स्पेसएक्सको ऐतिहासिक आइपिओ तयारी « Khabarhub

स्पेसएक्सको ऐतिहासिक आइपिओ तयारी


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क- एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले इतिहासकै सबैभन्दा ठूलो प्रारम्भिक सार्वजनिक प्रस्ताव (आइपिओ) ल्याउने तयारी सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक गरिएको प्रोस्पेक्टसअनुसार कम्पनीले दर्जनौँ अर्ब डलर बराबरको सेयर बिक्री योजना अघि सारेपछि यसले विश्व वित्तीय बजारमा ठूलो चासो र बहस सिर्जना गरेको छ ।

फाइलिङले देखाए अनुसार स्पेसएक्सले गत वर्ष आठ अर्ब ७० करोड डलर राजस्व कमाए पनि सञ्चालनतर्फ पाँच अर्ब ६० करोड डलर घाटा व्यहोरेको थियो । कम्पनीले यो वर्षको सुरुआती महिनाहरूमा पनि घाटा निरन्तर रहेको उल्लेख गरेको छ । कम्पनीले उठाउन चाहेको रकम औपचारिक रूपमा नखुलाए पनि विभिन्न अन्तर्राष्ट्रिय रिपोर्टहरूले प्रस्तावको आकार ७५ अर्ब डलर वा त्योभन्दा माथि पुग्न सक्ने बताएका छन् ।

यदि त्यस्तो भयो भने, यो आइपिओले सात वर्षअघि २६ अर्ब डलर उठाएर कीर्तिमान बनाएको साउदी अरामकोलाई सहजै उछिन्नेछ । औपचारिक नाम स्पेस एक्सप्लोरेसन टेक्नोलोजी कर्पोरेसन रहेको स्पेसएक्सले यस सेयर बिक्रीबाट उठ्ने रकम मानवलाई बहुग्रहीय प्रजाति बनाउने महत्त्वाकांक्षी योजनामा प्रयोग गरिने जनाएको छ ।

कम्पनीका अनुसार चन्द्रमा र मङ्गल ग्रहमा मानव बस्ती स्थापना गर्ने परियोजनालाई आर्थिक रूपमा बलियो बनाउन यो पूँजी प्रयोग हुनेछ । फाइलिङमा सभ्यतालाई समाप्त गर्न सक्ने अस्तित्वगत जोखिमको चर्चा गर्दै ‘मानव जातिको भाग्य डायनासोरजस्तो नहोस् भन्ने हाम्रो चाहना हो’ भनिएको छ ।

प्रोस्पेक्टसका केही अंश विज्ञान–कथाजस्ता देखिन्छन् । एउटा खण्डमा मस्कले ‘कम्तीमा १० लाख जनसङ्ख्या भएको स्थायी मानव उपनिवेश मङ्गल ग्रहमा स्थापना गर्न सफल भएमा’ मात्र विशेष क्षतिपूर्ति प्राप्त गर्ने उल्लेख गरिएको छ ।

यो आइपिओले मस्कलाई १० खर्ब डलरभन्दा बढी सम्पत्ति हुने विश्वको पहिलो व्यक्ति बनाउने सम्भावना पनि बलियो बनाएको छ । फोब्र्सका अनुसार हाल मस्कको अनुमानित सम्पत्ति आठ खर्ब ३९ अर्ब डलर रहेको छ । मस्कले सन् २००२ मा स्थापना गरेको स्पेसएक्समा उनी प्रमुख स्वामित्वकर्ता हुन् ।

पुनः प्रयोग गर्न मिल्ने रकेटमार्फत अन्तरिक्ष यात्रीलाई कक्षामा पु¥याउने मुख्य व्यवसायसँगै स्पेसएक्सले अन्य विविध व्यवसाय पनि सञ्चालन गरिरहेको छ । तीमध्ये सबैभन्दा सफल व्यवसायमध्ये स्टारलिङ्क एक हो । दस्तावेज अनुसार स्टारलिङ्कले गत वर्ष चार अर्ब ४० करोड डलर सञ्चालन आम्दानी गरेको थियो ।

कम्पनीले न्यून पृथ्वी कक्षामा रहेका करिब १० हजार उपग्रहमार्फत १५० देश तथा क्षेत्रमा एक करोड मानिसलाई इन्टरनेट सेवा दिइरहेको जनाएको छ । तर कम्पनीका सबै परियोजना सफल छैनन् । हालै स्पेसएक्सले मस्ककै स्वामित्वमा रहेका सामाजिक सञ्जाल प्लेटफर्म एक्स र कृत्रिम बौद्धिकता (एआई) एक्सएआई अधिग्रहण गरेको थियो ।

यी दुवै कम्पनी ठूलो घाटामा रहेका कारण केही लगानीकर्ताले उक्त खरिदलाई ‘बेलआउट’ भन्दै आलोचना गरेका थिए । प्रोस्पेक्टसले एआई व्यवसायले मात्र गत वर्ष छ अर्ब ४० करोड अर्ब डलर सञ्चालन घाटा व्यहोरेको जनाएको छ । स्पेसएक्सको मुख्य रकेट तथा प्रक्षेपण व्यवसाय भने अमेरिकी सरकारी सम्झौतामा ठूलो मात्रामा निर्भर छ ।

दस्तावेज अनुसार कम्पनीको गत वर्षको कुल राजस्वमध्ये करिब पाँचौँ भाग अमेरिकी सङ्घीय सरकारबाट आएको थियो । नासा, अमेरिकी रक्षा मन्त्रालय र अन्य सरकारी निकायबाट स्पेसएक्सले पछिल्ला पाँच वर्षमा छ अर्ब डलरभन्दा बढीका सम्झौता प्राप्त गरेको युएसए स्पेन्डिङ डट जीओभीले देखाएको छ ।

यसले मस्क र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको सम्बन्धमाथि फेरि प्रश्न उठाएको छ । मस्क ट्रम्पको चुनाव अभियानका सबैभन्दा ठूलो दातामध्ये एक थिए र सरकारी खर्च कटौती अभियान डजसँग पनि उनी जोडिएका थिए ।

सरकारी नैतिकता निगरानी समूहहरूले मस्कले सरकारी ठेक्का पाउन विशेष सुविधा पाएको हो कि भन्ने प्रश्न उठाउँदै आएका छन् । ट्रम्प प्रशासन समाप्त भएपछि यस्तो लाभ कायम रहन्छ कि रहँदैन भन्नेबारे पनि बहस भइरहेको छ । प्रोस्पेक्टसले मस्कको पारिश्रमिक संरचना पनि खुलाएको छ । सन् २०२५ मा उहाँको आधारभूत वार्षिक तलब ५४ हजार ८० डलर मात्रै थियो ।

यो सन् २०१९ यता परिवर्तन भएको छैन । तर उनका मुख्य लाभ स्टक अनुदानसँग जोडिएका छन् । कम्पनीले करिब समान आकारका १५ वटा स्टक अनुदान प्याकेज उपलब्ध गराउने योजना बनाएको छ । यसमा प्रत्येकमा छ करोड ७० लाख सेयर रहनेछन् । ती सेयर कम्पनीले तोकेका बजार मूल्य लक्ष्य पूरा गरेपछि मात्रै हस्तान्तरण हुनेछन् ।

मस्कले पूर्ण स्टक पुरस्कार प्राप्त गर्न स्पेसएक्सको बजार मूल्य ७५ खर्ब डलरसम्म पुग्नुपर्ने उल्लेख गरिएको छ । यस्तै अन्तरिक्षमा फुटबल मैदानजत्रा विशाल डाटा सेन्टर निर्माण गर्न कम्पनी सफल भएमा उनले थप स्टक पुरस्कार प्राप्त गर्ने व्यवस्था पनि राखिएको छ । कम्पनीको नियन्त्रण संरचनाले पनि लगानीकर्ताको ध्यान खिचेको छ ।

फाइलिङअनुसार मस्क र केही प्रमुख सेयरधनीले विशेष श्रेणीका सेयर पाउनेछन्, जसले प्रत्येक सेयरमा १० मताधिकार दिनेछ । यसमार्फत उनीहरूले कम्पनीको सञ्चालक समिति चयनमा निर्णायक प्रभाव राख्नेछन् । स्पेसएक्सले सम्भावित लगानीकर्तालाई चेतावनी दिँदै ‘यसले कर्पोरेट मामिलाहरू तथा सञ्चालकहरूको निर्वाचनमा तपाईंहरूको प्रभाव सीमित वा रोक्न सक्छ’ भनेको छ ।

वाल स्ट्रिटको प्रचलित भाषामा ‘रोड शो’ भनिने लगानीकर्ता प्रस्तुति कार्यक्रम स्पेसएक्सले प्रोस्पेक्टस सार्वजनिक गरेको १५ दिनपछि सुरु गर्न सक्नेछ । हालको समयरेखाअनुसार त्यो प्रक्रिया जुन ४ देखि सुरु हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  ७ : ३८ बजे

प्रदेश प्रमुखबाट वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत

विराटनगर– कोशी प्रदेशसभाको आज बसेको बैठकमा कोशी प्रदेश सरकारकोतर्फबाट आर्थिक

स्पेसएक्सको ऐतिहासिक आइपिओ तयारी

न्यूयोर्क- एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सले इतिहासकै सबैभन्दा ठूलो प्रारम्भिक

एमालेमा पदाधिकारीको वरीयता : उपाध्यक्षतर्फ शक्तिशाली बने बादल

काठमाडौं- नेकपा एमालेले एघारौं महाधिवेशन भएको ६ महिनापछि पार्टी पदाधिकारीहरूको

पूर्वअर्थमन्त्रीहरूसँग स्वर्णिमको भेट : आर्थिक सुधारदेखि खर्च कटौतीसम्मका विषयमा जोड

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी आगामी