काठमाडौं– यस वर्षको एल निनो हालसम्मकै शक्तिशाली बन्न सक्ने अनुमानसँगै एसियाका विभिन्न क्षेत्रमा खडेरी, पानीको अभाव र डढेलोको जोखिम बढेको छ ।
यसको असर धान, पाम तेल र माछालगायत खाद्य उत्पादनमा परे विश्व बजारमा खाद्यान्नको मूल्य थप बढ्न सक्ने चेतावनी दिइएको छ ।
एल निनो प्रशान्त महासागरको समुद्री सतहको तापक्रम सामान्यभन्दा बढी हुने प्राकृतिक जलवायु चक्र हो । यसले विश्वका विभिन्न क्षेत्रमा खडेरी, उष्ण लहर, बाढीलगायत चरम मौसमी घटना निम्त्याउने गर्छ । यस वर्ष एल निनो डिसेम्बरमा उत्कर्षमा पुग्ने र यसको प्रभाव सन् २०२७ सम्म रहन सक्ने अनुमान गरिएको छ ।
विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का अनुसार एल निनोका कारण सन् २०२७ को अन्त्यसम्म कम्तीमा चार करोड ९० लाख मानिस थप गम्भीर खाद्य असुरक्षामा पर्न सक्छन् । मध्य अमेरिका, दक्षिणी अफ्रिका, पूर्वी अफ्रिका तथा दक्षिण र दक्षिणपूर्वी एसियाका विभिन्न क्षेत्र बढी प्रभावित हुन सक्ने चेतावनी दिइएको छ ।
अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन (नोआए) ले सन् १९५० यता अभिलेख राख्न थालिएपछि यसपटककै शक्तिशाली एल निनो बन्ने सम्भावना ६९ प्रतिशत रहेको जनाएको छ ।
दक्षिणपूर्वी एसियामा एल निनोको प्रभाव देखिन थालिसकेको छ । इन्डोनेसियाका जङ्गल तथा पिटभूमिमा डढेलो फैलिएको छ भने राजधानी जकार्तामा पानी आपूर्ति गर्ने जलाशयको सतह घटेको छ । यससँगै माछा उत्पादनमा समेत असर परेको बताइएको छ ।
इन्डोनेसियाको मौसम तथा वातावरण अनुसन्धान केन्द्रकी एर्मा युलिहास्टिनले एल निनोले ‘अत्यधिक प्रभावको चरण’ सुरु गरेको बताउनुभएको छ ।
मेकोङ नदीमा पानीको बहाव घट्दा माछा मार्ने तथा खेतीपातीमा निर्भर समुदाय थप समस्यामा परेका छन् । कम वर्षा र बढ्दो तापक्रमले दक्षिणपूर्वी एसियाको महत्त्वपूर्ण प्रोटिन स्रोतका रूपमा रहेको माछा उत्पादनमा दबाब बढाएको छ ।
नेभाडा विश्वविद्यालयका अनुसन्धानकर्ता जेब होगनले जलवायुजन्य प्रभावलाई ‘एकपछि अर्को मुक्का’ जस्तो भएको बताए ।
धान उत्पादनमा कमी आए त्यसको असर विश्व खाद्य बजारमा समेत पर्न सक्छ । भारत, भियतनाम र थाइल्यान्ड विश्वका प्रमुख चामल निर्यातक मुलुक हुन् र यी देश एल निनोबाट प्रभावित हुने अनुमान गरिएको छ । त्यस्तै, इन्डोनेसिया र मलेसियामा पाम तेल उत्पादनसमेत जोखिममा परेको छ । यी दुई मुलुकले विश्वको करिब ८५ प्रतिशत पाम तेल आपूर्ति गर्छन् ।
एसियाली मुलुकहरू यसअघि नै युद्धका कारण बढेको इन्धन तथा मलको मूल्य र आपूर्ति समस्यासँग जुधिरहेका बेला एल निनोले थप दबाब सिर्जना गर्ने देखिएको छ । एचएसबीसी ग्लोबल इन्भेस्टमेन्ट रिसर्चका अनुसार विगतका शक्तिशाली एल निनोबाट खर्बौं डलर बराबरको आर्थिक क्षति भएको थियो ।
गोल्डम्यान स्याक्सका विश्लेषकहरूले यसपटक विश्वव्यापी खाद्य वस्तुको मूल्य १५ प्रतिशतभन्दा बढी बढ्न सक्ने अनुमान गरेका छन् ।
संयुक्त राष्ट्रसङ्घीय अधिकारी करेफ रफिसुराले कृषि उत्पादनमा कमी आए गरिबीको रेखामुनि रहेका मानिस थप प्रभावित हुन सक्ने बताए । उनका अनुसार दक्षिणपूर्वी एसियाली मुलुकहरूले आफ्नो खाद्य उत्पादन जोगाउन सक्ने क्षमताले क्षेत्रीय मात्र नभई विश्व खाद्य बजारमा समेत प्रभाव पार्नेछ ।













प्रतिक्रिया