ढाका- बंगलादेशको संसद्ले बिहीबार नयाँ राष्ट्रपति चयन गर्दैछ। सत्तारूढ बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का महासचिव तथा स्थानीय सरकारमन्त्री मिर्जा फखरूल इस्लाम आलमगीर देशको २३औँ राष्ट्रपति बन्ने सम्भावना रहेको छ।
७८ वर्षीय आलमगीरले पाँच वर्षे कार्यकालका लागि हुने राष्ट्रपति निर्वाचनमा सहज विजय हासिल गर्ने अपेक्षा गरिएको छ। संसद्मा मतदान स्थानीय समयअनुसार बिहीबार दिउँसो करिब २ बजे सुरु हुने बताइएको छ।
आलमगीरले मंगलबार आफूले राष्ट्रपति बन्ने कल्पनासमेत नगरेको बताउँदै यसलाई पार्टी र सर्वशक्तिमान् अल्लाहको कृपाका रूपमा लिएको बताएका थिए। राष्ट्रपति बनेपछि पनि जनताको साथमा रहेर सेवा गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
सन् २०२४ को जनआन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सरकार अपदस्थ भएको थियो। त्यसपछि भएको पहिलो आमनिर्वाचनमा प्रधानमन्त्री तारिक रहमान नेतृत्वको बीएनपीले गत फेब्रुअरीमा ठूलो विजय हासिल गरेको थियो। हसिनाका निकट सहयोगीका रूपमा चिनिएका पूर्वराष्ट्रपति मोहम्मद साहाबुद्दिनले पदबाट राजीनामा दिएपछि नयाँ राष्ट्रपति चयन गर्न लागिएको हो।
साहाबुद्दिनले खराब स्वास्थ्यलाई कारण देखाउँदै जुलाईमा राजीनामा दिएका थिए। उनी सन् २०२३ मा राष्ट्रपति निर्वाचित भएका थिए र सन् २०२८ को अन्त्यसम्म कार्यकाल बाँकी थियो।
हसिना अहिले भारतमा बस्दै आएकी छन्। ढाकामा आफूविरुद्ध चलेको मुद्दामा उनी उपस्थित भएकी थिइनन्। गत नोभेम्बरमा अदालतले उनलाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको थियो। अधिकारवादी संस्थाहरूले हसिना नेतृत्वको सरकारमाथि विपक्षी कार्यकर्ताको हत्या, राजनीतिक दमन, न्यायिक प्रक्रियामा हस्तक्षेप तथा एकतर्फी निर्वाचनलगायतका आरोप लगाउँदै आएका छन्।
राष्ट्रपति निर्वाचनमा आलमगीरको प्रतिस्पर्धा जमात–ए–इस्लामीको नेतृत्वमा रहेको ११ दलीय विपक्षी गठबन्धनका उम्मेदवार ओली अहमदसँग हुँदैछ। संसद्मा बीएनपीको बलियो उपस्थिति रहेकाले आलमगीरको जितको सम्भावना उच्च रहेको बताइएको छ।
लामो राजनीतिक यात्रा
२६ जनवरी १९४८ मा जन्मिएका आलमगीरले ढाका विश्वविद्यालयमा अर्थशास्त्र अध्ययन गर्ने क्रममा विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गरेका थिए। सन् १९६९ मा पाकिस्तानको सैन्य शासनविरुद्ध भएको आन्दोलनमा उनी प्रमुख विद्यार्थी नेतामध्ये एक थिए। उक्त आन्दोलन बंगलादेश स्वतन्त्रताको आधार तयार पार्ने महत्वपूर्ण घटनामध्ये एक मानिन्छ।
अर्थशास्त्र अध्यापन गरेपछि सरकारी सेवामा प्रवेश गरेका आलमगीरले कृषि, उड्डयन तथा पर्यटनमन्त्रीलगायत विभिन्न जिम्मेवारी सम्हालेका थिए। त्यसपछि उनी सक्रिय राजनीतिमा प्रवेश गरे।
शेख हसिनाको लामो शासनकालमा आलमगीर प्रमुख विपक्षी नेताका रूपमा स्थापित भएका थिए। त्यतिबेला बीएनपी अध्यक्ष खालिदा जिया जेलमा थिइन् भने उनका छोरा तथा वर्तमान प्रधानमन्त्री तारिक रहमान निर्वासनमा थिए। हसिना सरकारको पालामा राजनीतिक प्रतिशोधबाट प्रेरित आरोप लगाउँदै आलमगीरलाई पटकपटक पक्राउ गरिएको थियो।
बंगलादेश समाचार संस्था (बीएसएस) का अनुसार कठिन राजनीतिक परिस्थितिमा बीएनपीलाई संगठित राख्न तथा पार्टीको राजनीतिक उपस्थिति कायम राख्न आलमगीरले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
आलमगीरको विवाह सेवानिवृत्त वित्तीय अधिकारी राहत आरा बेगमसँग भएको छ। उनीहरूका दुई छोरी छन्।












प्रतिक्रिया