काठमाडौं– सिद्धार्थ मल्होत्रा र तमन्ना भाटिया अभिनित बहुप्रतीक्षित फिल्म ‘द भ्वानः फोर्स अफ द फरेस्ट’ प्रदर्शनमा आउनुअघि नै विवादमा तानिएको छ ।
फिल्मको ट्रेलर सार्वजनिक भएपछि गायक तथा संगीतकार सरगम वैशले निर्माण पक्षमाथि आफ्नो गीत अनुमति नलिई प्रयोग गरेको आरोप लगाएपछि फिल्म चर्चामा आएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार सरगमले ट्रेलरमा प्रयोग गरिएको ‘ऐगिरी नन्दिनी’ आफ्नो सिर्जना रहेको र यसमा आफूले लामो समयदेखि काम गर्दै आएको दाबी गरेका छन् । उनका अनुसार फिल्मको ट्रेलरमा आफ्नो गीतको मास्टर फाइल र भोकल्ससमेत प्रयोग गरिएको छ ।
सरगमले निर्माण पक्षसँग गीत प्रयोग गर्न आफूले कुनै अनुमति नदिएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले ट्रेलरबाट गीत हटाउन आग्रह गर्दै आफ्नो माग सम्बोधन नभए कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएका छन् ।
तर, सरगमको आरोपबारे फिल्मका निर्माता वा निर्माण पक्षले भने अहिलेसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन्। त्यसैले गीत प्रयोगसम्बन्धी विवादमा निर्माण पक्षको धारणा आउन बाँकी छ ।
‘द भ्वानः फोर्स अफ द फरेस्ट’ असोज ९ अर्थात् सेप्टेम्बर २५ मा प्रदर्शन हुँदैछ । दीपककुमार मिश्रको निर्देशनमा बनेको फिल्ममा सिद्धार्थ र तमन्नासँगै सुनील ग्रोवर, मनीष पल, श्वेता तिवारी र अनुप सोनीलगायत कलाकारको अभिनय छ ।













प्रतिक्रिया