ऋण खोजेर सुरु गरेको तरकारीखेती बन्यो सोवितको पहिचान « Khabarhub

ऋण खोजेर सुरु गरेको तरकारीखेती बन्यो सोवितको पहिचान


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– तीस वर्षअघि साथमा रु एक सय नभएर तरकारीको बीउ किन्न नसकेका बेनी नगरपालिका–२ खबराका ५० वर्षीय सोवित शर्माको जीवनमा माटोसँगको मित्रताले नाम, दाम र पहिचान दिलाएको छ ।

‘ऋण खोजेर रु १५० को बीउ किनेर २०५२ साल असारमा धानको बदला बन्दा र काउली रोप्दा छिमेकीहरूले मति बिग्रिएको भने’, शर्मा सम्झन्छन्, ‘भदौमा प्रतिकिलो दुईमा पनि नबिकेको काउली बन्दा जमिनमै पुरेर त्यसैमा लगाएको सागले काउली बन्दाको समेत लगानी उठायो ।’

अन्नबालीबाट घर चलाउन सम्भव नभएपछि तीन रोपनी जमिनबाट सुरु गरेको तरकारीखेतीले आफ्नो र परिवारको आर्थिक हैसियतमा ठूलो सुधार ल्याएका शर्माले नाम र दाम कमाएका छन् । व्यावसायिक कृषि पेसाबाट सफलता पाएका औँलामा गन्न सकिने किसान भएको म्याग्दीमा शर्माको नाम अग्रपङ्तिमा आउँछ ।

आफू उद्यमी बन्नुका साथै अरू धेरैका लागि प्रेरणाको स्रोत बनेका शर्माले आफ्नै परिश्रम र मिहिनेतबाट मासिक एक लाख ५० हजार रुपैयाँ आम्दानी र करिब ५० हजार बचत गर्छन्। छोरीलाई हेल्थ असिस्टेन्ट पढाएर विदेश पठाएका र छोरालाई पोखरामा स्नाकोत्तर पढाइरहेका सापकोटाले तरकारी र केराखेतीबाट भएको कमाइले खबरामा पक्की घर बनाउनुका साथै पोखराको लेखनाथमा घडेरी किनेको बताए।

तरकारी बेचेर कमाएको दुई लाखबाट खबराको दारिम्पाटामा खरिद गरेको सात रोपनी पहिरोले पुरिएको पाखोलाई थप १६ लाख रुपैयाँ खर्चेर पहिरो पन्छाउने र चक्लाबन्दी गरे।

‘बारीको बीच भागमा चारवटा टनेल र खुला जमिनमा तरकारी तथा डिल र कुनामा केरा लगाएको छु’, शर्माले भने, ‘गड्यौलाबाट तयार पारेको ‘भर्मी कम्पोष्ट’ मल, रासायनिक विषादीको विकल्पमा गहुँत प्रयोग गरी प्राङ्गारिक विधिबाट खेती गरेको छु ।’

पाखोबारी अहिले हराभरा कृषि फार्म बनेको छ । परागशेचनका लागि १० घार मौरी पालेका शर्माले रोहोटे र खबरामा रहेको पुख्र्यौली ३८ रोपनी जमिनमा हजारी जातको केरा, कागती र डालेघाँसखेती गरेका छन् । शर्माले उत्पादन गर्ने केरा, गोलभेँडा, धनियाँ, खुर्सानी, साग, काँक्रो, सिमी, घिरौला, फर्सीलगायत मौसमी र बेमौसमी तरकारी सदरमुकाम बेनीबजार नजिकै भएकाले बिक्रीको समस्या छैन ।

सोवित तीन वर्षको हुँदा बुबा भवदत्तको छिमेकीको घरमा लागेको आगो निभाउने क्रममा जलेर निधन भयो । आमा सेतिले खेती किसानी गरेर दुई दिदी र बहिनीसँगै हुर्काएका सोवित पारिवारिक बाध्यताले १० कक्षामा पढ्दै गर्दा काम खोज्दै भारत पुगे।

केही वर्ष भारतको दिल्लीमा भौतारिँदा आफ्नो र घरको आर्थिक अवस्थामा सुधार हुन नसकेपछि गाउँ फर्किएका सोवितले धवलागिरि सामुदायिक स्रोत विकास केन्द्रबाट तालिम लिएपछि धानको विकल्पमा तरकारीखेती गर्न माटोसँग मितेरी गाँसे । धान रोप्न छाडेर तरकारीखेती गरेको सुनेर सोवितलाई घरमै भेट्न पुगेका तत्कालीन कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत हेम शर्मा तिवारीको प्राविधिक सल्लाह र सहयोगले उत्साह बढ्यो ।

श्रीमती देवी बिरामी भएर उपचार गराउँदा लागेको ऋण तिर्न र देशमा चर्किँदै गएको द्वन्द्वका कारण सप्रिँदै गरेको तरकारीखेती श्रीमती र आमालाई जिम्मा लगाएर २०६१ सालमा मलेसिया पुगेका शर्माले त्यहाँको इलेक्ट्रोनिक कम्पनीका मालिकबाट प्रभावित भएर चार वर्षपछि घर फर्किएर पुनः तरकारीखेतीमै जोडिए ।

‘मलेसियाको कमाइले ऋण तिरे । र, केही पैसा बचत पनि गरेँ’, शर्माले भने, ‘देशमा शान्ति प्रक्रिया सुरु भएकाले आमा र श्रीमतीले निरन्तरता दिएको तरकारीखेतीलाई थप व्यावसायिक बनाउने र उद्यम व्यवसाय गर्ने वातावरण भयो ।’

आफ्नो सफलताको पछाडि आमा, श्रीमती र छोराछोरीको राम्रो साथ रहेको सापकोटा बताउँछन्। दिन, साँझ र बिहान माटोसँगै खेलेर बिताउने उहाँको फार्ममा परिवारका सदस्यबाहेक अन्य तीन जनाले रोजगारी पाएका छन् । 

“पहिला गुजारा चलाउन गाह्रो थियो, दुईचार हजार आवश्यक पर्दा ऋण खोज्नुपर्ने अवस्था थियो”, सोवितकी श्रीमती देविले भने, ‘हामीलाई अहिले यो अवस्थामा ल्याएको तरकारीखेतीले हो ।’ विसं २०७२ मा तत्कालीन कृषि विकास कार्यालयबाट पहिलोपटक उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कार प्राप्त गरेका सोवितले कृषि मेलामा सहभागी भएर थुप्रै पुरस्कार पनि हात पारेका छन् ।

बेनी नगरपालिका, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, विभिन्न सङ्घसंस्थाबाट उनले तालिम र अनुदान सुविधा पनि पाएका छन् । आफ्नो व्यवसायसँगै कृषकसँग सम्बन्धित विभिन्न सङ्घसंस्था र समूहमा आबद्ध सापकोटा कृषकलाई जैविक खेती प्रविधि सिकाउन एकीकृत कृषक पाठशालाको सहजीकरण गर्न जिल्लाभरका किसानको करेसाबारीमा पुग्छन् ।

खबरामा व्यावसायिक तरकारीखेती सुरु गर्नेमा शर्मा र चन्द्रबहादुर घिमिरे हुन्। उनीहरूको मिहिनेत र सफलताबाट प्रभावित भएर खबराका धेरै किसान व्यावसायिक तरकारी र केराखेतीतर्फ आकर्षित भएका बेनी नगरपालिका–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताए ।

डेढ सय घरपरिवारको बसोबास रहेको खबराका करिब २५ जनाले व्यावसायिक तरकारीखेती गरेका छन् । पूरै गाउँको आयस्रोत केराखेती बनेको छ । उनीहरूले उत्पादन गरेको तरकारी र केरा बेनीबजारमा खपत हुन्छ ।

किसानले उत्पादन लागत पहिचान गर्न नसक्नु, कामदार र सिँचाइ अभाव व्यावसायिक कृषिका लागि मुख्य चुनौती भएको सापकोटाको अनुभव छ । पछिल्लो समय केराको गाना कालो र टुप्पोका पात पहेँलो हुँदै सुक्ने समस्या चुनौतीका रूपमा देखिएको छ । पाङ्गारिक विधिबाट तरकारीखेतीलाई निरन्तरता दिँदै नमूना कृषि फार्म बनाउने सापकोटाको योजना छ ।
 

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  ८ : ३० बजे

रास्वपाबाट निष्कासित भएपछि स्वर्णकारले भने- ‘मेरो राजनीतिक हत्या भयो’

बारा– राष्ट्रिय स्वतन्त्र पार्टीले बारा जिल्ला सभापति चन्दन स्वर्णकारको पार्टी

मधेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै

काठमाडौं– मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदै

ऋण खोजेर सुरु गरेको तरकारीखेती बन्यो सोवितको पहिचान

म्याग्दी– तीस वर्षअघि साथमा रु एक सय नभएर तरकारीको बीउ

लुम्बिनी प्रदेशसभा : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा आजदेखि सरकारको विनियोजन विधेयक २०८३ का सिद्धान्त

छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति

मुस्ताङ– छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदैछ । उपल्लो मुस्ताङ भ्रमण गर्न