संगठन खारेजीविरुद्ध विद्यार्थी नेताको टिप्पणी- ‘रुघा लाग्दा सरकारले नाक नै काट्न खोज्यो’ « Khabarhub

संगठन खारेजीविरुद्ध विद्यार्थी नेताको टिप्पणी- ‘रुघा लाग्दा सरकारले नाक नै काट्न खोज्यो’



काठमाडौं- सोमबार प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालयका उपकुलपतिलाई सिंहदरबार बोलाएर विद्यार्थी र कर्मचारीका दलीय संगठन कुनै पनि हालतमा तत्काल हटाउन निर्देशन दिए । सरकारले हालै स्वीकृत गरेको कार्यसूचीको बुँदा नम्बर ८६ मा ‘विश्वविद्यालय हाताबाट दलीय विद्यार्थी संगठनका संरचना ६० दिनभित्र हटाइने र ९० दिनभित्र विद्यार्थी काउन्सिल वा भ्वाइस अफ स्टुडेन्ट संयन्त्रको विकास गर्न सकिने,’ उल्लेख गरिएको छ ।

त्यसका लागि स्थायी/अस्थायी सुरक्षा युनिट समेत खडा गर्न सकिने बताइएको छ । सरकारको उक्त निर्णय बाहिरिएलगत्तै विद्यार्थी संगठन र राजनीतिक दलहरुले चर्को आलोचना गर्दै आएका छन् । एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष दीपक धामी यस निर्णयले लोकतन्त्रको मर्म नै मासिने बताएका छन् । ‘लोकतन्त्रको मर्म नै मासिनेगरी सरकारले गरेको यो अधिनायकवाद निर्णयमा शशक्त प्रतिवाद गर्ने छौँ,’ अध्यक्ष धामीले खबरहबसँग भने ।

‘हामीले रचनात्मक आनदोलनमार्फत सरकारलाई निर्णय फिर्ता गर्न आग्रह गर्दा क्याम्पसमा प्रहरी राख्छु भनेर द्वन्द्व र मुठभेडको वातावरण सरकारले नै बनायो । हामी विद्यार्थी संगठन जोगाउन जुन हदसम्म पनि लड्छौँ,’ उनले भने । अनेरास्ववियुले सरकारको निर्णयलाई अलोकतान्त्रिक र शैक्षिक स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै सोमबार काठमाडौंका विभिन्न ठाउँमा राँके जुलुससहित विरोध कार्यक्रम आयोजना गरेको थियो ।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै निर्णय तत्काल फिर्ता लिन माग गरेका थिए । प्रहरीले भने निषेधित क्षेत्रमा जुलुस प्रवेश गर्न खोजेपछि अवस्थालाई नियन्त्रणमा लिन बल प्रयोग गर्दै आन्दोलनकारीलाई पक्राउ गरेको थियो । त्रिचन्द्र क्याम्पसका स्वतन्त्र विद्यार्थी संघका सभापति गोविन्द कोइरालाले भने, ‘सरकारको यो निर्णय एकतर्फी र लोकतान्त्रिक हित विपरित छ । अझ विद्यार्थीले ज्ञान आर्जन गर्ने ठाउँमा सुरक्षा युनिट खडा गर्नु र संगठन हटाउनु संविधानसँग बाझिने निर्णय हो ।’

सोही क्रममा उनले शिक्षाविद् केदारभक्त माथेमाले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिपदबाटै राजीनामा दिएको प्रसंग जोडे । ‘विश्वविद्यालयमाथि बाह्य हस्तक्षेप बढेको र प्राज्ञिक स्वायत्तता कमजोर बनाइएको भन्दै केदारभक्त माथेमाले पदबाटै राजीनामा दिएको नजीरले पनि विद्यार्थी संगठन कति महत्वपूर्ण छन बुझ्न सकिन्छ ।’ उनले भने । माथेमाले २०७३ असारमा त्रिभुवन विश्वविद्यालयको उपकुलपति तथा काठमाडौं विश्वविद्यालयको सिनेट सदस्य पदबाट २०७३ असारमा राजीनामा दिएका थिए ।

यस्तै, कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) अध्यक्ष दुजाङ शेर्पाले विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयबारे पार्टी नेतृत्वसँग धारणा माग गरेका छन् । नेविसंघको स्थापना दिवसमा चैत ७ गते उनले सामाजिक सञ्जालमार्फत यस्तो माग राखेका हुन् । ‘म पार्टी नेतृत्वलाई कलम र मसाल अंकित झण्डाको आन्दोलनलाई लिएर आज विद्यार्थी आन्दोलनमाथि प्रहार हुँदै गर्दा नेपाली कांग्रेस नेतृत्वले तत्काल धारणा सार्वजनिक गरेर सार्वभौम संसदमा सशक्त ढंगबाट यो विषयलाई उठान गर्न पनि म अनुरोध गर्न चाहन्छु,’ भिडियो सन्देशमा उनले भनेका छन् ।

विद्यार्थी संगठन खारेज भन्दापनि व्यवस्थापन, मर्यादीत र अनुशासित बनाउनुपर्ने नेविसंघका पूर्वमहामन्त्री युवराज पाण्डेय बताउँछन् । ‘विद्यार्थी हकहितका लागि विद्यार्थी संगठन बनेका हुन् । अहिलेको कन्टेक्स्टमा त्यसलाई कानुन निर्माण गरेर व्यवस्थापन तथा रिफर्म गर्न जरुरी छ । तर निषेध गर्ने निर्णय अलोकतान्त्रिक भयो,’ उनले भने । सरकारको निर्णयले युवा वर्गमा राजनीतिक चेत जगाउन समेत लगाम लगाउने उनको भनाइ छ ।

यस्तै, अखिल (क्रान्तिकारी) का उपाध्यक्ष नरेश रेग्मीले सरकारले असंवैधानिक निर्णय गरेकाले त्यसविरुद्ध प्रतिरोध गर्ने चेतावनी दिएका छन् । ‘रुघा लाग्यो भन्दैमा नाकै काटेर फाल्नु त भएन नि ! सरकारले त्यही गर्‍यो । संगठनले अवश्य बाटो बिराएका थिए, रिफर्म जरुरी थियो । त्यो भन्दैमा खारेज गर्ने भन्नु सरकार अराजक र निरङ्कुशतातर्फ गएको हो,’ उनले भने । यसविरुद्ध सुरवाती चरणमा सडकबाट शान्तिपूर्ण आन्दोलन गर्ने उनले उल्लेख गरे । सरकारले समयमै निर्णय नसच्याए आन्दोलनले जुनसुकै रुप लिनसक्ने उनको चेतावनी छ । ‘जेन–जी आन्दोलन पनि शान्तिपूर्ण रुपमा सुरु भएको थियो तर पछि अराजक बन्यो । सडकमा गएपछि त्यसले कस्तो रुप लिन्छ यसै भन्न सकिँदैन । सरकारले चेत पुर्‍याओस्,’ उनले चेतावनी दिए ।

योसँगै विगत केही वर्षदेखि शिथिल बनेका विद्यार्थी संगठनलाई सरकारले नै एजेण्डा दिएको उनको टिप्पणी छ । संयुक्त विद्यार्थी संगठनले आइतबार नेपाल ल क्याम्पसमा पूर्वविद्यार्थी नेता तथा सांसदहरूसँग छलफल गर्दै विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयको विरोध गरेका छन् । संगठनमा आबद्ध हुन पाउने अधिकार संविधानद्वारा प्रत्याभूत मौलिक अधिकार भएको उल्लेख गर्दै उनीहरुले यस्तो निर्णय लोकतान्त्रिक मूल्य र अन्तरााष्ट्रिय मानवअधिकार मापदण्डविपरीत भएको निष्कर्ष निकालेका थिए ।

संयुक्त विज्ञप्तिमा यस्तो कदमले युवाको राजनीतिक समाजीकरण प्रक्रियामा अवरोध सिर्जना गर्ने चेतावनी दिँदै सुधारका नाममा अभिव्यक्ति र संगठन स्वतन्त्रतामाथि बन्देज लगाउने निर्णयलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिएको छ । साथै, विद्यार्थी आन्दोलनका विकृति सुधार गर्दै सरकारसँग संवाद र सहकार्यमार्फत समाधान खोज्न आफूहरू सदैव प्रतिबद्ध रहेको जनाइएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  १० : ५५ बजे

दाङको खुमखानीमा खानेपानीको समस्या

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपलिका–४ स्थित विकट क्षेत्र खुमखानीमा खानेपानीको समस्या

बाँकेमा विपद् व्यवस्थापनमा अभ्यास

नेपालगञ्ज– बाँकेको नेपालगञ्जमा ‘फायर बाइक’देखि स्वयंसेवकसम्म विपद् व्यवस्थापनमा नयाँ अभ्यास गरिएको

सुदन किरातीले दिए प्रलोपाको साधारण सदस्यसमेतबाट राजीनामा

काठमाडौँ– प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता सुदन किरातीले पार्टीको

गर्मीमा सीजीको ‘मास्टरस्ट्रोक’ : ‘फ्रस्टलाइन’ कुलर लाइनअप सार्वजनिक

काठमाडौं– सिजीले गर्मीलाई लक्षित गरी ‘फ्रस्टलाइन’ बजारमा ल्याएको छ । कम्पनीले नयाँ

खानेपानी उपभोक्ता समितिलाई क्षमता विकास तालिम

काठमाडौं– राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि