न्यूयोर्क- फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेन–रुस द्वन्द्व र लाल सागरको अवस्थाबारे रचनात्मक छलफल भएको बताएका छन् । न्युयोर्कमा भेटवार्तापछि उनले यी विषय विश्व शान्ति र सुरक्षाका लागि महत्त्वपूर्ण रहेको बताए ।
म्याक्रोनका अनुसार युक्रेनलाई क्षेप्यास्त्र रोक्ने प्रणालीलगायत रक्षात्मक हतियार शीघ्र र प्रभावकारी रूपमा उपलब्ध गराउने विषयमा दुई नेताबीच छलफल भएको थियो । “यो रक्षात्मक उपाय हो”, उनले भने । लाल सागरको अवस्थाबारे पनि छलफल भएको बताउँदै म्याक्रोनले उक्त क्षेत्र विश्वव्यापी व्यापार र मूल्यका लागि महत्त्वपूर्ण रहेको उल्लेख गरे ।
उनले ट्रम्पसँगको वार्ता ‘धेरै राम्रो र रचनात्मक’ भएको बताए । हर्मुजको जलघाँटीमा अवरोध उत्पन्न भएपछि लाल सागर प्रमुख तेल ढुवानी मार्ग बनेको भए पनि यमनका हुथी विद्रोहीका गतिविधिका कारण बाब अल–मन्दब जलघाँटी हुँदै हुने ढुवानी प्रभावित हुँदै आएको छ ।
म्याक्रोनले क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीसँग पनि भेटवार्ता गरेका थिए । अमेरिका–क्यानाडा व्यापार विवादका कारण दुवै देशले एकअर्काका सामानमा भन्सार शुल्क लगाउँदै आएका छन् । म्याक्रोनले संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।













प्रतिक्रिया