गोसाइँकुण्डमा गङ्गादशहरा मेला सुरु « Khabarhub

गोसाइँकुण्डमा गङ्गादशहरा मेला सुरु

५ हजार भक्तजन आउने अनुमान


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

रसुवा- हिमालको काखमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा गङ्गादशहरा पर्वको अवसर पारेर वार्षिक विशेष मेला सुरु भएको छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्था र मोक्ष प्राप्तिको केन्द्र मानिने गोसाइँकुण्डमा भगवान् शिवको दर्शन तथा स्नान गर्न देश–विदेशबाट भक्तजन आउन थालेका छन् ।

जेठ ३ गतेदेखि सुरु भएको मेला जेठ १२ गतेसम्म चल्नेछ । चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाका अनुसार हालसम्म तीन सयभन्दा बढी तीर्थयात्री कुण्ड क्षेत्रमा पुगिसकेका छन् । यस वर्ष करिब पाँच हजार भक्तजन आउने अनुमान गरिएको छ ।

पुराणमा उल्लेख भएअनुसार देवता र दानवबीच समुद्र मन्थन हुँदा निस्किएको कालकूट विषले सृष्टि विनाश हुन लाग्दा भगवान् शिवले उक्त विष आफ्नो कण्ठ (घाँटी) मा धारण गरे । विषको डाह शान्त पार्न शीतल स्थानको खोजी गर्दै हिमालय क्षेत्र आइपुगेका शिवले त्रिशूलले प्रहार गर्दा निस्किएको जलबाट गोसाइँकुण्ड बनेको जनविश्वास छ ।

धार्मिक मान्यताअनुसार गङ्गादशहरामा यहाँ स्नान गर्दा १० प्रकारका पाप नाश हुन्छन् भने जनैपूर्णिमामा स्नान गर्दा जन्मजन्मान्तरका दोष समाप्त हुन्छन् । समुद्री सतहदेखि करिब १४ हजार १०० फिट उचाइमा रहेको यो तीर्थस्थल पुग्न कठीन भए पनि कुण्डमा स्नान गरेपछि सम्पूर्ण थकान मेटिने यात्रुहरूको अनुभव छ ।

यात्रा मार्ग र व्यवस्थापन
काठमाडौँको बालाजुबाट सुरु हुने यात्रा शिवपुरी, छहरे, ढुङ्गे, बेत्रावती र कालिकास्थान हुँदै धुञ्चे पुग्छ । धुञ्चेबाट शिवमन्दिर, त्रिशूली नदी किनार, चन्दनबारी (सिङ्गगोम्पा), चोलाङपाटी, लौरीविनायक र गणेश गौंडा हुँदै तेर्सो ककरो भिर पार गरेपछि गोसाइँकुण्ड पुगिन्छ ।

यात्रुको चापलाई ध्यानमा राख्दै होटल व्यवसायीहरूले खाद्यान्न ढुवानी र बस्ने व्यवस्था मिलाएका छन् । जेठ ९ देखि १२ गतेसम्म कुण्ड क्षेत्रमा विशेष पूजाका लागि पुजारीको व्यवस्था गरिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए । यात्राका क्रममा आइपर्ने समस्या समाधान र उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल तैनाथ छन् ।

लौरीविनायकभन्दा माथि लेक लाग्ने (अल्टिच्युड सिकनेस) सम्भावना हुने भएकाले स्वास्थ्यकर्मीले सावधानी अपनाउन आग्रह गरेका छन् । धुञ्चेमा एक रात बसेर वातावरणसँग अभ्यस्त हुन र यात्रा गर्दा अदुवा, कागती, लसुन तथा बिरेनुन साथमा राख्न सुझाइएको छ । पैदल यात्रा गर्न नसक्ने ज्येष्ठ नागरिकका लागि काठमाडौँबाट हेलिकोप्टर सेवा पनि उपलब्ध छ ।

लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहले यात्राका क्रममा वन्यजन्तुलाई नतर्साउन, वनस्पति नकाट्न र फोहर तोकिएको स्थानमा मात्र फाल्न अनुरोध गरे । “हिमालयको संरक्षण नै भगवान् शिवप्रतिको सच्चा श्रद्धा हो,” उनले भने ।

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  ६ : ०३ बजे

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति