काठमाडौं– मानिसको छालाको रङ शरीरमा भएको मेलानिन नामक पदार्थका कारण हुन्छ । बढी मेलानिन भएकाहरूको रङ कालो र कम भएकाहरूको गोरो वा गहुँगोरो हुन्छ । त्यसरी नै कपालको रङ पनि कसैको कालो, कसैको खैरो, कसैको हल्का खैरो हुन्छ । यी सबै प्राकृतिक कुरा हुन् ।
मानिसको यो प्राकृतिकपनलाई वा शरीरमा बढी मेलानिन हुनुलाई ‘रोग लागेको’ भन्ने यस्ता विज्ञापनलाई नै रोक लगाउनु उचित हो । रोक नलगाएको अवस्थामा उपभोक्ताले नै बहिष्कार गर्नु बढी श्रेयस्कर हुन्छ ।
‘गोरो हुनु सुन्दरता हो’ भन्ने भ्रम पनि यस्तै वस्तु उत्पादक बहुराष्ट्रिय कम्पनीहरूले सिर्जना गरिरहेका छन्। भौगोलिक अवस्थाअनुसार विभिन्न भू–भागका मानिसको रङ पनि फरक–फरक नै हुन्छ ।
कालो, गोह्रो, गहुँगोह्रो, सेतो, खैरो वा अरू कुनै रङ भएका मानिस त्यस स्थानका लागि र त्यो समुदायका लागि सुन्दर र सुहाउँदिलो नै हुन्छन्। तर अर्को स्थानमा जाँदा स्वाभाविक रूपमा भिन्न र अमिल्दो हुनसक्छ । कुन वर्ण सुन्दर भन्ने मानिसको दृष्टिकोणमा भर पर्ने कुरा हो। कुनै वर्णविशेष संसारभरका लागि मान्य हुन्छ भन्ने हुँदैन ।
तर, बहुराष्ट्रिय कम्पनीहरूले सेतो वा गोरो हुनु नै सुन्दर हुनु हो भन्ने भ्रम छर्दै अन्य रङको छालालाई पनि गोरो वा सेतो बनाउने क्षमता भएका क्रिम बजारमा ल्याएको दाबीका साथ आक्रामक विज्ञापन गरिरहेका हुन्छन् । यसले मानिसमा भ्रम उत्पन्न गरेर त्यस्ता वस्तु किन्न बाध्य पार्ने त छँदै छ, साथै मानिसमा भेदभाव पनि सिर्जना गरिरहेको छ ।
मानिसको कुनै एउटा रङ राम्रो हो भनेर प्रचार गर्नु शतप्रतिशत भेदभाव र अन्यायपूर्ण हो। यसले सेतो तथा गोरो रङ बाहेकका मानिसलाई हिनताबोध र आत्मग्लानि गराइरहेको हुन्छ । यस किसिमको भेदभाव गरेर हिनता भाव सिर्जना गर्दा पनि आममानिसले यसको विरोध गरिरहेको देखिन्न । बरु उल्टै त्यस्ता विभेदयुक्त भनाइको समर्थनमा गोरो बनाउने भनिएका त्यस्ता क्रिम खरिद गर्नमा हामीले ठूलो रकम खर्च गरिरहेका छौं। र, आफ्नो प्राकृतिक रङलाई विकृत बनाउने महंगा क्रिम खरिद गरेर मुखमा पोतिरहेका छौं ।
किशोरावस्थामा प्रवेश गरेका स्कुल जाने उमेरका कतिपय केटीले पनि गोरो बन्ने भनिएका क्रिम लगाएर अनुहारलाई कुरूप अवस्थामा पुर्याउने गरेको पाइएको छ । बाह्रबिसेको एउटा स्कुलमा जाँदा केही किशोरीको अनुहारमा अलि बढी नै कालो पोतो पाइयो । उनीहरूसँग चिकित्सकले अन्तरक्रिया गर्दा छाला गोरो पार्ने भनिएको २५ रुपैयाँ पर्ने क्रिम लगाएपछि उनीहरूमा यस्तो समस्या आएको फेला पर्यो । स्कुलमा पढ्ने गहुँगोरो वर्णका ती किशोरीले ‘सेतो छाला’ को चाहना राखेका थिए ।
आफ्नो अनुहारको छाला सेतो पार्न लगाइएको क्रिमले उनीहरूको छालामा समस्या उत्पन्न भयो । यस किसिमको समस्या स्कुल पढ्ने किशोरीहरूमा प्रशस्तै देखिने गरेको छ । छालारोग विशेषज्ञ डा। सविना भट्टराई अनुसार ‘अस्पतालमा दैनिक २–३ जना मानिस गोरोपन बढाउने भनिएका क्रिम लगाउँदा छाला बिग्रिएर अनुहार नै कुरूप बनेपछि उपचार गर्न आउने’ गरेका छन् ।
