फुटको दिशामा कांग्रेस : साउनभित्रै काठमाडौंमा राष्ट्रिय भेला गर्ने इतरको निर्णय  « Khabarhub

फुटको दिशामा कांग्रेस : साउनभित्रै काठमाडौंमा राष्ट्रिय भेला गर्ने इतरको निर्णय 


३ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको इतर समूहले साउनभित्रै काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ ।

शुक्रबार चुनदेवीमा पत्रकार सम्मेलन गर्दै उक्त समूहले राष्ट्रिय बहस र छलफलमार्फत पार्टीको नीतिगत दिशा तय गर्न भेला डाकेको बताएको हो । 

‘पार्टी भित्र वलियो एकता कायम गरी नेपाली जनताको स्वतन्त्रता र नागरिक अधिकारको रक्षा गर्ने उद्देश्यले नीतिगत रुपमा राष्ट्रिय बहस र छलफल गरी नयाँ कार्यदिशा तय गर्न हामीले (नियमित महाधिवेशन पक्षधर) यही साउनभित्र काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने निष्कर्षमा पुगेका छौँ,’ कार्यक्रममा प्रचारप्रसार समितिका संयोजक मीन विश्वकर्माले बताए । 

उक्त भेलाको मिति, समय र स्थान यही साउन ६ गते हुने बीपी स्मृति दिवसको कार्यक्रम मार्फत सार्वजनिक गरिने भएको छ । 

यस्तै, उनले संस्थापन पक्षले पार्टी एकताको चासो नदिएको समेत आरोप लगाएका छन् । 

‘पार्टी एकताको लागि नियमित महाधिवेशन पक्षले निरन्तर प्रयास गर्ने, हदै सम्मको लचकता अपनाउने, संवादपश्चात् लामो धैर्यता पनि राख्ने गर्दा गदै विवाद पश्चताको सात महिना र अदालतको फैसलापछिका चार महिना बितिसक्दा पनि विशेष महाधिवेशनबाट आएको नेतृत्वले कुनै सार्थक तथा उपलब्धिमूलक पहल गरेको वा गर्न चाहेको जस्तो देखिएन,’ उनले भने । 

त्यहीकारण प्रदेश भेला सम्पन्न गरी सकेको इतर समूहले राष्ट्रिय भेला डाक्नुपरेको उनले बताएका छन् ।

प्रेस विज्ञप्ति

नेपाली कांग्रेसका केन्द्रीय निवर्तमान कार्यबाहक सभापति श्री पूर्णवहादुर खड्काको संयोजकत्वमा चौधौ महाधिवेशनवाट निर्वाचित नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका निवर्तमान पदाधिकारी तथा सदस्यहरु, प्रदेस कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति, भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका प्रमुख एवं प्रतिनीधिहरु सहितको उपस्थितीमा पन्ध्रौ महाधिवेशन तयारी सम्पर्क कार्यालय, चुनदेवी काठमाडौमा विभिन्न समयमा बसेको वैठकले निम्नानुसार निष्कर्ष निकालेको छ ।

बीपी स्मृति दिवश सम्वन्धमा

१. नेपाली कांग्रेसका संस्थापक नेता, प्रजातान्त्रिक समाजवादका प्रणेता, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री, जननायक बीपी कोईरालाको ४४ औं स्मृति दिवश यही श्रावण ६ गते काठमाण्डौको प्रज्ञा भवन कमलादीमा भव्यरुपमा सम्पन्न गर्ने । समारोह आयोजना गर्न नेपाली कांग्रेसका पूर्व उपसभापति एवं पूर्व उपप्रधानमन्त्री श्री प्रकाशमान सिंहको संयोजकत्वमा आयोजक समिति गठन गरिएकोछ । आवश्यकता अनुसार प्रचार प्रसार समिति, व्यवस्थापन समिति लगायतका विभिन्न समितिहरु गठन गर्ने ।

