी मुलुकसँग “अत्यन्तै उच्च क्षमता र सामर्थ्य” रहेको र आवश्यक परेको खण्डमा त्यसको प्रयोग गर्न सकिने चेतावनी दिँदै विदेशमन्त्री फैसलले बिहीबार बिहान आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्। इरानी कूटनीतिज्ञहरूले आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरे पनि इरानले छिमेकी राष्ट्रहरूमाथि प्रहार गर्ने योजना सावधानीपूर्वक बुनेको उनले दाबी गरे।
“हाम्रो अधिराज्य (साउदी अरब) र छिमेकी मुलुकहरूमा गरिएका केही लक्षित प्रहारहरूको सटिकताले यो पूर्वयोजनाबद्ध, सङ्गठित र सुविचारित रहेको प्रस्ट पार्छ,” राजकुमार फैसलले भने।
अधिराज्यले कस्तो अवस्थामा रक्षात्मक कारबाही सुरु गर्छ भन्ने कुरा आफूले स्पष्ट नपार्ने बताउँदै उनले थपे, “इरानीलाई यसबारे पूर्वसंकेत दिनु बुद्धिमानी हुने छैन।”
विदेशमन्त्रीले अगाडि भने, “तर इरानीहरूले यो बुझ्नु जरुरी छ कि साउदी अरब र आक्रमणको चपेटामा परेका हाम्रा साझेदारसँग ठुलो सामर्थ्य छ, जुन आवश्यक परेको खण्डमा परिचालन गर्न सकिन्छ।”
“हामीले देखाइरहेको धैर्यता असिमित छैन। इरानी अझै एक दिन, दुई दिन वा एक हप्ता कति समय छ? म त्यो खुलासा गर्दिनँ,” उनले थपे।
उनले अन्त्यमा भने, “आजको बैठकको सन्देश उनीहरूले बुझ्नेछन् र आफ्ना छिमेकीमाथि आक्रमण गर्न छोडी तुरुन्तै आफ्नो कदम सच्याउनेछन् भन्ने मैले आशा राखेको छु। तर, उनीहरूमा त्यस्तो विवेक होला भन्नेमा मलाई शङ्का छ।”













प्रतिक्रिया