‘विश्व शक्ति चीन र भारततिर सर्दै गर्दा नेपालमा भू–राजनीतिक तानातानी बढ्यो’ « Khabarhub

‘विश्व शक्ति चीन र भारततिर सर्दै गर्दा नेपालमा भू–राजनीतिक तानातानी बढ्यो’


६ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले नेपाल भू–राजनीतिक केन्द्रमा रहेको बताएका छन् । 

पार्टी सम्बद्ध वुद्धिजिवी संगठनको राष्ट्रिय एकता भेलालाई शनिबार राजधानीमा सम्बोधन गर्दै पुनले नयाँ र पुराना विश्वशक्तिबीचको तानातानीको बीचमा नेपाल परेको दाबी गरे । 

विश्व राजनीतिक सन्तुलनमा आउँदै गरेको फेरबदलको प्रभाव नेपालमा परेको उनको भनाइ थियो । यस्तो तानातानीबाट नेपाल कसरी अलग रहने भन्नेबारे राष्ट्रिय दृष्टिकोण जरुरी रहेको पुनले औंल्याए । 

पुनले विश्व राजनीतिको केन्द्र एसियातिर सर्ने क्रममा रहेको र विश्व शक्ति चीन र भारततिर आउँदै गरेको दाबी गरे । 

‘विश्व शक्ति एसियाली भूमितिर सर्दैछ, यो यथार्थ हो । चीन–भारतको वरिपरि विश्वशक्ति आउँदै छ । यसले गर्दा स्वभाविक रूपले पुरानो शक्ति र नयाँ शक्तिको बीचमा तानातान छ’,पुनले भने, ‘त्यसको केन्द्रमध्ये एउटा केन्द्र नेपाल छ । त्यसमा हामी चाहेर पनि बाहिर बस्न सक्दैनौँ । भूराजनीति हाम्रो हातमा मात्र छैन ।’ 

सम्भाव्य भू–राजनीतिक परिवर्तनले सृजना गरेको तानातानी वा हस्तक्षेपमा नेपालको आन्तरिक गल्ती वा दोष मात्र जिम्मेवार नरहेको उनले स्पष्ट गरे । यद्यपि भू–राजनीतिक ‘इन्ट्रेस्ट’ हरूमा कसरी डिल गर्ने भन्नेबारे नेपालले सचेतता अपनाउनुपर्ने पुनले बताए । 

गत निर्वाचनमा कम्युनिष्ट पार्टीहरूले जनमत गुमाउनुमा ०७४ सालमा गठन भएको नेकपाको एकता  जोगाउन नसक्नु प्रमुख कारण रहेको चर्चा उनले गरे ।

कम्युनिष्ट पार्टीहरुप्रतिको जनविश्वास कसरी कमजोर भयो भन्नेबारे आत्मसमीक्षा नगरी अगाडिको बाटो तय गर्न नसकिने पुनले उल्लेख गरे । 

‘०७४ सालमा कम्युनिष्ट पार्टीले प्राप्त गरेको झण्डै दुई तिहाईको जनमत भनेजस्तो ढंगले सदुपयोग गर्न नसक्दा जनतामा निराशा पैदा भयो । दुई तिहाइ पाएको कम्युनिष्ट पार्टी किन रक्षात्मक भयो भन्ने प्रश्न छ’, पुनले भने, ‘त्यो प्रश्नलाई हामीले हल गर्नुपर्छ, आत्मसमीक्षा गर्नुपर्छ । विचारमा, नेतृत्वमा, कार्यशैलीमा संगठनमा कहाँनेर हामी जनतासँग अलग भयौं आत्मसमीक्षा गर्नुपर्छ ।’ 

नेपालमा समाजवादी आन्दोलनको भविष्य जीवितै रहेको र आफूहरूले त्यसलाई अघि बढाउने सम्भावना रहेको भन्दै उनले पछिल्ला घटनाक्रमहरूबाट अधैर्य नहुन अपिल गरे । 

लामो समयपछि श्रीलंकामा कम्युनिष्ट पृष्ठभूमिको दल सरकारमा फर्किएको, अमेरिकाको न्यूयोर्कजस्तो पुँजीवादको केन्द्रमा समाजवादी विचारधाराका युवाले मेयर  जितेको तथा अमेरिका र युरोपका देशहरुमा कम्युनिष्ट झण्डा बोकेर मानिसहरुले प्रदर्शन गर्न थाल्नुले समाजवादी आन्दोलनको भविष्य नसकिएको संकेत गर्ने तर्क गरे  । 

‘श्रीलंकामा कम्युनिष्टले सत्ता चलाइरहेको छ । विश्वभर समाजवादको भविष्य छैन भनिरहेका बेला पुँजीवादको केन्द्र न्यूयोर्कमा मजदुरले कमसेकम बस्ने बास पाउनुपर्छ भन्ने नारा दिएर समाजवादी उम्मेदवारले मेयर जिते, समाजवादले  न्यूयोर्कमा जितिसक्यो, हामी नेपालमा समाजवादको कुरा गर्दा डराउनुपर्ने जस्तो देखिएको छ, यो होइन । आज अमेरिका र युरोपका देशहरुमा मानिसहरु कम्युनिष्ट झण्डा बोकेर हिंड्न थालेका छन् ।’ 

गणतन्त्र, समावेशीता, धर्मनिरपेक्षता ल्याउन तथा सामाजिक न्याय स्थापित गर्न निर्णायक भूमिका खेलेको कम्युनिष्ट पार्टीले ती उपलब्धीका महत्वबारे स्थापित गर्न नसक्दा रक्षात्मक बन्नुपरेको तर्क उनले गरे । 

२००७ सालमा राणा शासन अन्त्यपछि ०१५ सालमा भएको पहिलो आमनिर्वाचनमा कांग्रेस, ०४७ सालको संसदीय निर्वाचनमा काँग्रेस र तत्कालीन वाम मोर्चा, ०६२-०६३ को क्रान्तिपछि तत्कालीन माओवादी र गत २३ र २४ को नवयुवाको आन्दोलनपछिको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जनमत पाउनुमा एउटै कारण हरेको चर्चा गरे ।

‘हरेक निर्वाचनमा जसले शक्तिका विरुद्धमा र बेथितिका विरुद्धमा लडेको छ, त्यसैले जनमत पाउँदै आएको छ’, पुनले भने, ‘रास्वपाले नवयुवाको आन्दोलनको स्वामित्व लियो भन्ने जनतालाई लाग्यो । सुशासनका लागि लड्यो भनेर जनताले भोट दियो । जो लड्छ, त्यही विकल्प हुन्छ । जनताले उसैलाई बहुमत दिन्छ ।’ 

पुनले अबको विकल्प आफूहरु हुने गरी विभेद, मनपरी, राष्ट्रियता, संवैधानिक अधिकारमाथिको अंकुश र सदनलाई हेप्ने वर्तमान सत्ताधारीको प्रवृत्तिविरुद्ध लड्ने बताए । 

२० सिटको रास्वपाले लडेकै कारण झण्डै दुईतिहाइ ल्याएको चर्चा गर्दै उनले १७ सिटको नेकपाले किन दुई तिहाई ल्याउन सक्दैन रु भन्ने प्रश्न गरे । 

‘आफूसँग बहुमत छ अध्यादेशबाट शासन, जनताका अधिकारमाथि अंकुश, संसदको अपमान, संविधानले दिएको अधिकार प्रयोग गरेर खोलिएका ट्रेड युनियनको खारेजी, भारतले सीमा मिचेको तथ्यहीन अभिव्यक्तिजस्ता विषयमा हामी लड्न सक्नुपर्छ, लड्छौं पनि’, पुनले भने, ‘हामी लोकतन्त्रका पक्षमा लड्छौं । आफूलाई सान्दर्भिक बनाएर समाजवादी क्रान्तिका लागि लड्न सक्छौं । हामी लड्यौं भने जनताले विश्वास गर्छ ।’ 

पूर्वराजा ज्ञानेन्द्र शाहले ‘कू’ गर्दा दीपावली गरेका जनताले नै उनलाई सत्ताबाट लखेटेको इतिहास ताजै रहेको भन्दै उनले भर्चुअल माध्यमबाट आर्जित लोकप्रियता दिगो हुनेमा शंका व्यक्त गरे ।

प्रकाशित मिति : ६ असार २०८३, शनिबार  ५ : २९ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय