काठमाडौं- नेपाल सरकारले हालै जापानका लागि नेपाली राजदूतमा सिफारिस गरेका जिज्ञानकुमार थापा विवादमा तानिएका छन् । सरकारको आफ्नै राजदूत नियुक्तिसम्बन्धी कार्यविधि र मापदण्ड विपरीत अर्को देशको स्थायी बसोबास अनुमतिपत्र लिइसकेका थापालाई राजदूतमा सिफारिस गरिएको तथ्य बाहिरिएपछि नयाँ विवाद सतहमा आएको छ ।
जापानको प्रतिष्ठित अखबार द माइनिचीको अनलाइन संस्करणमा एक वर्षअघि प्रकाशित रिपोर्टमा थापामाथि गम्भीर आरोप लगाइएको छ । जापानी मिडियाको रिपोर्ट अनुसार २५ वर्षभन्दा बढी समयदेखि जापानमा बस्दै आएका थापाले जापानी नागरिकसरह नै त्यहाँ कर र सामाजिक सुरक्षा बीमा तिर्दै आएका छन् ।
समाचारमा उनीसँग जापानको स्थायी बसोबास अनुमतिपत्र समेत रहेको दाबी गरिएको छ । विदेशको पीआर वा स्थायी बसोबास अनुमति भएका व्यक्तिलाई राजदूत बनाउन नमिल्ने प्रष्ट व्यवस्था हुँदाहुँदै सरकारले थापालाई राजदूत सिफारिस गरेपछि चौतर्फी आलोचना सुरु भएको छ ।
थापामाथि लागेको आरोप यत्तिमै सीमित भने छैन । माइनिचीको समाचार अनुसार थापा जापानमा नेपाली ढाकाटोपी लगाएर रेलमा हिँड्ने क्रममा जापानी नागरिकहरूले आक्रोश पोखेका थिए । सो क्रममा एक जापानी युवाले उनलाई ‘यो जापान हो, यहाँ आफ्नो विदेशी संस्कृति नभित्र्याऊ र जापानको नियममा बस’ भन्दै आक्रोश पोखेका थिए ।
घटनापछि उनी रेलबाट भागेको दाबी गरिएको छ । उक्त घटनापछि सामाजिक सञ्जालमा उनको पोस्टमा हजारौँ जापानीहरूले ‘विदेशीले नियम नमान्दा यस्तो परिणाम भोग्नुपर्छ’ भन्दै थापालाई आफ्नै देश जान सुझाएका थिए । उनीमाथि जापानमा विदेशी संस्कृति जबर्जस्ती भित्र्याउन खोजेको र जापानी समुदायमा नकारात्मक सन्देश फैलाएको आरोप लागेको छ ।
यसरी एकातिर सम्बन्धित देशकै नागरिकको तारो बनेका र अर्कोतिर विदेशी मुलुकको स्थायी बसोबास अनुमति लिएका थापालाई कुन स्वार्थमा नेपालको राजदूत बनाएर पठाउन लागियो भन्दै प्रश्न उठ्न थालेको छ ।
वालेन्द्र शाह नेतृत्वको सरकारले गत भदौ २ गते शुक्रबार मन्त्रिपरिषद्को बैठकमार्फत् थापासहित १३ जनालाई विभिन्न राष्ट्रका लागि राजदूतमा सिफारिस गरेको थियो ।
जापानका लागि राजदूतमा सिफारि भएका थापा ललितपुरको धापाखेलमा जन्मिएका हुन् । उनी सन् २००० मा उच्च शिक्षा अध्ययनका लागि जापान पुगेका थिए । त्यसपछि उनी त्यतै बसे ।
थापाले अन्तर्राष्ट्रिय सहयोगमा स्नातक तथा अन्तर्राष्ट्रिय सम्बन्ध र कानूनमा स्नातकोत्तर अध्ययन गरेर जापानमै बस्दै आएका थिए । थापाले आफूलाई जापानी प्रशासन, स्थानीय निकाय, शैक्षिक संस्था तथा जापानस्थित नेपाली समुदायसँग काम गरेको बताउने गरेका छन्।
थापा यसअघि नेपालका राष्ट्रपति, परराष्ट्रमन्त्री तथा अन्य उच्च सरकारी अधिकारीहरूको जापान भ्रमणका क्रममा स्वागतमा अग्रस्थानमा देखिन्थे । उनी नेपाल-जापान उच्चस्तरीय भेटवार्ता र औपचारिक कार्यक्रममा संलग्न हुन्थे ।
थापाले करिब एक दशक टोक्यो एमएक्स टीभीमा नेपाल–जापान सम्बन्ध तथा अन्तर्राष्ट्रिय विषयमा समाचार विश्लेषकका रूपमा काम गरेको बताउँदै आएका छन्। उनले आफूलाई जापानको सार्वजनिक प्रसारक एनएचके लगायतका सञ्चारमाध्यममा नेपाल, जापान तथा अन्तर्राष्ट्रिय विषयमा आफ्ना धारणा प्रस्तुत गरेको बताउने गरेका छन् ।













प्रतिक्रिया