प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु « Khabarhub

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु


७ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल किसान धमाधम आलु खनिरहेका छन् । खेतका गराभरि आलुका बोरा ठडिएका र सडक छेउमा आलुको चाङका दृश्य देखिन्छन्, तर किसान भने खुसी छैनन् । आलुको बजार मूल्य खस्किँदो त छँदैछ, खेतबारीमै पुग्ने व्यापारी पनि आउन छाडेका छन् । हाल यहाँ आलु प्रतिकिलो रु सातदेखि रु १० सम्म झरेको छ ।

‘आलुको भाउ घटेकै छ, तर पनि बिक्री भइरहेको छैन । विगतमा खेतबारीमा आइपुग्ने व्यापारीलाई आफैँ बोलाएर आलु लैजान भन्नुपर्ने बाध्यता छ’, पाँचखाल नगरपालिका–६ ढुङ्गानाबेँसीका किसान रामेश्वर सापकोटाले गुनासो गरे ।

गत हप्ता रु १० देखि रु १५ सम्म बिक्री भएको आलु हाल रु सातसम्म झरेको छ । यसले स्थानीय किसानहरू निकै चिन्तित छन् । सापकोटा भने, ‘मूल्य नपाएपछि बारी खन्ने कि नखन्ने भनेर अलमलमा छौँ । खनौँ भाउ छैन, नखनौँ कुहिने डर छ ।’

यस वर्ष आलुको मूल्य निकै खस्केकाले किसानको लागतसमेत उठ्न हम्मे–हम्मे भएको छ । अगुवा किसान सापकोटाका अनुसार केही किसानले आफैँ काठमाडौंको कालीमाटीस्थित तरकारी बजार लैजाँदा पनि आलु बिकेको छैन । आफ्नो मूल्यभन्दा पनि व्यापारीकै भाउमा छाडेर आउनुपर्दा लगानी जोखिममा परेको छ ।

स्थानीय किसानका अनुसार अन्य बालीको तुलनामा आलु खेतीमा लागत खर्च बढी हुने गरेको छ । जमिन तयारी, प्राङ्गारिक तथा रासायनिक मल, आलुको बीउ, सिँचाइ, औषधि तथा जनशक्ति खर्च हिसाब प्रतिकेजी करिब रु १८ देखि रु २० सम्म खर्च हुन्छ । विगतका वर्षमा यही समयमा प्रतिकेजी रु २८ देखि ३५ सम्म बिक्री हुने गरेको थियो । स्थानीय विजय पराजुलीले भने, ‘छिप्पेको आलु नखन्दा खेतमै कुहिने डरले घाटा खाएरै भए पनि व्यापारीलाई प्रतिकेजी रु १० सम्ममा आलु बेचिरहेका छौँ ।’

पाँचखाल नगर कृषि शाखाका अनुसार नगर क्षेत्रमा करिब ७० हजार रोपनी क्षेत्रफलमा आलुखेती गरिन्छ । शाखा प्रमुख हेमन्त पौडेलले पाँचखालमा वार्षिक करिब ९० हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन हुने गरेको जानकारी दिए । उनका अनुसार यस वर्ष बजार मूल्य घटेका कारण किसानले कुल लागत मूल्यको तुलनामा करिब रु ६३ करोड ७० लाखको हाराहारीमा आम्दानी गुमाउने अनुमान गरिएको छ ।

सरकारले कृषि उत्पादनको उचित मूल्य निर्धारण, भण्डारणको व्यवस्था, बजार व्यवस्थापन तथा आलु प्रशोधन उद्योगको विकास गर्न नसकेसम्म समस्या समाधान नहुने स्थानीय समाजसेवी दामोदर अधिकारीको भनाइ छ ।मण्डनदेउपुर–१० स्थित मण्डन फाँटका ८२ वर्षिय पशुपति श्रेष्ठ भने, ‘यस वर्ष गत वर्षभन्दा झन्डै दोब्बरले आलु फलेको पाइयो, तर भाउ भने घटिरहेको छ । यसले उत्पादन बढ्दा पनि कुनै खुसी हुने अवस्था छैन ।’

यहाँको ज्वानेटार फाँटमा विगत १० वर्षदेखि व्यावसायिक आलुलगायतका तरकारी खेती गर्ने किसानको सङ्ख्या बढिरहेको छ । स्थानीय किसान नारायण श्रेष्ठले उक्त फाँटमा यस ‘सिजन’मा दुई सय रोपनीमा आलु रोपिएको र आफूले मात्रै विगत पाँच वर्षदेखि करिब १२ रोपनीमा आलु रोप्न थालेको बताए । उनले भने, ‘गत वर्ष त्यही जग्गामा ६० बोरा जति आलु फल्यो, तर यो वर्ष भने १२० बोराभन्दा बढी फलेको छ, तर भाउ भने पोहोरकोभन्दा तेब्बरले घटेको छ ।’

जिल्ला कृषि विकास कार्यालयका अनुसार काभ्रेपलाञ्चोकमा हरेक वर्ष नौ हजार १६३ हेक्टर जमिनमा वार्षिक एक लाख ८९ हजार ७८ मेट्रिकटन आलु उत्पादन हुन्छ । यहाँका किसानले उत्पादन गरेको तरकारीजन्य वस्तुमध्ये उपभोगलाई छुट्याएर सङ्घीय राजधानी काठमाडौँको बजारमा पु¥याउँदासमेत तरकारीको ३५ प्रतिशत हिस्सा काभ्रेपलाञ्चोकबाटै थेगिएको तथ्याङ्क छ । त्योमध्ये आलुको मात्रा अग्रस्थानमा रहेको कार्यालय प्रमुख कुलप्रसाद दवाडीले बताए ।

राजकुमार पराजुली/रासस

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  ९ : १० बजे

भोटेकोशी बाढी : बेपत्ता २ हजार २९४ जनाको यकिन सूची सार्वजनिक

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढीमा

पद्मरत्न तुलाधरको आठौँ स्मृति दिवस मनाइयो

काठमाडौँ – मानवअधिकारवादी नेता, शान्ति अभियन्ता, मातृभाषा अभियन्ता तथा साहित्यकार

सर्वोच्चका प्रस्तावित न्यायाधीश पाण्डेको सुनुवाइ सकियो

काठमाडौँ– सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेको संसदीय सुनुवाइ सकिएको

कोप–३१ मा नेपालको नेतृत्व गर्दै परराष्ट्रमन्त्री खनाल टर्किए प्रस्थान

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन

सरकार र डा. केसीबीच भएका ६ सहमति के-के हुन् ?

काठमाडौँ – चिकित्सा शिक्षा सुधारको माग राख्दै २५औँ पटक सत्याग्रहमा