काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतन्त्रको सबैभन्दा ठूलो शक्ति जनताको मत भएको बताएका छन् ।
काठमान्डौमा आयोजित नन्दप्रसाद -जानुका फाउन्डेसनले आयोजना गरेको नन्दप्रसाद शिवाकोटीको ११२औँ जन्मजयन्तीको अवसरमा आयोजित ‘दोलखाका लोकनायकहरू’ पुस्तक लोकार्पण तथा सम्मान कार्यक्रमलाई सम्बोधनगर्दै सभापति थापाले जनताको मतबाटै सरकारनेतृत्व र राजनीतिक दिशाको निर्धारण हुने भएकाले हरेक नागरिकले आफ्नो मतको महत्व बुझ्नुपर्ने उल्लेख गरे ।
थापाले विभिन्न राजनीतिक दल, संस्था तथा व्यक्तिका विचार र धारणा फरक–फरक हुन सक्ने भए पनि गरिब, विपन्न तथा आम नागरिकका सवालमा सबै एक ठाउँमा उभिनुपर्ने बताए । जनताको समस्या समाधान गर्ने विषयमा राजनीतिक स्वार्थभन्दा माथि उठेर साझा धारणा बनाउनुपर्ने उल्लेख गरे ।
उनले सरकारका निर्णय, संसद्का कामकारबाही, राजनीतिक दलका गतिविधि तथा अदालतका निर्णयसमेत प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नागरिकको जीवनसँग जोडिने बताए ।
त्यसैले राज्यका हरेक निकाय र राजनीतिक नेतृत्वले जनताको आवाज सुन्नुपर्नेमा उनले जोड दिए ।
थापाले निर्वाचनलाई केवल सरकार गठन गर्ने माध्यमका रूपमा मात्र बुझ्न नहुने बताए। निर्वाचनमा नागरिकले आफ्नो मतमार्फत नेतृत्व छनोट गर्ने महत्वपूर्ण लोकतान्त्रिक प्रक्रिया भएको उनको भनाइ थियो ।
नागरिकले आफ्नो मतको सही प्रयोग गर्न सके मात्र लोकतान्त्रिक प्रणाली थप बलियो बन्ने उनले बताए ।
मतदान अधिकारसँगै जिम्मेवारी
कांग्रेस सभापति थापाले मतदान नागरिकको अधिकार मात्र नभई महत्वपूर्ण जिम्मेवारीसमेत भएको बताए ।
उनले जनताको मतलाई सामान्य रूपमा लिन नहुने उल्लेख गर्दै लोकतन्त्रमा जनताको सहभागिता निरन्तर आवश्यक हुने उल्लेख गर्दै थापाले जनताको आवाज नसुन्ने र नागरिकको मतको सम्मान नगर्ने राजनीतिक संस्कारले लोकतन्त्र कमजोर बनाउने बताए ।
फरक राजनीतिक विचारलाई सम्मान गर्दै जनताको हितलाई केन्द्रमा राखेर अघि बढ्न सके मात्र लोकतन्त्र अझ सुदृढ हुने थापाले बताए ।
नन्दप्रसाद जानुका फाउन्डेसनद्वारा आयोजित पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै थापाले आफूले तत्कालीन कांग्रेस नेतृत्वलाई नागरिकको असन्तुष्टिबारे पटक–पटक सचेत गराए पनि त्यसलाई गम्भीर रूपमा नलिइएको बताए ।
‘यतिबेला दुई तिहाइमाथि पनि प्रश्न उठिरहेको छ । पाँचपटक प्रधानमन्त्री भएको मान्छे छैटौंपटक भएन भनेर असन्तुष्ट हुन्छ । दुईपटक सभापति भएको मान्छे तेस्रोपटक हुन पाइन भनेर असन्तुष्ट हुन्छ। महत्वकांक्षा यसरी बढ्दै जान्छ,’ उनले भने ।
उनले लोकतन्त्रमा निर्वाचनबाट प्राप्त सङ्ख्या मात्रै पर्याप्त नहुने बताए। जनताको निरन्तर समर्थन, नैतिक नेतृत्व र नागरिकको विश्वास पनि उत्तिकै महत्वपूर्ण हुने उनको भनाइ थियो ।
थापाले तत्कालीन पार्टी सभापति शेरबहादुर देउवा र केपी शर्मा ओलीसँग पटक-पटक आफ्ना असहमति र चिन्ता राखेको स्मरण गर्दै त्यसबेला दिएका सुझावलाई नेतृत्वले गम्भीर रूपमा नलिँदा राजनीतिक मूल्य चुकाउनु परेको उल्लेख गरे ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रिय सदस्य एवं नन्दप्रसाद -जानुका फाउन्डेसनका संरक्षक अजयवावु शिवाकोटी, पुर्व केन्द्रिय सदस्य जिपछिरिङ लामा, नेपाली कांग्रेस दोलखाका पार्टी सभापति बर्मा लामा, नेकपाका केन्द्रिय नेता विसाल खड्का, कांग्रेस दोलखाका उपसभापति छबि लामा, अर्जुन प्रसाद शिवाकोटी लगायतले कार्यक्रममा आफ्नो धारणा व्यक्त गरेका थिए । सुवाश बस्नेत/काठमाडौं












प्रतिक्रिया