काठमाडौँ – न्यायका लागि ‘माइतीघर मण्डला’ सबैको साझा थलो हो । आमसर्वसाधारणदेखि नेतासम्म सबैले आफ्नो माग राखेर सरकारलाई दबाब दिन माइतीघर नै पुग्छन् । सात वर्षकी नाबालिका न्यायका लागि माइतीघर आइपुग्छिन् भन्ने अनुमान कसैको थिएन ।
खोटाङ दिप्रुङकी उक्त बालिका ८ महिनाअगाडि आमाको सामूहिक बलात्कारपछि हत्या भएको घटनाको उचित छानबिन नभएको भन्दै काठमाडौँ आइपुगेकी छिन् ।
जिल्ला प्रहरी कार्यालयले लामो समयसम्म आमाको हत्याराको अनुसन्धानमा बेवास्ता गरेको भन्दै बच्ची परिवारको सहायतामा माइतीघरमा धर्ना दिन आइपुगेकी छिन् । ‘मामुको सम्झना धेरै आउँछ’ भन्दै उनी सरकारसँग न्याय मागिरहेकी छिन् । यो दृश्यले राज्य, सरकार र एक सभ्य समाजलाई गिज्याइरहेको छ ।
गत असार ३० गते हराइरहेकी उनकी आमाको बीभत्स शव भेटिएको थियो । जन्तेढुङ्गा गाउँपालिका माइती भएर दिप्रुङ चुइचुम्मा गाउँपालिका बस्ने २७ वर्षीया रेस्मिका परियार अफिस गएकी थिइन् । तर उनी पहिलेझैँ घर फर्केर आइनन् । अबेरसम्म आमाको बाटो हेरिरहेकी छोरी र परिवारका सदस्यको आँखा थाक्यो । तर उनी फर्केर आइनन् ।
रेस्मिकाको शव अफिस जाने बाटोमा पर्ने मार्सी सामुदायिक वनमा भेटिएको थियो । मुख्य सडकदेखि १५० मिटरभित्र घना जङ्गलमा उनको शव फेला परेको थियो । प्रहरीले एक १४ वर्षीय दीपक सार्कीलाई पक्राउ गरेको छ । सार्की उक्त गाउँकै बासिन्दा हुन् । उनले रेस्मिका अर्थात् भाउजू पहिलेदेखि आफूलाई मन परेको बयान दिएका छन् । साथै, शारीरिक सम्बन्ध बनाउन नमान्दा जबर्जस्ती करणी गरी हत्या गरेको स्वीकार गरेका छन् ।
पीडित परिवारले सार्की एक्लैले रेस्मिकाको हत्या गर्न नसक्ने भन्दै उपलब्ध प्रमाणका आधारमा पुनः छानबिनको माग गर्दै आएको छ । तर प्रहरीले आफूहरूको कुरा नसुनेको भन्दै न्याय माग्न काठमाडौँ आइपुगेका छन् । दुई फुपूसहित बच्ची न्यायको माग गर्दै माइतीघरमा धर्नामा बसेकी हुन्न् ।

घटना के हो?
जन्तेढुङ्गा गाउँपालिका माइती भएकी रेस्मिकाको २०७४ सालमा कुमार परियारसँग बिहे भयो । बिहे गरेको वर्ष दिनमै छोरी जन्मिएकी थिइन् । माइतमा बुबाआमा, दुई दिदी छन् । उनी कान्छी छोरी हुन् । घरतिर सासू–ससुरा, श्रीमान्, छोरी, नन्द छन् । जो अहिले माइतीघर मण्डलामा भाउजूको न्यायका लागि एनिसा परियार सानी भदैनी लिएर धर्नामा बसेकी छिन् ।
प्लस टु सम्मको अध्ययन गरेकी रेस्मिकाको सहकारीमा जागिर थियो । अजम्बरी साना किसान सहकारी संस्थामा उनी काम गर्थिन् । बिहान १० देखि ४ बजेसम्मको जागिर थियो । जागिरबाट फर्किने क्रममा उनको सामुदायिक वनमा बलात्कारपछि हत्या भएको परिवारको दाबी छ ।
जागिरबाट घर फर्किने बाटोमा मार्सी सामुदायिक वनमा उनको बलात्कारपछि हत्या भएको छ । त्यही वनको १५० मिटरभित्र उनको शव भेटिएको थियो । यो असाध्यै घना जङ्गल हो । मुख थुनेर श्वासप्रश्वासमा समस्या भएर मृत्यु भएको रिपोर्ट आएको छ । डीएनएको रिपोर्ट अझै आइसकेको छैन । हामीसँग उपलब्ध प्रमाण पेस गर्दा पनि प्रहरी प्रशासनले बेवास्ता गर्दै आएको छ ।
घटनास्थल
अपराधीबाट भाग्न निकै प्रयास गरेको भेटिन्छ । भुइँ कोतारिएको छ । रूखको फेद कोतरिएको छ । उनले निकै उम्कने प्रयास गरेको देखिन्छ । घटनास्थलमा भुइँको घाँस धेरै मडारिएको छ ।
जताततै घुमाएर बलात्कार गरिएको छ । ठाउँ–ठाउँमा घाँस मडारिएको छ । उनी हेर्नै नसकिने अवस्थामा फेला परेकी थिइन् । अपराधी एक्लै छैन भन्ने प्रशस्त प्रमाण छन् । परिवारले शङ्का गरेका व्यक्तिको एक थान लुगा घटनास्थलमा भेटिएको छ ।

१४ वर्षीय किशाेर पक्राउ
प्रहरीले एक किशोरलाई पक्राउ गरेको छ । उमेरले उनी १४ वर्षका छन् । त्यसमा परिवारलाई चित्त नबुझेको एनिसाले बताइन् । उनले भनिन्, ‘त्यो उमेर भनेको मिठो खाने र राम्रो लगाउने लालसा हुने हो । शारीरिक सम्बन्ध बनाउन मन लाग्नेसम्म भए पनि सहमतिमा नआए जबर्जस्ती गरेर मारेर फाल्नेसम्म उक्त नाबालक एक्लैले सक्दैन । भाउजू शारीरिक रूपले दीपकभन्दा बलियो हुनुहुन्थ्यो ।’
‘आफूभन्दा कमजोरले मार्नै भने सक्दैन । प्रहार गर्ने प्रयास गरे पनि भाउजूले मज्जाले प्रतिकार गर्न सक्नुहुन्थ्यो । एक जनासँग प्रतिकार गर्न सक्नुहुन्थ्यो,’ एनिसा थप भन्छिन्, ‘उक्त युवकलाई अगाडि सारेर अरू चार–पाँच जना वयस्क अपराधबाट उम्कने प्रयास गरिएको छ । प्रहरीलाई हामीले शङ्काको आधारमा जाहेरी दिएका छौँ । तर पक्राउ गरेन । कम्तीमा सोधपुछ वा अनुसन्धानको दायरामा ल्याउनुपर्छ । थप अनुसन्धानको माग गर्दा सुनुवाइ भएन । हाम्रा प्रमाणलाई प्रहरीले पुरानो भयो भन्दियो ।’
दाइ–भाउजूको सम्बन्ध
‘उहाँहरूबीच असाध्यै राम्रो सम्बन्ध थियो । दाइ घर बनाउने र ठेक्कापट्टाको काम गर्नुहुन्छ । शिक्षित परिवार हो । घरका सबै सदस्य पढेलेखेका छन् । गाउँघरमा मान्छे नै मार्ने तहको दुश्मन पनि कोही छैन । हाम्रो परिवारले त्यो तहको दुश्मनी कसैसँग गरेका छैनौँ,’ एनिसाले भनिन् ।
