काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता लेखनाथ दाहालले प्रदेश सरकारमा संवैधानिक संकट आउने अवस्था सिर्जना भए मात्रै नेकपा सरकारमा सहभागी हुने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता दाहालले प्रदेश सरकारमा संवैधानिक संकट आउने अवस्था सिर्जना भएमा वा आफ्नो उपस्थितिबिना सरकार नै नबन्ने परिस्थिति बनेमा मात्र सरकारमा सहभागी हुने नीति रहेको बताएका हुन् ।
उनले हालको गठबन्धन बन्नु वा भत्किनुमा आफ्नो कुनै भूमिका नरहेको र दुई दलको आन्तरिक कारणले भइरहेको उल्लेख गरे । कांग्रेस र एमाले मिलेर नै बाँकी कार्यकाल प्रदेश सरकार सञ्चालन गरोस् भन्ने नेकपाको मान्यता रहेको उनको भनाइ छ ।
उनले नयाँ सहकार्यको स्थिति बनेमा कांग्रेस र एमालेमध्ये एमाले नै पहिलो प्राथमिकता रहने स्पष्ट पारे ।
कार्यक्रममा नेकपा एमालेका नेता शेर बहादुर तामाङले प्रदेश सरकारमा देखिएका हालका समस्याहरू कांग्रेसभित्रको आन्तरिक विवाद र किचलोका कारण सिर्जना भएको आरोप लगाए ।
अहिलेको मुख्य प्राथमिकता वर्तमान सरकारलाई नै जोगाउनु र निरन्तरता दिनु रहेको भन्दै उनले प्रदेशको सरकार जोगिन नसके एमाले निरन्तर सरकारमा नरहने स्पष्ट पारे ।
उनले प्रदेश सरकारमा देखिएको समस्या सहमतिबाट छिट्टै समाधान हुने अपेक्षा गरे ।












प्रतिक्रिया