एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे « Khabarhub

एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै बेनी–जोमसोम सडक भएर चालु आर्थिक वर्ष २०८२–८३ को ११ महिनामा सात लाखभन्दा बढी पर्यटक मुस्ताङ पुगेका छन् ।

म्याग्दीको सिमानामा पर्ने मुस्ताङको घाँसास्थित सीमा प्रहरीचौकीको तथ्याङ्कअनुसार चालु आवको साउनदेखि जेठसम्म सात लाख पाँच हजार ७५४ स्वदेशी र विदेशी पर्यटक मुस्ताङ प्रवेश गरेका हुन् ।

यो सङ्ख्या गत आर्थिक वर्षको १२ महिनाको बराबर हो । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र बेनी–जोमसोम सडक भएर मुस्ताङ भित्रने नाकामा पर्ने घाँसामा प्रहरीले सवारीसाधनमार्फत भित्रने पर्यटकको अभिलेख राख्ने गरेको छ ।

एघार महिनामा एक लाख ५१ हजार १६० सवारीसाधनमार्फत चार लाख ६० हजार ९२४ स्वदेशी र दुई लाख ४४ हजार ८३० विदेशी पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी गत जेठमा २७ हजार ४८८ सवारीसाधनमार्फत ९० हजार ९३९ विदेशी र ४० हजार ८३८ स्वदेशी पर्यटक मुस्ताङ भित्रिएका छन् ।

भारत सरकारले लिएको डलर बचत गर्ने नीतिका कारण गर्मीमा पोखरा, मुस्ताङलगायत ठाउँमा भारतीय पर्यटकको चाप बढेको छ । लगातार चार दिन सार्वजनिक बिदा परेको जेठ तेस्रो साता नेपाली पर्यटकको रोजाइमा मुस्ताङ परेको थियो । पर्यटकको चापका कारण बेनी–जोमसोम सडकमा पर्ने बेनी, गलेश्वर, तातोपानी, दानाका होटल भरिभराउ हुने गरेका छन् । बर्खायामको सुरुआती समयको अनुकूल वैशाख(जेठमा मुस्ताङ भ्रमण गर्नेको घुइँचो बढ्ने गरेको हो ।

मुस्ताङ भित्रिएका बाह्य पर्यटकको सङ्ख्यामध्ये करिब ८० प्रतिशत भारतीय पर्यटक हुने गरेका प्रहरी निरीक्षक बस्यालले बताए । गत आर्थिक वर्षमा सात लाख पाँच हजार ७७९ जना पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरको दर्शन गर्ने उद्देश्यले भारतीय र नेपाली पर्यटक मुस्ताङ आउने गर्दछन् । यसका साथै कागबेनीधाममा श्राद्ध र तर्पण गर्ने, कोरला नाका र लोमान्थाङको अवलोकन गर्ने उद्देश्यले मुस्ताङमा पर्यटकको उपस्थित हुने गरेको हो ।

पृथक भूगोल, जैविक विविधता, प्राचीन कला संस्कृति, रहनसहन, हिमाली सौन्दर्यता र यहाँको विशेष प्रकारको मौलिकताका कारण मुस्ताङमा पर्यटकीय आकर्षण बढ्दै गएको छ ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ११ : ३६ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग