फागुन २१ गते निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलाग्नु : निर्वाचन आयुक्त भण्डारी « Khabarhub

फागुन २१ गते निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलाग्नु : निर्वाचन आयुक्त भण्डारी


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केही व्यक्तिहरूले अहिले पनि फागुन २१ गते निर्वाचन हुँदैन भनी हल्ला गरिरहेकाले त्यस्ता गलत सूचनाको पछि नलाग्न सबैलाई आग्रह गरेका छन् ।

गोरखपत्र संस्थानले आइतबार आयोजना गरेको निर्वाचन प्रचारप्रसारसम्बन्धी अभिमुखीकरण कार्यक्रमको उद्घाटन समारोहमा उनले केही कुण्ठित व्यक्तिहरूले अहिले पनि निर्वाचन हुँदैन भनी हल्ला गरिरहेकाले त्यस्ता गलत सूचनाको पछि नलाग्न आग्रह गरे । 

उनले तोकिएको मिति र समयमा निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आह्वान गरे । सञ्चारकर्मीले निष्ठापूर्वक भूमिका निर्वाह गरिरहेकाले निर्वाचन हुने वातावरण बनेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताए । 

‘सुशासनका लागि पनि निर्वाचन हुनुपर्छ, निर्वाचनले पाँच वर्षसम्म सुशासन कायम गर्ने अख्तियारी दिनेछ । निर्वाचन आचारसंहिता लागू भइरहेको छ, आचारसंहिता उल्लङ्घन भयो, भनी धेरै उजुरी आएका छन्, त्यसमा छानबिन गरेर निर्णयमा पुग्छौँ । सूचना सम्प्रेषण पनि आचारसंहिताभित्र बसेर गर्नुपर्छ, आचारसंहिता अनुसार मत सर्वेक्षण गर्न पाइँदैन, मत सर्वेक्षणका नाममा निर्वाचनअघि यसले जित्छ र उसले हार्छ भनेर लेख्दा जित्नेले हार्ने र हार्नेले जित्ने अवस्था आउने देखिएकाले यसो गर्नुहुँदैन’, उनले भने ।

प्रतिष्ठित व्यक्ति स्वयं संविधानको धारा १९ ले अधिकार दिएको भन्दै मत सर्वेक्षणमा लागेकाले सर्वोच्च अदालतबाट यसअघि यस्तै विषयमा भएको व्याख्या र विश्लेषण हेर्न पनि कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले ध्यानाकर्षण गराए । निर्वाचन पर्यवेक्षकले गर्ने पर्यवेक्षणका विषयमा पनि समाचार सङ्कलन गर्न उनले सञ्चारकर्मीलाई आह्वान गरे । 
 
फागुन २१ गते हुन लागेको निर्वाचन शताब्दीकै पेचिलो भए पनि यसलाई आयोगले सहज रूपमा सम्पन्न गर्न लागेको उनले जानकारी दिए । चलायमान अवस्थाबाट भाँडिएको देशलाई पुनः चलायमान बनाउन पनि निर्वाचन आवश्यक रहेकामा उनले जोड दिए । 

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले सबै नागरिक मतदानका लागि जाने र यसअघिको निर्वाचनमा भन्दा बढी प्रतिशत मतदान हुने गरी सञ्चारमाध्यमले मतदाता शिक्षा दिइरहेकाले त्यसलाई अबको एक हप्ता तीव्र बनाइनुपर्नेमा जोड दिए । 

विसं २०७९ को निर्वाचनमा भन्दा बढी प्रतिशत मतदान भयो भने सफल भएको मानिने उनको भनाइ छ । गोरखापत्रले ४६ भाषामा समाचार सामग्री प्रकाशन गरिरहेकाले ती सबै भाषामा निर्वाचनसम्बन्धी मतदाता शिक्षाका सामग्री राख्नुपर्नेमा पनि प्रवक्ता भट्टराईले जोड दिए । 

गोरखापत्र संस्थानका अध्यक्ष गोविन्दप्रसाद भण्डारीले निर्वाचन र मतदाता शिक्षासम्बन्धी जानकारी निर्वाचन आयोगले निर्वाचनका बेलामात्र दिने नभई यो विषयलाई विद्यालय तहको पाठ्यपुस्तकमा पाठ्यसामग्रीका रूपमा राखिनुपर्नेमा जोड दिए । आमसञ्चारमाध्यमले गर्ने शिक्षा, सूचना, सन्देश र मनोरञ्जनका काममा निर्वाचन एवं मतदाता शिक्षा पनि पर्ने भएकाले त्यसै अनुसार काम गरिनुपर्ने उनले बताए । 

संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले निर्वाचन, सुशासन र लोकतन्त्रलाई प्राथमिकतामा राखेर १०० दिनअघिदेखि गोरखापत्रले काम सुरु गरेको जानकारी दिए । अभिमुखीकरणमा संस्थानका सबै प्रकाशनमा कार्यरत सम्पादक, समाचारदाता, भाषा सम्पादक, भाषाभाषी पृष्ठका संयोजक र सहसंयोजक, प्रदेश संयोजकलगायत सहभागी भएका उनले जानकारी दिए ।

अभिमुखीकरणमा आयोगका सहसचिव राजेन्द्रकुमार केसीले निर्वाचन प्रचारप्रसार मतदाता शिक्षासम्बन्धी प्रस्तुतीकरण दिएका थिए । बढी साक्षर भएको प्रदेशमा मत सदर प्रतिशत बढी हुने गरेको र कम साक्षरता प्रतिशत भएका प्रदेशमा मत बदर बढी हुने गरेकाले यसतर्फ सरोकार भएका निकायले बेलैमा ध्यान दिनुपर्ने उनले उल्लेख गरे । रासस
 

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ४ : ४९ बजे

सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

भैरहवा– बिहानको शान्त वातावरणमा लुम्बिनी आसपासका सिमसार क्षेत्रमा कहिलेकाँही सुनिने

शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौं– काठमाडौँ महानगरपालिका-­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा

काठमाडौंको वायु गुणस्तरमा सुधार, हल्चोकबाट यस्तो देखियो उपत्यका (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको वायु गुणस्तरमा सुधार भएको छ । केहीदिन अघिमात्र

ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले

भारतको एक अस्पतालमा आगलागी : दश जनाको मृत्यु

एजेन्सी– पूर्वी भारतको एससीबी अस्पतालको आईसीयूमा आगलागी हुँदा ट्रामा केयर