काठमाडौं- सरकार सुकुम्बासी, सडक अतिक्रमण हटाउने र व्यवस्थित गराउने अभियानमा निर्मम बन्दै गएको छ । नयाँ वर्षको सुरुवातसँगै सरकारले थालेको अभियानका क्रममा प्रहरी टोलीले महिला, जेष्ठ नागरिक, साना बालबालिका तथा सुत्केरी महिलालाई समेत लछारपछार पार्दै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
नगर प्रहरीको टोलीले बुटवलमा सुकुम्बासी बस्तीमा रहेको आफ्नो टहरो जोगाउदै गरेकी महिलालाई एउटा रुखमा हात पछाडि पारेर घाँटी ङ्याकेको दृश्यले सामाजिक सञ्जालमा खुबै चर्चा र आलोचना बटुलिरहेको छ । त्यस्तै, अर्को सुत्केरी महिला आफ्नो दुधे बालक लिएर कहाँ जाउँ ? भनेर रुदै सरकारसँग याचना गरेकी छिन् । उनी भन्छिन्, ‘यो सानो बच्चा लिएर म कहाँ जाउँ ? अर्को पनि मेरो बच्चा छ । यिनीहरु लिएर म कहाँ जाउँ ?’
त्यसैगरी, अर्का दुई नाबालिक बालिकाहरु अभिभावक नहुँदाको अवस्थामा घर भत्काइँदा अत्तालिएका छन् । उनीहरुले रुँदै गुहार मागेका छन्, ‘बुवा कहाँ हुनुहुन्छ ? हामीलाई लिन आउनुहोस् ।’
सडक विस्तारकै क्रममा पनि नगर प्रहरीले व्यवसायीहरुको सामान जफत गरेको देखिएको छ । व्यवसायीका कतिपय सामान सडकमै लथालिङ छाडिएको छ । भाँडाकुडा, लत्ताकपडा, व्यागजस्ता सामान नगर प्रहरीले जफत गरेको देखिन्छ । यसबाट सानो लगानीमा व्यवसाय गरिरहेका व्यापारीहरु आतङ्कित भएका छन् ।
नगरपालिका गुण्डागर्दी शैलीमा आफूहरुमाथि आक्रमणमा उत्रिएको बुटवलका व्यवसायीहरुको आरोप छ । पसलको पेटीमा राखेका सामानहरु उठाएर भित्र हाल्छु भन्दा पनि नगर प्रहरीले नमानेर सामान उठाएको भन्दै उनीहरुले दुःख व्यक्त गरेका छन् ।
व्यवसायी सुरज अग्रवालले प्रहरीले आफ्नो पसलबाट २० वटा भन्दा बढी डसना नगरपालिकाले लुटेर लगेको बताए । उनले भने, ‘अब घरको पेटीमा सामान राख्दिनँ भनेर कसम खाँदा पनि जबरजस्ती उठाएर ट्रिप्परमा हाले । पसलमा एक्लै थिएँ । सामान जेगाउन सकिनँ । छिमेकी सबैले रमिता हेरेर भिडियो बनाए । कसैले सहयोग गरेनन् । सानो व्यापार थियो । धेरै खति पुर्याइदिए ।’
बुटवलको नगर प्रहरीले अमरपथमा रहेको थापा किचन, गौरीशंकर भाँडा पसल, सिटी ब्याग हाउसजस्ता पलसमा धरपकड नै गरेर सामान जफत गरेको थियो । पसलबाट नगर प्रहरीले झोला, डनलप, डसना, सिरकहरू उठाएको थियो । शुक्रबार बुटवलमा नगर प्रहरी, नेपाल प्रहरी, नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, पूर्वाधार शाखाका कर्मचारीसहित अनुगमनमा निस्किएको नगरपालिकाको टोली र व्यवसायीबीच धक्कामुक्कीकै अवस्था सिर्जना भएको थियो ।
सडक अतिक्रमण हटाउने र व्यवस्थित बनाउने अभियानलाई निरन्तरता दिएपनि बुटवल उपमहानगरपालिकाको नगर प्रहरीले अपनाएको आक्रामक शैलीको भने विरोध भइरहेको छ । सामाजिक सञ्जालमा महिला, बालबालिका तथा जेष्ठ नागरिकको समेत ख्याल नगरी राज्यले निर्ममता देखाउनु सही नभएको टिप्पणी भइरहेको छ । केही सामाजिक सञ्जाल प्रयोगकर्ताले राज्य र लुटेराबीच फरक नदेखिएको उल्लेख गरेका छन् ।
फेसबुक प्रयोगकर्ता रमेश शर्माले उचित स्थानान्तरण र सुरक्षित आवासको व्यवस्था गरेर मात्र डोजर चलाउन आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘सुकुम्बासीको घर डोजर लगाएर भत्काइँदैछ । वास्तविक सुकुम्बासी (भूमिहीन) हुन् भने उनीहरूलाई पहिले उचित स्थानान्तरण र सुरक्षित आवासको व्यवस्था गरेर मात्र डोजर चला सरकार, यो देश धनी र हुने खानेको मात्र होइन । गरिबको पनि हो । संविधानले नै आवासको अधिकार सुनिश्चित गरेको छ ।’
विश्लेषक महादिप पोखरेलले सरकारको यो खालको रबैया गरिबीविरुद्ध नभएर गरिबविरुद्ध भएको आरोप लगाएका छन् । उनले सञ्जालमा लेखेका छन्, ‘खिलहरु भनेका : गरिब र सर्वहाराहरु, सुकुम्बासीहरु, साना ठेला व्यापारीहरु, बाटोमा पोलेको मकै ,चटपट, पानीपुरी बेच्नेहरु । निम्न आय भएका नेपालीहरु : बोर्डरमा ५ किलो चिनी, दुई चार लुगा, एक दुई पोका किनमेल गर्ने नागरिकहरु । सरकारलाई प्रश्न सोध्ने साहस राख्ने अलिकति बचेका केही सचेत नागरिकहरु यिनीहरु नै हुन् ? सरकार तिम्रो रबैया गरिबीको विरुद्ध होइन, गरिबको विरुद्ध छ ।’
नगर प्रमुख खेलराज पाण्डेले बुटवललाई सुन्दर र अनुशासित व्यवसायिक बस्ने सहर बनाउने उद्देश्यले अभियान चलाइएको दाबी गरेका छन् । उनले भने, ‘नगरपालिकाले १५ दिनअगाडि सूचना प्रकाशित गरेर फुटपाथ खाली गर्न निर्देशन दिएको थियो । सूचनासँगै माइकिङ पनि गरिरएको थियो । तर, व्यवसायीले अटेर गरे । बाध्य भएर आक्रामक शैली अपनाउनु परेको हो ।’
‘नगरपालिकाले सुरुमा नरम शैली अपनाउँछ । त्यसपछि आवश्यकता अनुसार आक्रामक बन्नुपर्यो । सूचनालाई अटेर गरेपछि नगर प्रहरीनै लगाउनुपरेको हो । हेर्दा व्यवसायीलाई दुःख दिएजस्तो देखिन्छ’ थप उनी भन्छन्, ‘कानून सबैका लागि बराबर हो । कानूनको पालना नगर्दा लड्नु परेको छ । उहाँहरुले कुरा नसुनिदिँदा समस्या आएको हो । उहाँहरु नगरप्रहरीमाथि नै जाइलाग्नुभएको छ ।’
त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत दीपक ज्ञवालीले पनि पुराना व्यवसायी र रिकन्डिसन व्यवसायीहरूले अटेर गरेपछि डोजर र क्रेनसहित बजारमा निस्किनु परेको टिप्पणी गरे । उनले भनेका छन्, ‘यो अभियान तीन महिनासम्म निरन्तर चल्छ र त्यसपछि पनि अनुगमन जारी रहन्छ । अघिल्ला दुई दिनको तुलनामा व्यवसायीहरूले सडकपेटीबाट सामान हटाएका छन् ।’
‘नगरपालिकाले व्यवसायीको सामान जफत गर्दैन । उठाइएका सामानहरू अहिले गोदाममा बन्द गरेर राखिएको छ । अनुगमन सकिएपछि त्यसको विवरण संकलन गर्छ,’ उनी थप भन्छन्, ‘कुन पसलबाट उठाइएको भन्ने विवरण नखुले पनि कति सामग्री उठ्यो र कस्तो अवस्थाको छ भन्ने खुलाएपछि त्यसको मूल्याङ्कन गरेर के गर्ने भन्ने निर्णय हुन्छ ।’













प्रतिक्रिया