अनुतिन फेरि थाइल्यान्डका प्रधानमन्त्रीमा निर्वाचित « Khabarhub

अनुतिन फेरि थाइल्यान्डका प्रधानमन्त्रीमा निर्वाचित


५ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– क्षेत्रीय तनाव, सुस्त अर्थतन्त्र र आन्तरिक राजनीतिक उतारचढावबीच थाइल्यान्डको नयाँ संसद्ले अनुतिन चार्नभिराकुललाई पुनः प्रधानमन्त्रीमा निर्वाचित गरेको छ । 

यसले देशलाई जटिल चुनौतीहरूको सामना गर्दै नयाँ राजनीतिक चरणमा प्रवेश गराएको छ । संसदीय मतदानमा उनले आवश्यक २५० मतको सीमा पार गर्दै स्पष्ट समर्थन हासिल गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मतदानअघि सञ्चारकर्मीसँग कुरा गर्दै अनुतिनले आफू सकेसम्म लामो समयसम्म जनताको सेवा गर्ने अवस्थामा रहने आशा व्यक्त गरेका थिए । जनतालाई असर गर्ने कुनै पनि समस्या आएमा तुरुन्त प्रतिक्रिया दिने प्रतिबद्धता व्यक्त गर्दै उनले आफ्नो नेतृत्वलाई व्यावहारिक र उत्तरदायी बनाउने संकेत गरे।

अनुतिन नेतृत्वको भूमजाइथाई पार्टीले फेब्रुअरीमा सम्पन्न निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको थियो । कम्बोडियासँगको सीमा तनाव र त्यस क्रममा भएका घातक झडपपछि राष्ट्रवाद र सुरक्षा मुद्दालाई प्राथमिकतामा राख्दै पार्टीले सीमामा पर्खाल निर्माण, सीमा नाकाहरू बन्द राख्ने तथा एक लाख स्वयंसेवक सैनिक भर्ती गर्ने जस्ता कडा एजेन्डा अघि सारेको थियो । यही रणनीतिले पार्टीलाई सबैभन्दा ठूलो दल बनाउँदै सरकार गठनको अग्रस्थानमा पुर्‍याएको हो ।

तेस्रो स्थानमा सीमित भएको पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको फेउ थाई पार्टी १४ साना दलहरूसहित गठबन्धनमा सहभागी हुँदै अनुतिनलाई समर्थन गर्न सहमत भएको थियो । यस गठबन्धनको समर्थनपछि संसद्ले औपचारिक रूपमा उनलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको हो ।

पारिवारिक निर्माण व्यवसायबाट करोडपति बन ५९ वर्षीय अनुतिन यसअघि पनि प्रधानमन्त्री भइसकेका थिए। उनका पूर्ववर्ती थाक्सिनकी छोरी पेटोङ्तार्न सिनावात्रा अदालतको आदेशपछि पदमुक्त भएपछि अनुतिन सत्तामा आएका थिए । पेटोङ्तार्नसँग सम्बन्धित एक चुहावट भएको टेलिफोन संवादले ठूलो राजनीतिक विवाद निम्त्याएको थियो, जसमा उनले कम्बोडियाका पूर्वनेता हुन सेनलाई ‘काका’ भनेर सम्बोधन गरेको र एक थाई सैन्य कमान्डरलाई ‘प्रतिद्वन्द्वी’ भनेको सार्वजनिक भएपछि व्यापक आलोचना भएको थियो ।

त्यस घटनापछि अनुतिनले भूमजाइथाईलाई तत्कालीन गठबन्धनबाट अलग गरेसँगै सरकार ढलेको थियो र त्यसपछि उहाँ पुनः प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । यसबीच, सुधारवादी पिपुल्स पार्टीले अपेक्षाभन्दा कमजोर प्रदर्शन गर्दै दोस्रो स्थानमा सीमित भएपछि विपक्षीको भूमिका निर्वाह गर्नेछ । तर उक्त पार्टीका नेता नात्थाफोङ रुएङपान्यावुटसहित १० सांसद शाही अपमानसम्बन्धी कानूनमा सुधारको प्रयासका कारण नैतिक उल्लङ्घनको आरोपमा कारबाहीको जोखिममा परेका छन् ।

