काठमाडौं – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको उपस्थितिमा मन्त्रालयका अधिकारी र एसियाली विकास बैंक (एडिबी) का प्रतिनिधिबीच दिगो वन व्यवस्थापन तथा वन डढेलो नियन्त्रणका विषयमा छलफल भएको छ।
मन्त्री चौधरीको सचिवालयका अनुसार छलफलमा नेपालको वनलाई संरक्षणमुखी मात्र नभई दिगो तथा आर्थिक रूपमा उत्पादनशील ढङ्गले व्यवस्थापन गर्ने विषयमा जोड दिइएको थियो। स्वदेशी काठको उत्पादन वृद्धि गरी विदेशी काठको आयात घटाउने तथा वन क्षेत्रबाट रोजगारीका अवसर सिर्जना गर्ने विषयमा समेत छलफल भएको मन्त्रालयका प्रवक्ता डा महेश्वर ढकालले जानकारी दिए।
दिगो वन व्यवस्थापनका लागि ‘रिभोल्भिङ फन्ड’ स्थापना गर्ने तथा निजी क्षेत्र र सार्वजनिक–निजी–समुदाय साझेदारी (पिपिपी) लाई प्रवर्द्धन गर्ने विषयमा पनि छलफल भएको उनले बताए। वन व्यवस्थापन, काठ सङ्कलन तथा अनुगमनका क्रममा ड्रोन, कृत्रिम बौद्धिकता (एआई) र डिजिटल ट्र्याकिङलगायत आधुनिक प्रविधिको प्रयोग बढाउने विषयलाई प्राथमिकतामा राखिएको छ।
त्यसैगरी, वन डढेलो नियन्त्रणका लागि एआई र स्याटेलाइट प्रविधिमा आधारित एकीकृत राष्ट्रिय डढेलो पूर्वसूचना प्रणाली तथा जोखिम नक्साङ्कन विकास गर्ने विषयमा पनि छलफल भएको प्रवक्ता ढकालले जानकारी दिए ।
डढेलो लागेपछि मात्र प्रतिक्रिया जनाउनेभन्दा पूर्वतयारी र रोकथामका कार्यलाई प्राथमिकता दिनुपर्नेमा छलफलमा जोड दिइएको मन्त्रालयले जनाएको छ। डढेलो नियन्त्रणमा समुदाय र वन कर्मचारीको क्षमता अभिवृद्धि गर्नुका साथै आवश्यक सुरक्षा उपकरण, सञ्चार प्रविधि तथा सवारीसाधनको व्यवस्था गर्ने विषयमा पनि छलफल भएको मन्त्रालयको भनाइ छ।
छलफलले वन संरक्षणसँगै वन स्रोतको दिगो उपयोग, स्वदेशी काठको उत्पादन वृद्धि र आधुनिक प्रविधिको प्रयोगमार्फत वन व्यवस्थापनलाई थप प्रभावकारी बनाउने दिशामा जोड दिएको छ।












प्रतिक्रिया