पार्टी एकता सम्वन्धमा

२. गत भाद्र २३ र २४ को अप्रत्यासित र अकल्पनीय त्रासदीपूर्ण राजनीतिक घटनाक्रमसंगै पार्टी भित्र उत्पन्न नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्ने विषय उत्सर्गमा पु¥याई अन्ततः पार्टीलाई विभाजनको अवस्थामा पु¥याउँदा पनि तत्कालै कुनै निर्णय नगरि हाम्रा तर्फवाट धैर्यता अपनाई निरन्तर पार्टी एकताको प्रयाश गरिरहेको कुरा सवैमा जगजाहेरनै छ । निर्वाचन आयोगको बदनीयतपूर्ण निर्णय र सर्वोच्च अदालतको अन्यायपूर्ण फैसला आउँदा पनि विधीको शासन र न्यायिक स्वतन्त्रताको पालना गर्दै पुनः आजका मितिसम्म पार्टी एकताकै लागि पहल गरिरहयौं ।

आयोग र अदालतवाट मान्यता पाएको पक्षवाट भेटघाट, वार्ता र संवादको विषयमा सार्वजनिक हल्ला भए जस्तो सम्वन्धित पक्षसंग औपचारिक भेटघाट गरेको, ठोस प्रस्ताव राखेको अवस्था होइन, छैन । तथापी अनौपचारिक भेटघाटमा भएका दुईपक्षीय संवादहरुमा सवैकुरा यिनै हुन । मिलिहाल्छ नि अब चाँडै अर्को वैठकवाट टुङ्याउने भनिए पनि तत्पश्चाका भेटघाट बैठक नहुने र पहिले कुरा भएका भन्दा फरक नेताहरूसँग फरक कुरा लिएर जाने र निष्कर्षमा नपुर्‍याई सार्वजनिक गर्ने परिपाटी रहँदै आएको छ । यस्तो तरिका अपनाउनु भनेको पार्टी एकतालाई वाधा पुर्या‍उनु हो, एकता गर्ने मनसाय नराख्नु हो भन्ने निष्कर्ष निकाल्दै अव नेपाली कांग्रेसको सम्पूर्ण एकता वर्तमान अवस्थामा कमजोर हुँदै गएको निष्कर्षमा पुगेकाछौ ।

३. पार्टी एकताको विषयलाई लिएर नियमित महाधिवेशनका पक्षधरहरुले दिनानुदिन नयाँ र मान्नै नसकिने प्रस्तावहरु अघि सारेर एकतालाई असहज बनाए भनी चलाएका बजार हल्ला निराधार, मिथ्या र भ्रामक छन् । पार्टी उपसभापति विश्वप्रकाश शर्माले ह्वाट्सपमार्फत् निवर्तमान कार्यवाहक सभापतिलाई पठाएका प्रस्तावमाथि नै हामीले २०८३ जेष्ठ १८ गते नै औपचारिक छलफल गरि अधिकतम् सहमति गर्न सकिने किसिमका प्रस्तावसहित जवाफ पनि दिएका हौँ ।

(क) चौधौं महाधिवेशनको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई विशेष महाधिवेशनको कार्यसमितिसँगै मिलाएर गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने ।
(ख) सभापति गगनकुमार थापाको बहुमत रहने गरि कार्यसम्पादन समिति बनाउने ।
(ग) पुर्नगठित केन्द्रीय कार्यसमितिको बैठकले पन्ध्रौँ महाधिवेशनको कार्यतालिका घोषणा गर्ने ।
(घ) वर्तमान संस्थापन पक्षको बहुमत रहने गरि महाधिवेशनसँग सम्वन्धित विभिन्न समितिहरु बनाउने ।
(ङ) महाधिवेशनको लागि सबैभन्दा महत्वपूर्ण आधार पार्टीको क्रियाशील सदस्यता भएकोले यसका लागि पार्टी भित्र विवाद हुनुपहिले नै वर्तमान सभापति गगनकुमार थापा (तत्कालीन महामन्त्री) संयोजक रहेको समितिले टुङ्ग्याएका सबै क्रियाशील सदस्यलाई पन्ध्रौँ महाधिवेशनमा स्वत: सहभागी हुन पाउने व्यवस्था गरि उनीहरूको डिजिटल इन्ट्री गर्दै जाने । डिजिटल इन्ट्रीलाई पुनःनवीकरण भनी महाधिवेशनमा भाग लिन पाउने-नपाउने विषयसँग नजोड्ने ।

राष्ट्रिय भेला आयोजना सम्वन्धमा

४. पार्टी एकताका लागि नियमित महाधिवेशन पक्षले निरन्तर प्रयाश गर्ने, हदैसम्मको लचकता अपनाउने, सम्वादपश्चात लामो धेर्यता राख्ने गर्दागर्दै विवादपश्चातको सात महिना र अदालतको फैसलापछिका चार महिना वितिसक्दा पनि विशेष महाधिवेशनबाट आएको नेतृत्वले कुनै सार्थक तथा उपलव्धीमूलक पहल गरेको वा गर्न चाहेको जस्तो देखिएन ।

एकातर्फ, वर्तमान राष्ट्रिय राजनीति अनपेक्षित र अप्रत्याशित बाटोमा गइरहेको, स्थापित राजनैतिक दलहरूलाई नामेट पार्ने षडयन्त्रका चरण अझै क्रियाशील रहेको र नेपालको लोकतन्त्र तथा संघीय समावेसी लोकतान्त्रिक गणतन्त्र ल्याउन ऐतिहासिक योेगदान गरेका राजनैतिक दलभित्रै द्वन्द्वको बीजारोपण गरी उठनै नसक्ने गरि छिन्नभिन्न पार्ने गतिविधि अत्यधिक क्रियाशील भइरहेको बेला पार्टी एकता गर्नुको साटो सहकर्मी अन्य दलहरूलाई समेत सार्वजनिक मञ्चहरूमार्फत चिड्याउने अभिव्यक्ति दिएर जनताको क्रान्ति, संघर्ष र आन्दोलनवाट प्राप्त नागरिक अधिकार दिनानुदिन कम्जोर पारिरहेको अवस्था छ ।

तसर्थ, पार्टीभित्र बलियो एकता कायम गरि नेपाली जनताको स्वतन्त्रता र नागरिक अधिकारको रक्षा गर्ने उद्देश्यले नीतिगत रुपमा राष्ट्रिय बहस र छलफल गरि नयाँ कार्यदिशा तय गर्न हामीले (नियमित महाधिवेशन पक्षधर) यही साउनभित्र काठमाडौंमा नेपाली कांग्रेसको राष्ट्रिय भेला आयोजना गर्ने निष्कर्षमा पुगेका छौँ । उक्त भेलाको मिति, समय र स्थान यही साउन ६ गते हुने बीपी स्मृति दिवशको कार्यक्रम मार्फत सार्वजनिक गरिनेछ ।

५. विश्व राजनीतिबाट अत्यन्तै प्रभावित भएको नेपालको वर्तमान राजनीतिक परिवेशमा एकतावद्ध भएको सिङ्गो, सुदृढ र बलियो कांग्रेस पार्टीले मात्रै अन्य दलहरूसँग सम्वाद, सहमति र सहकार्य गर्दै राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता नागरिक अधिकार एवम् संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षा गर्न सक्ने ठहर गर्दै पार्टीको सम्पूर्ण एकताका लागि सबैलाई पुनः आव्हान गर्दछौँ ।

क्रियाशील सदस्यता अद्यावधिक सम्बन्धमा

६. पार्टीको निर्णयानुसार पन्ध्रौँ महाधिवेशनको कार्यतालिका बमोजिम् क्रियाशील सदस्यता नविकरण तथा वितरण कार्य पनि लगभग सम्पन्न भइसकेको अवस्थामा पन्ध्रौँ महाधिवेशन नै नभई फेरि अध्यावधिकको नाममा पूर्वाग्रही ढंगले नेपाली कांग्रेसको इतिहास र लोकतन्त्रको क्रान्ति, संघर्ष र आन्दोलनका योद्धाहरूको जीवनसँग जोडिएको क्रियाशील सदस्यता खारेज गराउने मनसायबाट प्रेरित भई ‘डिजीटल इन्ट्री’ लाई नै नवीकरणको नामाकरण गरिनु सरासर गलत र बदनीयतपूर्ण छ ।

सरकारको ध्यानाकर्षण सम्बन्धमा

७. केही समययता एक्कासि बढ्दो महङ्गी, कालाबजारी, कृतिम अभाव र सरकारको लाहपरवाहीका कारण खाद्यान्न, यातायात, स्वास्थ, शिक्षा लगायतका सबै क्षेत्रमा नेपाली जनताको दैनिक जीवन अत्यन्तै कष्टकर बनेको छ । वर्षयाममा उठीबास लगाइएका सुकुम्वासीहरुको उचित बन्दोबस्त गर्नुको सट्टा उनीहरूलाई अस्थायी बासस्थानबाट पनि खानसमेत नदिई हटाउने र त्यहाँ निरीक्षणमा पुगेका स्वयंसेवक र मानवअकिारकर्मीलाई भिजिलान्तेहरूबाट कुटपिट गर्नुका साथै प्रहरी प्रशासनवाट बिनाकारण धरपकड गरिनु अमानवीय र निन्दनीय कार्य हुन् । यस्ता कार्यले विश्व समुदायसामु नेपालको प्रतिष्ठा धमिलिएको छ, लज्जित बनाएको छ ।

८. भारी वर्षाको कारण देशभर बाढी पहिरो र डुबानको जोखिम बढिरहेको छ । कतिपय अवस्थामा नागरिकको असावधानी र सरकारकै लाहपरवाहीका कारण पनि विपद्मा परि नागरिकले जीउधन गुमाउनु परिरहेको छ । यस्तो अवस्थामा तत्काल उद्धार, राहत र क्षतिपूर्तिको व्यवस्था गर्न नेपाल सरकारको गंभिर ध्यानाकर्षण गराउँदै आवश्यक सावधानी अपनाउन सबै नागरिकमा अपील गर्दछौँ ।

९. नेपाली कांग्रेसका संस्थापक, प्रजातान्त्रिक समाजवादका प्रणेता, प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४४ औं स्मृति दिवसमा मिति २०८३ साउन ६ गते दिनको १२ः३० बजे, नेपाल प्रज्ञाप्रतिष्ठान, कमलादीमा आयोजना हुने विमर्श सभामा सहभागिताका लागि सबैमा हार्दिक अनुरोध गर्दछौं ।

जयनेपाल !

मीन विश्वकर्मा
संयोजक, प्रचार प्रसार समिति

प्रकाशित मिति : ३ श्रावण २०८३, आइतबार  ५ : ५८ बजे

विश्वकप फाइनलमा पराजित भएपछि स्पेनिस खेलाडीमाथि अर्जेन्टिनी खेलाडीको हातपात

काठमाडौँ – फिफा विश्वकप २०२६ को फाइनल खेल सकिएलगत्तै मैदानभित्रै

विश्वकप उपाधि गुमाएपछि रोकिएनन् मेसीका आँसु

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधि भिडन्तमा स्पेनसँग १–०

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट, स्पेनका रोड्रि बने सर्वोत्कृष्ट खेलाडी

काठमाडौँ – सोमबार बिहान सम्पन्न फिफा विश्वकप २०२६ को फाइनल

फिफा विश्वकप २०२६: स्पेनको ऐतिहासिक जितसँगै जोडिएका तीन रोचक तथ्यांक

काठमाडौँ – निक्कै प्रतिस्पर्धात्मक तर केही खिन्न मानिएको फिफा विश्वकप

आज २०८३ साल साउन ४ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन ४ गते सोमबार सन् २०२६