न्युयोर्क – लामो समयदेखि जारी फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ को उपाधिका लागि साविक विजेता अर्जेन्टिना र बलियो प्रतिद्वन्द्वी स्पेन आइतबार मध्यरातमा न्यूजर्सीमा आमनेसामने हुँदै छन्। ३९ दिन लामो यस भव्य प्रतियोगिताको अन्तिम खेलमा विश्व फुटबलका हस्ती मैदान उत्रन लागेका हुन्।
न्यूजर्सीको मैदानमा हुने यो भिडन्त एक अनौठो टक्करका रूपमा हेरिएको छ, जहाँ यस विश्वकपकै उत्कृष्ट आक्रमण र सबैभन्दा बलियो रक्षापंक्ति आमनेसामने हुनेछन्। अर्जेन्टिनाले प्रतियोगितामा सबैभन्दा बढी १९ गोल गरेको छ भने स्पेनले हालसम्म सबैभन्दा कम मात्र १ गोल बेहोरेको छ। यसका साथै, विश्वकपको इतिहासमा ६० वर्षपछि पहिलो पटक दक्षिण अमेरिकी र युरोपेली च्याम्पियन उपाधिका लागि सिधै भिड्न लागेका हुन्।
यो फाइनल खेल ऐतिहासिक हुनुको अर्को कारण ‘पुस्ताको लडाइँ’ पनि हो। मैदानमा स्पेनका १९ वर्षीय युवा उदीयमान खेलाडी लामिन यमालले आफ्ना बाल्यकालका नायक ३९ वर्षीय लियोनेल मेसीको सामना गर्नेछन्।

सुपरकम्प्युटरको प्रक्षेपणमा स्पेन अगाडि
‘अप्टा’ सुपरकम्प्युटरको गणितीय प्रक्षेपण अनुसार यस पटक स्पेनले विश्वकप जित्ने सम्भावना ५९.४६ प्रतिशत रहेको छ। यस्तै, सन् २०२२ को साविक विजेता अर्जेन्टिनाले उपाधि रक्षा गर्ने सम्भावना ४०.५४ प्रतिशत मात्र देखिएको छ।
न्युयोर्क न्युजर्सी स्टेडियममा खेल
फाइनल खेल ऐतिहासिक मेटलाइफ स्टेडियममा हुनेछ, जुन एनएफएलका दुई टोली न्युयोर्क जाइन्ट्स र न्युयोर्क जेट्सको घरेलु मैदान हो। विश्वकपका लागि यस रंगशालाको नाम अस्थायी रूपमा ‘न्युयोर्क न्युजर्सी स्टेडियम’ राखिएको छ। सन् २०१० मा निर्माण भएको ८२ हजार ५ सय दर्शक क्षमताको यस बहुउद्देश्यीय रंगशालाले सन् २०२५ को फिफा क्लब विश्वकपको फाइनल र दुवै सेमिफाइनल खेल समेत आयोजना गरिसकेको छ।

हेड–टु–हेड तथ्याङ्क
दुई टोलीबीचको ऐतिहासिक भेटघाट निकै प्रतिस्पर्धात्मक छ। हालसम्म भएका १६ खेलमध्ये स्पेनले ६ र अर्जेन्टिनाले ६ खेल जितेका छन् भने २ खेल बराबरीमा सकिएका छन्।
मार्च २०१८: स्पेन ६–१ अर्जेन्टिना
सेप्टेम्बर २०१०: अर्जेन्टिना ४–१ स्पेन
नोभेम्बर २००९: स्पेन २–१ अर्जेन्टिना
अक्टोबर २००६: स्पेन २–१ अर्जेन्टिना
नोभेम्बर १९९९: स्पेन ०–२ अर्जेन्टिना













प्रतिक्रिया