काठमाडौं- हिन्द महासागरमा चीनको बढ्दो सैन्य उपस्थितिलाई मध्यनजर गर्दै भारत र जापानले समुद्री मार्गको सुरक्षाका लागि संयुक्त रूपमा सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । जापानका रक्षामन्त्री शिन्जिरो कोइजुमी र भारतका रक्षामन्त्री राजनाथ सिंहबीच नयाँदिल्लीमा भएको द्विपक्षीय भेटका क्रममा समुद्री सुरक्षा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएपछि यो प्रतिबद्धता आएको हो ।
संयुक्त विज्ञप्तिअनुसार दुवै देशले नौसेनाका जहाज तथा टुकडीहरूको एक-अर्काको देशमा हुने पारस्परिक भ्रमण बढाउने, संयुक्त अभ्यासहरू सञ्चालन गर्ने र एक-अर्काका बन्दरगाह तथा मर्मत सम्भार सुविधाहरूमा पहुँच विस्तार गर्ने निर्णय गरेका छन्। साथै, उनीहरूले समुद्री आवागमनको स्वतन्त्रतामा बाधा पुर्याउने वा बल प्रयोग गरेर यथास्थिति परिवर्तन गर्ने कुनै पनि प्रयासको विरोध समेत गरेका छन्।
हिन्द महासागरमा चीनको नौसैनिक परिचालन, पनडुब्बी गतिविधि र समुद्री निगरानीमा आएको तिब्र वृद्धिलाई लिएर सुरक्षा चासो बढिरहेका बेला यो साझेदारीलाई रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ। बेइजिङले भने आफ्नो उपस्थिति समुद्री व्यापारको सुरक्षा, जलदस्यु नियन्त्रण र सामुद्रिक सुरक्षाका लागि मात्र केन्द्रित रहेको दाबी गर्दै आएको छ।
यस समझदारी अन्तर्गत दुवै देशले जहाज मर्मत सम्भारसम्बन्धी सम्झौतालाई अन्तिम रूप दिन र जापानको प्राविधिक सीप तथा भारतको उत्पादन क्षमतालाई सदुपयोग गर्दै संयुक्त जहाज निर्माणका सम्भावनाहरू खोजी गर्न सहमति जनाएका छन्।
यसका साथै, दुई मन्त्रीहरूबीच गुप्तचर जानकारी, सैन्य उपकरण र प्रविधिमा सहकार्यका क्षेत्रहरू पहिचान गर्न एक विशेष कार्यदल गठन गर्ने सहमति पनि भएको छ।












प्रतिक्रिया