दर्शक रोएकै फिल्म चले ! « Khabarhub

दर्शक रोएकै फिल्म चले !


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो दशक हेर्ने हो भने १० प्रतिशत नेपाली फिल्मले बक्स अफिसबाट लगानी उठाउने गरेको पाइन्छ ।  ५ प्रतिशतभन्दा कम फिल्म मुनाफामा जान्छन् । त्यसै फिल्मलाई ‘जुवा’ कहाँ भनिएको हो र ? 

जुवामा जित्न बलियो दाउ चाहिए जस्तै फिल्ममा कमाउन बलियो कन्टेन्ट नै चाहिन्छ । फिल्म नचल्नु जुवामा हारे जस्तै हो, श्री सम्पत्ति नै जान सक्छ । चले जित्नु हो, नसोचेको कमाइ हुन्छ । 

उदाहरणका लागि फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ र ‘बलिदान’लाई हेर्दा भइहाल्यो । दुई करोडभन्दा कम लगानी र स्टारकास्ट नभएको ‘पूर्णबहादुरको सारङ्गी’ले नेपाली बक्स अफिसमा साढे ४६ करोडमाथि व्यापार गर्‍यो । पाँच करोडमा बनेको फिल्म बलिदानले लगानी बराबर मात्रै ग्रस कलेक्सन गर्‍यो  । फिल्म फ्लप भयो । 

अब सानो कि ठूलो खालमा बस्ने मेकरको इच्छा । सानो खाल भनेको कम लगानी । ठूलो खाल भनेको ठूलै लगानी । तर, नेपाली बजारमा सानो खाल नै सुरक्षित छ ।

फेरि फिल्मको गणित नै कठिन छ । ‘यो फिल्मले यति करोड व्यापार गर्‍यो’ भनेको सुनिन्छ । तर, निर्माताको हातमा व्यापारको रकम निचोरिएर मात्रै पर्छ । हल, वितरक र करको हिस्सा छुट्याउँदा निर्माताको हातमा ३०–४० प्रतिशत मात्रै आउँछ । 

एक फिल्मले १० करोड व्यापार गर्‍यो भने निर्माताको हातमा तीनदेखि चार करोडमात्रै हातमा पार्ने हो । अनि लगानी कसरी उठ्नु ? ९५ प्रतिशत असफल दर, अझ व्यापारको ४० प्रतिशत हिस्साको भागेदार बनेरै नाफा कमाउँछु भन्ने मेकरहरूको आँटलाई सम्झिएर फिल्मलाई जुवा भनिएको त होइन ? 

‘फेरि यो फिल्मले व्यापार यति हुन्छ भनेर’ भविष्यवाणी गर्ने न वैज्ञानिक प्रविधि बनेको छ न ज्योतिषशास्त्रलगायतका शास्त्रले कुनै ग्यारेन्टी गर्न सक्छन् । 

गत कात्तिकमा प्रदर्शनमा आएको फिल्म ‘जारी २’ फ्लप हुन्छ भनेर कसैले कल्पना नै गरेका थिएनन् । बुकिङ पनि आक्रामक थियो । झापाको एक हलले त प्रदर्शनको अघिल्लो दिन नै ‘आइतबारसम्म टिकट छैन’ भनेर सूचना नै निकालेको थियो । 

तर, चौथो दिनबाट हलमा दर्शकको चाप कम भयो । हिट फिल्मको सिक्वेल भएर सुरुवाती दिनको व्यापार उच्च हुँदा पनि फिल्म फ्लप भयो । 

फिल्म ‘परान’मा यसको ठीक उल्टो भयो । शुक्रबार प्रदर्शनमा आएको यस फिल्मको आइतबारसम्म हलमा दर्शक नै थिएनन् । चौथो दिनबाट फिल्मले पिकअप लियो । अहिले सर्वाधिक व्यापार गर्ने चौथो फिल्मको बनेको छ ।

‘परान’ले यत्रो व्यापार गर्छ भनेर कसले सोचेको थियो ? फिल्मका पण्डितले प्रदर्शन अगावै यसलाई फ्लप भन्न लागिसकेका थिए । व्यापारिक सफलताले उनीहरूलाई चुप लगाइदियो । 

 कस्ता फिल्म चलेका छन् ?