यसरी आउनेले गोरो पार्ने क्रिम लगाउँदा केही दिनसम्म त राम्रो देखिएको, तर पछि छाला बिग्रिँदै गई कालो चायाँ आएर झन् विरुप भएको पीडा सुनाएका थिए । डा। सविनाका अनुसार छाला विरुप भएपछि उपचार गर्न पनि कठिन हुन्छ । साथै, यसरी छाला बिग्रेका कारण उनीहरूको आत्मविश्वास पनि हराउन थाल्छ ।
डा। सविनाले अनुहारमा लगाउने भनिएका हानिकारक क्रिमका कारण विरुप बनेर उपचारका लागि आएका धेरै पीडित महिलाको फोटो संकलन गर्नुभएको छ । यी फोटाहरू हेर्दा क्रिम भनेको मानिसको अनुहार विरुप गराउने विषादी नै हो कि भन्ने अनुभव हुन्छ । यसरी पीडित बनेर आउनेमा धेरै युवतीहरू छन्, जसमा पढेलेखेका र स्वास्थ्य क्षेत्रमै काम गरेकाहरू पनि छन् ।
डा। सविनाको अस्पतालमा कार्यरत एक जना नर्ससमेत यस्तै गोरोपन बढाउने भनिएको क्रिम लगाएर छाला बिग्रिएपछि कुरुप अवस्थामा उपचार गर्न आएकी थिइन् । छाला गोरो पार्न रामबाण भनेर प्रचार गरिएको एउटा हर्बल (जडिबुटी) क्रिम लगाएको केही दिनमै उनलाई समस्या सुरु भएको थियो ।
त्यस क्रिममा कस्ता–कस्ता रसायन प्रयोग गरिएको छ भन्नेतिर उनको ध्यान गएन। बरु जडिबुटीले बनेको भनेपछि राम्रै हुन्छ होला भनेर उक्त क्रिम लगाएको उनको भनाइ छ । गोरो बनाउने भनिएका क्रिमले छालामा विभिन्न समस्या उत्पन्न गर्नसक्ने भएकाले यसको जथाभाबी प्रयोग नगर्न छालारोग विशेषज्ञहरूले बारम्बार चेतावनी दिँदै आएका छन्, तर प्रयोगकर्ताहरू ध्यान दिँदैनन् ।
छालारोग विशेषज्ञ डा। विमल ओझा भन्नु भएको थियो ‘मकहाँ अनुहारको छाला बिग्रियो, दाग आयो भनेर गुनासो गर्दै उपचारका लागि धेरै मानिस आउँछन् । उनीहरूको कुरा सुनेपछि थाहा हुन्छ, ३–४ महिनादेखि लगाइरहेको गोरो पार्ने क्रिम नै त्यसको कारण हो ।
तर, उनीहरूलाई यही कुरा भन्दा विश्वास गर्दैनन् । लगातार आइरहेका विज्ञापनले उनीहरूको मस्तिष्क नै एकोहोरो बनाएको हुँदो रहेछ ।
म उनीहरूलाई गोरोपनको क्रिम छाड्ने सल्लाह दिन्छु। त्यसको सट्टा स्वस्थ जीवनशैली अपनाउन र पौष्टिक खानामा ध्यान दिन भन्छु । तर सबैले यो कुरा बुझ्दैनन् ।’
स्वास्थकर खाना, पानी र योगले अनुहार र शरीर स्वस्थ रहन्छ । स्वस्थ भएपछि चमक आउँछ । छालाको रंग गहुँगोरो होस् वा कालो होस् वा गोरो होस्, अस्वस्थ शरीरमा कसरी सुन्दरता आउँछरु गोरोपन नै सौन्दर्यको मापदण्ड हुँदो हो त अमेरिका र युरोपका सबै महिला–पुरुष सौन्दर्यवान मानिन्थे होला ।
अनुहार र शरीरमा लगाउने साबुनको विज्ञापन भने फिल्मका नायकरनायिका, मोडललाई अघि सारेर गर्ने गरिन्छ। कुनै खास किसिमको साबुन लगाएपछि अनुहारको रंग गोरो, छाला नरम हुन्छ भनिएको हुन्छ । यस्तो लाग्छ, मानौं कुनै खास साबुन प्रयोग गरेपछि अनुहार नै फरक हुन्छ । अहिले आउने विज्ञापनहरूमा लक्स साबुनको विज्ञापन निकै नै बढी छ ।
विज्ञापनको भ्रममा परेर मानिसहरू ‘ऐश्वर्या राय’ जस्तो अनुहार पाउने आशामा साबुन प्रयोग गर्छन् । विज्ञापनमा भनिएजस्तो गोरो अनुहार साबुनले पार्न सक्दैन । किनभने, शरीरको छालाको रंग त मानव शरीरमा भएको ‘मेलानिन’ नामक तत्वले गर्दा गोरो, गहुँगोरो वा कालो हुने हो । यसलाई बाहिरबाट साबुनले धोएर वा क्रिम लगाएर परिवर्तन गर्न सकिन्न ।












प्रतिक्रिया