काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) विराटनगर किङ्सबाट खेल्ने भएका छन् । विराटनगर किङ्ग्समा उनलाई स्वागत गर्दै उनी एक अनुभवी, उत्कृष्ट र शालीन खेलाडी भएको उल्लेख गरेको छ ।
म्याथ्युज अन्तरराष्ट्रिय क्रिकेटमा लामो अनुभव बटुलेका अनुभवी खेलाडी हुन् । श्रीलङ्काको टेस्ट तथा एकदिवसीय टोलीको कप्तानी सम्हालिसकेका ३९ वर्षीय म्याथ्युजले लामो समय राष्ट्रिय टोलीमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
उनले आफ्नो अन्तरराष्ट्रिय करिअरमा टेष्टमा ११९ खेलमा आठ हजार २१४, एकदिवसीयमा २२६ खेलमा पाँच हजार ९१६ र ९० टी–२० अन्तरराष्ट्रिय खेलमा एक हजार ४१६ रन बनाएका छन् ।
बलिङतर्फ उनले टेष्टमा ३३, एकदिवसीयमा १२६ र टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा ४५ विकेट लिएका छन् । म्याथ्युजले इण्डियन प्रिमियर लिग ९आइपिएल० र लङ्का प्रिमियर लिग (एलपिएल) पनि खेलिसकेका छन् ।
यस्तै, दक्षिण अफ्रिकीमूलका अमेरिकन अलराउन्डर शेड्ली भान स्काल्कविकले लुम्बिनी लायन्सबाट एनपिएल खेल्ने भएका छन् । लुम्बिनीले आज सामाजिक सञ्जालमार्फत उनलाई टोलीमा अनुबन्ध गरेको जनाएको हो ।
शेड्लीले हालसम्म १३ एकदिवसीय खेल र १८ टी–२० अन्तरराष्ट्रिय खेल खेलेका छन् । उनले क्यारेबियन प्रिमियर लिग (सिपिएल), लङ्का प्रिमियर लिग (एलपिएल), आईएल टी–२० जस्ता प्रतिष्ठित लिगमा प्रतिस्पर्धा गरिसकेका छन् । तेस्रो संस्करणको एनपिएल यही कात्तिक ९ गतेदेखि काठमाडौँमा आयोजना हुँदैछ ।














प्रतिक्रिया