नेपाली मेकरमा नक्कल गर्ने बानी छ । जुन फिल्म व्यापारिक सफल भयो त्यही ढर्राले निरन्तर पाउँछन् । उस्तै परे नाम नै मिल्दो जुल्दो पो राख्छन् । 

सन् २०१२ को सुरुवातमा प्रदर्शनमा आएको फिल्म ‘लुट’ ब्लकबस्टर बन्यो । त्यसपछि ‘लुट’कै ढर्राका फिल्म बने । त्यही वर्ष ‘लुट’सँगै नाम मिल्ने ‘लुट कम्पनी’ नामक फिल्म पनि प्रदर्शनमा आयो । 

सोसियल ड्रामा बनेको ‘कबड्डी’ सफल भएपछि यस्तै यस्तै फिल्म उत्पादन भइरहेका छन् । गत वर्षदेखि मेकरहरू दर्शक रुवाउन लागि परेका छन् । ‘पूर्णबहादुरको सारङ्गी’ हेर्ने अधिकांश दर्शक रोएको भिडियो भाइरल बन्नु नै यसको प्रचार साबित भयो । 

‘पूर्णबहादुरको सारङ्गी’को बुवा–छोरा भावनालाई समेटेर बनाइएको थियो । त्यसयता ‘पूर्णबहादुरको सारङ्गी’ जस्तै ढर्राका फिल्म बन्ने क्रम जारी ।

यही फिल्मबाट लिड नायक बनेका विजय बरालका लगत्तैका दुई फिल्म ‘जनै हराएको मान्छे’ र ‘वरिष्ठ बलराम’ पनि उही फ्लेबर आएको दर्शकको प्रतिक्रिया थियो । फिल्म प्रचारका लागि पनि दर्शक रोएको भिडियो सार्वजनिक गर्ने ‘पूर्णबहादुरको सारङ्गी’कै अभ्यासले निरन्तरता पाएको छ । 

 यो वर्ष प्रदर्शनमा आएका तीन फिल्मले १० करोडमाथि व्यापार गरे । ‘परान’, ‘आबाट आमा’ र ‘जेरी अन टप’ ।

यी तीनमा ‘जेरी अन टप’ अलि फरक छ । यो नायक अनमोल केसीको स्टारडम र फरक स्वादको फिल्म भएकाले चल्यो । 

‘परान’ र ‘आबाट आमा’ दर्शक रोएकै कारण चलेका हुन् । यी दुवै फिल्मको व्यापार सुरुवातमा न्यून थियो । जब, हलमा दर्शक रोएको भिडियो बाहिरियो, भोलिपल्टदेखि हलमा दर्शकको चाप बढ्यो । 

नियोजित रुपमा दर्शकलाई रुवाएर भिडियो सार्वजनिक गर्ने प्रवृत्ति पनि अहिले उत्तिकै मौलाएको छ । केही मेकरहरू यसरी दर्शकलाई पगुँ बनाएर पैसा कमाउने कूनियतका साथ लागेको देखिन्छ । 

हलमा रुवाबासीको भिडियो हाल्ने मेकरकै फिल्म चुर्लुम्मै डुबेका छन् । दर्शकलाई बनाउन खोज्दा आफैँ पगुँ बनेका छन् । तर, पछिल्लो समय दर्शकलाई रुवाउन सक्ने फिल्महरू नै व्यवसायिकरुपमा सफल छन् । 

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ९ : ५८ बजे

नयाँ सरकार गठन : सम्भावित मन्त्रीहरूबारे रास्वपाका शीर्ष नेताले थाले छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मन्त्रिपरिषद्को सदस्यहरूबारे छलफल सुरु गरेको

सुनचाँदीको मूल्य निरन्तर ओरालो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।

बीस हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै

काठमाडौं – काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौँ उपत्यकाका २०

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन– गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको

धनगढी–दीपायल द्रुतमार्ग : दुई पक्की पुल निर्माण

गोदावरी–धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन्