बागलुङ– बागलुङ सदरमुकाम र पर्वतको पाङ गाउँ दूरीको हिसाबले कालीगण्डकी नदी वारिपारि छन् । यी दुई गन्तव्यबीच ठूलो खोँच भएर बग्ने कालीगण्डकीका कारण ६ वर्षअघिसम्म यात्रा सहज थिएन ।
घण्टौँ हिँडेर पाङवासी बागलुङ बजार आउजाउ गर्थे । तर, यो यात्रा अहिले १० मिनेटमा छोटिएको छ । कारण हो, कालीगण्डकी नदीमाथि बनेको झोलुङ्गे पुल ।
‘सिङ्गल स्पान’ मा संसारकै लामो दाबी गरिएको ५ सय ६७ मिटर लामो झोलुङ्गे पुल बनेपछि बागलुङ र पर्वतवासीको यात्रा मात्रै छोटिएको छैन, यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरेको छ । २०७७ सालदेखि सञ्चालनमा आएको पुलले बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ पाङलाई जोडेको छ ।
पुल कालीगण्डकीबाट १ सय २२ मिटर उचाइमा छ । बागलुङ नगरपालिकाले पुलको नाम अंग्रेजीमा ‘गण्डकी गोल्डेन ब्रिज’ र नेपालीमा ‘गण्डकी सुनौलो झुला’ राखेको छ । करिब ९ करोड २५ लाख रुपैयाँमा निर्माण भएको पुल बागलुङ आउजाउ गर्ने पर्यटकको प्रमुख गन्तव्य बनेको छ ।
पुल संचालनमा आउनुभन्दा पहिले धेरै पर्यटक प्रसिद्ध बागलुङ कालिकासम्म आएपनि बागलुङ बजारसम्म पुग्थेनन् । बागलुङ कालिका मन्दिर, पञ्चकोट, सुरुङभित्र रहेको शालिग्राम सङ्ग्रहालयसहित ‘गण्डकी गोल्डेन ब्रिज’ पनि आजकल पर्यटकको रोजाइँ बनेको छ ।
पर्वतबाट बागलुङतर्फ नआई सिधै म्याग्दी र मुस्ताङ जान कालिगण्डकी किनार पनि बाटो छ । मुस्ताङ र म्याग्दी जाने पर्यटकले यो पुललाई पनि गन्तव्य बनाएको भेटिन्छ । पुलमा फोटो खिच्ने, टिकटक बनाउनेहरु भेटिन्छन् । खासगरी बिदाको समयमा पुलमा सयौँको संख्यामा पर्यटक आउँछन् । बागलुङ झोलुङ्गे पुलको जिल्लाका रूपमा पनि परिचित छ ।


















तस्बिर : नेपाल फोटो लाइब्रेरी













प्रतिक्रिया