‘बुबाआमाले झगडा गरेको थाहा पाइनँ । दाइ–भाउजूले पनि कहिल्यै झगडा गरेको थाहा भएन । हामीले भेटेको प्रमाण लिएर स्थानीय तहको प्रतिनिधिसँग के गर्ने?’ उनी प्रश्न गर्छिन्, ‘हामीले कुन बाटो अपनाउने भनेर सोध्दा उहाँहरूले हाम्रो क्षेत्राधिकारभित्र पर्दैन भन्नुभयो ।’
जिल्लामा न्याय नपाएपछि माइतीघरमा
‘१४ वर्षको बच्चाले २७ वर्षकी महिलालाई कसरी मन पराउँछ ? एउटा छोरीको आमालाई कसरी मन पराउँछ? भन्ने हाम्रो प्रश्न हो । पक्राउ परेको नाबालक हाम्रो परिवारबीच पहिलेदेखिको चिनजानको हो । हाम्रो घरनजिकै हो । उसको आमाबुबा हाम्रो घरको काम गर्न आउने–जाने गर्ने हो’, एनिसाले भनिन्, ‘उसले प्रहरीलाई पहिलेदेखि भाउजू मन पराएको बयान दिएको छ । त्यस्तै उसले भाउजूले शारीरिक सम्बन्ध राख्ने कुरामा सहमति नभएपछि जबर्जस्ती गरेको बताएको छ ।’
‘हामीले शङ्का गरेका व्यक्तिलाई पक्राउ गरेर निष्पक्ष अनुसन्धान गरिदिनुपर्यो भन्ने हाम्रो माग हो’, उनले भनिन् । पीडित पक्षलाई चित्त बुझाउन सक्नुपर्यो । हामीले शङ्का गरेका व्यक्ति पनि गाउँकै हुन् । भाउजू मरेकै २०० मिटरमा उनीहरू थिए । परिवारले खोज्न आउँछन् भन्ने थाहा पाएर मुख्य सडकको बाटो नगएर पुरानो बाटो प्रयोग गरेका छन् । जङ्गलै जङ्गलको बाटो मुख्य सडकमा झरेको उनको भनाइ छ ।
उनका अनुसार घटनापछि गाउँका केही मान्छे अलि तल सानो होटलमा खाना खाएर झरेका छन् । गाउँकै एक युवकले मैले केही गरेको छैन, यिनीहरूले जङ्गलतिर साइसाइ र सुइसुइ गरेका थिए भन्ने अभिव्यक्ति पनि दिएको छ । ती मान्छेले लगाएको एक सेट लुगा घटनास्थलमा भेटिएको छ । जिल्ला प्रहरी कार्यालयले उक्त लुगा लिनै नमानेको उनले सुनाइन । राजनीतिक शक्त्ति लगाएर अपराधी जोगाउने प्रयास भएको उनको आशंका छ।
‘जिल्लामा धेरै कोसिस गरियो । तर प्रशासनले न्याय दिएन’, उनले भनिन् ‘कसैको साथ र सहयोग नपाएपछि माइतीघर आउनुपर्यो । सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्याको विरुद्धमा बोल्दै आउनुभएका अभियानकर्मीहरूले माइतीघरमा न्यायको आवाज उठाउन सकिन्छ भनेर सल्लाह दिएपछि यहाँ आएका हौँ ।’
उनीहरु काठमाडौँको खर्च आफैँ जुटाएर बसिरहेका छन् । ‘न्याय नमिल्दासम्म यहीँ बस्छौँ । प्रहरीले हाम्रो कुरा नसुनेपछि सामाजिक सञ्जालमा लेख्न थाल्यौँ । तर प्रहरीले सञ्जालमा लेख्ने हो भने अनुसन्धान हुन्न भने तर अपराधी समाजमा डुलिरहेको जस्तो लागेको छ । प्रहरीले भनेर हामी मौन बस्यौँ तर आठ महिना भयो कति मौन बस्ने? हाम्रो घरको बुहारी होइन, छोरी मरेको हो । हाम्रो घरमा बुहारी पनि छोरीसरह हुन् । घटना सामसुम गर्ने प्रयास गरिएको छ, जुन हाम्रो लागि मान्य हुने छैन’, एनिसाले भनिन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार, ३० साउनमा रेस्मिका हराएको भन्दै परिवारले उजुरी दिएको थियो । त्यसपछि स्थानीयवासीको सहयोगमा खोजतलास गर्ने क्रममा उनको शव भ्याकुले जङ्गलतर्फको सडकन जिकै भेटिएको थियो । करिब १ सय मिटर तलतिर फेला परेको थियो । परिवारले ‘सामूहिक बलात्कार’ भन्ने आशङ्का गरे पनि घटना एकै किशोरले घटाएको प्रारम्भिक तथ्य प्रमाणबाट पुष्टि भएको प्रहरीले बताएको छ ।













प्रतिक्रिया