काठमाडौं- विश्व आर्थिक मञ्च (डब्लूईएफ) को ग्लोबल जेन्डर ग्याप इन्डेक्स २०२६ मा बंगलादेश ५५ स्थान तल झर्दै ७९ औँ स्थानमा पुगेको छ। यो यस वर्ष अध्ययन गरिएका १४५ वटा अर्थतन्त्रहरूमध्ये सबैभन्दा ठूलो गिरावट हो । गत वर्ष २०२५ मा बंगलादेश ७५ स्थानले उक्लिदै २४ औँ स्थानमा पुगेको थियो।
हिजो सार्वजनिक गरिएको यस प्रतिवेदनअनुसार बंगलादेशले आफ्नो लैङ्गिक अन्तरालको ७१.२ प्रतिशत हिस्सा मात्र पूर्ति गर्न सकेको छ, जुन गत वर्षको ७७.५ प्रतिशतभन्दा ६.२ प्रतिशत बिन्दुले कम हो। राजनीतिक सशक्तिकरणमा आएको २१.२ प्रतिशत बिन्दुको ठूलो गिरावटले समग्र प्रदर्शन कमजोर बन्न पुगेको छ। सेन्टर फर पोलिसी डाइलग (सिपिडी) की विशिष्ट सहकर्मी डा. फहमिया खातुनका अनुसार प्रत्यक्ष निर्वाचित सांसद र मन्त्रीहरूको मन्त्रिपरिषद्मा महिला सहभागिता घटेका कारण राजनीतिक सशक्तिकरणको सूचकमा असर परेको हो।
विगतका वर्षहरूमा महिला प्रधानमन्त्री, संसदको सभामुख र प्रत्यक्ष निर्वाचित सांसदहरूको रूपमा बलियो उपस्थिति रहे पनि हालैका तथ्यांकमा राजनीतिक सहभागिता घटेको पाइएको छ। यद्यपि, सन् २०१४ मा श्रीलंकालाई पछि पारेदेखि कायम राखेको दक्षिण एसियाली देशहरूमा पहिलो स्थान भने बंगलादेशले यसपटक पनि जोगाउन सफल भएको छ।
प्राथमिक तथा माध्यमिक शिक्षामा लैङ्गिक समानता र मातृ तथा बाल मृत्युदरमा आएको सुधारका कारण बंगलादेशले यो स्थान कायम राखेको हो। यद्यपि, आर्थिक सहभागिता र अवसरको क्षेत्र अझै पनि कमजोर रहेको छ भने स्वास्थ्य र शिक्षाको क्षेत्रमा प्रगति देखिएको छ। विश्वभरको तुलनामा आइसल्याण्ड लगातार १७ औँ वर्षसम्म लैङ्गिक समानताको सूचीमा पहिलो स्थानमा कायम रहेको छ।














प्रतिक्रिया