विपक्षी नेता नात्थाफोङले आफूलाई प्रधानमन्त्रीका लागि मनोनयन गरिएको विषयलाई सरकार गठनको प्रतिस्पर्धा नभई संसदीय प्रक्रियामार्फत जनतासँग प्रभावकारी संवाद गर्ने अवसरका रूपमा लिएको बताए।

नयाँ सरकारका सामु चुनौतीहरू गम्भीर छन् । थाइल्यान्डको आर्थिक वृद्धि गत वर्ष सुस्त रह्यो भने पर्यटन क्षेत्र अझै पूर्ण रूपमा पुनरुत्थान हुन सकेको छैन । यसैबीच, भियतनामले तीव्र रूपमा प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्दै प्रतिस्पर्धा बढाएको छ । मध्यपूर्वमा इरानमाथि भएको इजरायली–अमेरिकी आक्रमणपछि सुरु भएको युद्धले विश्व बजार अस्थिर बनाएको छ । यसको प्रभाव थाइल्यान्डमा पनि इन्धन मूल्य वृद्धि र आपूर्ति अवरोधका रूपमा देखिएको छ ।

अनुतिनले भने उक्त संकटलाई थाइल्यान्डका लागि अवसरमा परिणत गर्ने प्रतिबद्धता जनाएका थिए । तर विश्लेषकहरूका अनुसार सरकारले अहिलेसम्म इन्धनको मूल्य नियन्त्रण गर्न ठोस कदम चाल्न सकेको छैन । राजनीतिक विश्लेषक युटापोर्न इसाराचाईका अनुसार सरकारका कदमहरू अझै ‘अस्थायी समाधान’ मा सीमित छन्, जस्तै घरबाट काम गर्ने व्यवस्था लागू गर्नु ।

कम्बोडियासँगको लामो सीमा विवाद पनि अर्को संवेदनशील विषयका रूपमा रहेको छ । यद्यपि हाल नाजुक युद्धविराम कायम छ, ८०० किलोमिटर लामो सीमा अझै पूर्ण रूपमा निश्चित भइसकेको छैन । प्रधानमन्त्री बनेलगत्तै अनुतिनले सशस्त्र सेनालाई सीमामा आवश्यक ठानेको कारबाही गर्न अधिकार दिनुभएको थियो र थाई सेनाले पछिल्लो झडपपछि केही विवादित क्षेत्र नियन्त्रणमा लिएको जनाएको छ ।

यद्यपि, विश्लेषकहरूका अनुसार अहिले मतदाताको ध्यान मुख्यतः आर्थिक समस्यातर्फ केन्द्रित भएको छ । बढ्दो महँगी, इन्धन संकट र रोजगारीका चुनौतीबीच अर्थतन्त्र नै जनताको सबैभन्दा ठूलो चिन्ता बनेको छ, जसले अनुतिन नेतृत्वको नयाँ सरकारको सफलताको प्रमुख परीक्षा तय गर्नेछ ।

प्रकाशित मिति : ५ चैत्र २०८२, बिहीबार  ३ : ३१ बजे

न्यायाधीश सपनामाथि कसले लगायो झोलेको ट्याग ? यस्तो छ यथार्थ

काठमाडौं– गत साता अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको

राष्ट्रपति समक्ष आयोगद्वारा निर्वाचन प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेल समक्ष निर्वाचन आयोग नेपालले गत फागुन २१

चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु

एजेन्सी– चाडको सीमावर्ती शहर टिन जागराबामा भएको सुडानी ड्रोन आक्रमणमा

रविको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुछिएको

भोली र पर्सी वर्षा तथा तीव्र हावाहुरीको सम्भावना, सतकर्ता अपनाउन आग्रह 

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोलि चैत