काठमाडौं- लियोनेल मेस्सी र लामिन यामाललाई एउटा संख्याले अचम्मसँग जोडेको छ, त्यो हो १९। उनीहरूको फुटबल यात्रामा यो संख्या यति धेरै पटक दोहोरिएको छ। जसलाई धेरैले यसलाई असाधारण संयोगका रूपमा हेर्न थालेका छन्।
विश्वकप २०२६ को फाइनलमा मेस्सी र यामाल पहिलो पटक एकअर्काविरुद्ध मैदानमा उत्रँदै छन्। उनीहरूको यो भेट १९ वर्षअघि खिचिएको चर्चित तस्बिरसँग पनि जोडिएको छ, जसमा बालक यामाललाई मेस्सीले नुहाइदिएको देखिन्छ।
त्यो तस्बिर अहिले फेरि सामाजिक सञ्जालमा भाइरल बनेको छ, ठीक १९ वर्षपछि दुवै स्टार फुटबलर विश्वकप फाइनलमा आमनेसामने हुँदैछन्।
यति मात्रै होइन, दुवैले १९ वर्षकै उमेरमा विश्वकपमा डेब्यु गरेका थिए। यामालले यही संस्करणमा पहिलो विश्वकप खेलिरहेका छन् । मेस्सीले सन् २००६ को विश्वकपमा १९ वर्षकै उमेरमा डेब्यु गरेका थिए। संयोगवश, दुवैले आफ्नो पहिलो विश्वकपमा जर्सी नम्बर १९ नै लगाएका थिए।
बार्सिलोनामा पनि दुवैको सम्बन्ध यही नम्बरसँग जोडिएको छ। मेस्सीले सुरुआतमा जर्सी नम्बर ३० लगाएका थिए। तर केही समयपछि नम्बर १९ मा उत्रिए । यामालले पनि बार्सिलोनामा प्रसिद्ध नम्बर १० पाउनुअघि जर्सी नम्बर १९ नै लगाएका थिए। नम्बर १० भने लामो समयसम्म मेस्सीकै पहिचान थियो।
संयोग यतिमै सीमित छैन। दुवैले उपाधिका लागि भिड्ने विश्वकप फाइनल जुलाई १९ मा हुँदैछ। यसले धेरै समर्थकलाई अभिनेता जिम क्यारी अभिनीत निर्देशक जोएल शुमाकरको चलचित्र ‘द नम्बर २३’ को सम्झना गराएको छ ।
जसमा मुख्य पात्र एउटा संख्याप्रति असाधारण रूपमा आकर्षित हुन्छ। रोचक कुरा के भने उक्त चलचित्र पनि अहिलेबाट ठीक १९ वर्षअघि सार्वजनिक भएको थियो। यी सबै संयोगका कारण सामाजिक सञ्जालमा मेस्सी र यामालको ‘१९’ सम्बन्धी चर्चा झन् चुलिएको छ।

यामालको ऐतिहासिक अवसर
विश्वकपको फाइनलमा स्पेनले आइतबार मध्यराति साविक विजेता अर्जेन्टिनाको सामना गर्दैगर्दा यामालका लागि ऐतिहासिक अवसर आएको छ।
यस खेलमा १९ वर्षीय स्टार लामिन यामाल आफ्नो पहिलो विश्वकप सहभागितामै इतिहास रच्ने लक्ष्यसहित मैदान उत्रनेछन्।
बलमा नियन्त्रण, अनुशासित खेलशैली र प्रभावकारी रणनीतिको बलमा स्पेनले फाइनलसम्मको यात्रा तय गरेको हो, जहाँ उसले साविक विजेता अर्जेन्टिनासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
स्पेन दोस्रो पटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छ। त्यसका लागि उसले लियोनेल मेस्सीको नेतृत्वमा रहेको साविक विजेता अर्जेन्टिनालाई पराजित गर्नुपर्नेछ।
यस ऐतिहासिक भिडन्तको केन्द्रमा १९ वर्षीय प्रतिभाशाली विंगर लामिन यामाल रहनेछन्, जसले आफ्नो पहिलो विश्वकपमै फाइनल खेल्ने अवसर पाएका छन्।
सेमिफाइनलमा प्रभावशाली जित हात पारेपछि प्रशिक्षक लुइस डे ला फुएन्तेको नेतृत्वमा रहेको स्पेन उच्च मनोबलका साथ फाइनलमा प्रवेश गरेको छ।
टोलीले प्रतियोगिताभर अनुशासित, प्राविधिक र व्यवस्थित फुटबल प्रदर्शन गर्दै आएको छ।
दुई वर्षअघि जर्मनीमा सम्पन्न युरोपियन च्याम्पियनसिपमा स्पेनलाई उपाधि दिलाउने प्रमुख खेलाडीमध्येका यामाल यस विश्वकपमा ह्यामस्ट्रिङ चोटबाट मुक्त भइरहेका छन् ।
त्यहीकारण कारण उनी आफ्नो उत्कृष्ट लयमा देखिएका छैनन्। यद्यपि उनी स्पेनका सबैभन्दा खतरनाक आक्रमणकारीमध्ये एक मानिन्छन्।
फाइनलमा स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्ते र अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीबीच रोचक व्यक्तिगत प्रतिस्पर्धा पनि हुनेछ। ६५ वर्षीय डे ला फुएन्तेले सन् २०२२ मा स्पेनको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए।
त्यसअघि उनले स्पेनका विभिन्न उमेर समूहका टोलीलाई सफलतापूर्वक प्रशिक्षण दिएका थिए। सन् २०१८ मा स्कालोनीले व्यावसायिक प्रशिक्षकको लाइसेन्सका लागि अध्ययन गर्दा डे ला फुएन्ते उनका मार्गदर्शक थिए।
४८ वर्षीय स्कालोनीको स्पेनसँग व्यक्तिगत र व्यावसायिक सम्बन्ध निकै गहिरो छ। उनी हाल स्पेनमै बसोबास गर्छन्। उनले फाइनलका लागि डे ला फुएन्तेसँगको मित्रतालाई केही समयका लागि अलग राख्ने बताएका छन्।
स्कालोनीले भने, ‘उहाँ मेरा गुरू हुनुहुन्थ्यो। मैले जानेको धेरै कुरा उहाँबाटै सिकेको हुँ। अहिले हामी विश्वकपको फाइनलमा एकअर्काविरुद्ध उभिएका छौँ।’
उनले थपे, ‘सबैलाई थाहा छ म स्पेनमै बस्छु र मेरो परिवार पनि स्पेनसँग जोडिएको छ। त्यसैले मलाई दुःख लाग्छ, तर आइतबार म उहाँलाई हराउने प्रयास गर्नेछु।’












प्रतिक्रिया