काठमाडौं- नेपालका गृहमन्त्री सुधन गुरूङले बुधबार २६ दिनमै राजीनामा दिएको विषयले भारतीय सञ्चारमाध्यममा पनि चर्चा पाएको छ।
सरकारमा गएको २६ दिनमै बुधबार सुधनले पदबाट राजीनामा दिएको विषयले भारतीय सञ्चारमाध्यममा चर्चा पाएको हो ।
भारतीय चर्चित अनलाइनहरू आजतक, एबीपी न्यूजदेखि अन्य हिन्दी अनलाइनहरूले प्राथमिकताका साथ सुधनको राजीनामाबारे समाचार लेखेका छन् ।
गुरूङको २६ दिनमै राजीनामाबारे विभिन्न भारतीय मिडियाले फरक–फरक कोणबाट समाचार प्रकाशित गरेका छन्।
१) एबीपी न्यूज
भारतको चर्चित टेलिभिजिन एबीपी न्यूजको अनलाइन एबीपीन्यूज डटकमले सुधन गुरूङले आर्थिक सम्पत्तिसम्बन्धी विवादमा परेर राजीनामा दिएको जनाएको छ ।
एबीपी न्यूजले नेपालको आन्तरिक सुरक्षाको जिम्मा सम्हालेका सुधनले आर्थिक विवादमा परेर राजीनामा दिएको उल्लेख गरेको छ।
समाचारमा नेपालका प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारभित्र राजनीतिक दबाब र विवाद बढ्दै गएको दाबी पनि गरिएको छ। त्यहीकारण २६ दिनमै दुई मन्त्रीले राजीनामा दिइसकेको समाचार एबीपी न्यूजले लेखेको छ।
२) एनडीटीभी
भारतीय चर्चित टेलिभिजन एनडीटीभीको अनलाइन संस्करणले बालेन्द्र शाह नेतृत्वको सरकारमा भएको यस घटनालाई मुख्य विवाद अर्थात् ‘मेजर कन्ट्रोभर्सी’ भन्दै समाचार लेखेको छ।
एनडीटीभीको रिपोर्टमा सरकारभित्रको आन्तरिक संकट र राजनीतिक अस्थिरताले गृहमन्त्रीको राजीनामा निम्त्याएको उल्लेख गरिएको छ।
३) आजतक
आजतकले यो विषयलाई आफ्नो तीव्र गतिको अपडेटमा समेट्दै बालेन्द्र नेतृत्वको सरकारभित्रको संकट र उच्च राजनीतिक तनावको संकेतका रुपमा व्याख्या गरेको छ।
आजतकले यसबारेमा विस्तृत विश्लेषणभन्दा पनि छोटो अपडेट शैलीमा समाचार पस्किएको छ।
४) देशबन्धु
देशबन्धु अनलाइनले सुधन गुरूङले पद सम्हालेको २६ दिनमै राजीनामा दिएको विषयलाई प्रमुख शीर्षक बनाएर समाचार लेखेको छ।
देशबन्धु अनलाइनको समाचारमा राजीनामाको कारणबारे स्पष्टता नभए पनि राजनीतिक दबाब र विवादलाई संकेत गरिएको छ।
वन इन्डिया हिन्दीले वालेन्द्र नेतृत्वको सरकारभित्रको संकटलाई केन्द्रमा राख्दै समाचार लेखेको छ । उसले सुधनको राजीनामा आएको यो घटनालाई ‘पोलिटिकल क्राइसिस इन नेपाल’ भनेर व्याख्या गरेको छ।
उसले आफ्नो समाचारमा बालेन शाह नेतृत्वको सरकारमा आन्तरिक असन्तुलन देखिएको दाबी गरिएको छ।
बेनारस ग्लोबल टाइम्सले यो घटनालाई प्रधानमन्त्री बालेन शाहका लागि ‘सेट ब्याक’अर्थात् धक्का भनेर उल्लेख गरेको छ। गृहमन्त्री गुरुङको राजीनामाले सरकारको स्थायित्वबारे प्रश्न उठेको पनि टिप्पणी उक्त समाचारमा गरिएको छ।
इन्डिया टिभीले आफ्नो अनलाइन संस्करणको रिपोर्टमा गृमन्त्री गुरूङमाथि भ्रष्टाचार र वित्तीय सम्पत्तिसम्बन्धी विवाद उठेको उल्लेख गरेको छ।
इन्डिया टीभीको समाचारमा उनले नैतिकता र सार्वजनिक विश्वासलाई पदभन्दा माथि राख्दै राजीनामा दिएको भनिएको छ।
९) द हिन्दू
भारतीय चर्चित पत्रिका द हिन्दूको अनलाइन संस्करणले यो घटनालाई राजनीतिक पारदर्शिता र नैतिक जिम्मेवारीको दृष्टिकोणबाट प्रस्तुत गरेको छ।
समाचारले गुरूङको राजीनामालाई सार्वजनिक पदमा रहँदा निष्पक्ष अनुसन्धान सुनिश्चित गर्ने कदमका रूपमा व्याख्या गरेको छ।
१०) एएनआई
भारतीय एजेन्सी रिपोर्टहरू (एनएआईमार्फत् प्रसारित) समाचारमा गुरूङले आफ्नो शेयर लगानी र व्यवसायिक सम्बन्धबारे उठेका प्रश्नहरूलाई गम्भीर रूपमा लिएर राजीनामा दिएका उल्लेख छ ।
उनीमाथि मनी लाउन्डरिङ अनुसन्धानमा रहेका व्यापारी दीपक भट्टसँग सम्बन्ध राखेको आरोप पनि लागेको समाचारमा उल्लेख गरिएको छ।
तीन कारण
भारतीय सञ्चारमाध्यमहरूले यो घटनालाई मुख्य रूपमा तीन कोणबाट प्रस्तुत गरेका छन् । पहिलो, आर्थिक सम्पत्तिसम्बन्धी विवाद। दोस्रो, सरकारभित्रको राजनीतिक संकट । र, तेस्रो, प्रधानमन्त्री बालेन शाह नेतृत्वको अस्थिरता ।













प्रतिक्रिया