कालाञ्जरमा खगोल अध्ययन केन्द्र सञ्चालनको तयारी « Khabarhub

कालाञ्जरमा खगोल अध्ययन केन्द्र सञ्चालनको तयारी


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

पर्वत– समुद्री सतहबाट तीन हजार ३०० मिटरको उचाइमा रहेको पर्वतको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल कालाञ्जर पहाडमा खगोल अध्ययन केन्द्र सञ्चालन गर्ने तयारी थालिएको छ । 

कालाञ्जर पहाड जिल्लाको सबैभन्दा उचाइमा रहेको स्थान भएकाले विज्ञान, प्रविधि तथा पर्यटन प्रवर्द्धनलाई एकसाथ जोड्ने उद्देश्यसहित जलजला गाउँपालिकाले खगोल अध्ययन केन्द्र स्थापना गर्न थालेको हो । 

खगोल विज्ञानसँग सम्बन्धित विज्ञ तथा इन्जिनियरको सहयोगमा आवश्यक अध्ययन, अनुसन्धान गरी अध्ययन केन्द्र स्थापना गर्न उपयुक्त स्थानका रूपमा पहिचान गरेर योजना अघि बढाइएको गाउँपालिकाले कार्यालयले जनाएको छ । 

एउटै स्थानबाट करिब एक दर्जन जिल्ला सदरमुकामको दृश्यावलोकन गर्न सकिने, नजिकबाट तारामण्डल र सौर्यमण्डल, ग्रह, उपग्रह, चन्द्रमालगायत आकाशीय पिण्डबारे अध्ययन, अवलोकन तथा जानकारी प्रदान गर्न सकिने भएकाले यो ठाउँ खगोल अध्ययन केन्द्र स्थापनाका लागि उयुक्त रहेको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए । 

उनका अनुसार पालिकाका जनप्रतिनिधि र विज्ञसहितको टोलीले भारतको नैनीतालस्थित खगोल अध्ययन केन्द्र अवलोकनपछि कालाञ्जरको योजना अघि बढाएको हो । 

केन्द्र स्थापनाका लागि योजना निर्माण गरी सङ्घीय सरकारको राष्ट्रिय योजना आयोग, तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)मा पेस गरिएको अध्यक्ष आचार्यले जानकारी दिए । आगामी आर्थिक वर्षको बजेटमा उक्त विषय समावेश भई बजेट विनियोजन भएमा शीघ्र काम अघि बढाइने उनले बताए । 

उक्त केन्द्र सञ्चालनमा आएपछि विद्यार्थी, अनुसन्धानकर्ता तथा आन्तरिक एवं बाह्य पर्यटकलाई ब्रह्माण्ड, ग्रह, नक्षत्र, तारापुञ्ज तथा आकाशीय घटनाबारे प्रत्यक्ष अवलोकन र अध्ययन गर्न सहज हुनेछ । कालाञ्जर क्षेत्रको भौगोलिक अवस्थिति, कम प्रकाश प्रदूषण तथा स्वच्छ आकाश खगोल अध्ययनका लागि उपयुक्त मानिएकाले केन्द्र स्थापना गर्न लागिएको अध्यक्ष आचार्यले जानकारी दिए । 

प्रारम्भिक चरणमा आधुनिक दूरबिन (टेलिस्कोप) जडान, खगोल अवलोकन प्लेटफर्म निर्माण तथा विज्ञानसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना बनाइएको छ । साथै विद्यालय तथा कलेजका विद्यार्थीलाई लक्षित गरी खगोल विज्ञानसम्बन्धी प्रशिक्षण, अन्तरक्रिया र अवलोकन कार्यक्रम सञ्चालन गरिने तयारी छ ।

स्थानीय टीका पुनका अनुसार केन्द्र सञ्चालनमा आएपछि कालाञ्जर, हम्पाल र जलजला क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास छ । धार्मिक तथा प्राकृतिक महत्व बोकेको कालाञ्जर अब विज्ञान पर्यटनको केन्द्रका रूपमा परिचित बन्नसक्ने उनको भनाइ छ ।

सरोकार भएका निकायका अनुसार केन्द्र स्थापनासम्बन्धी आवश्यक प्राविधिक अध्ययन, सम्भाव्यता मूल्याङ्कन तथा साझेदारीका विषयमा छलफल भइरहेको छ । 

प्रारम्भिक चरणमा आधुनिक टेलिस्कोप जडान, सौर्यमण्डलको संरचनासम्बन्धी प्रदर्शनी कक्ष निर्माण तथा विद्यार्थीलाई लक्षित विज्ञानसम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने विषयमा छलफल भइरहेको गाउँपालिकाका अध्यक्ष आचार्यले जानकारी दिए । 

सुरुआती चरणमा यहाँ पुग्ने अध्ययन, अनुसन्धानकर्ता र विद्यार्थीको आवासका लागि पालिकाले करिब रु एक करोड खर्च गरेर आवास निर्माण गरिसकेको छ भने हेलिप्याड, सडकमार्ग तयार भइसकेको जलजला गाउँपलिकाका उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए । 

यहाँ खगोल अध्ययन केन्द्र स्थापनापछि विद्यार्थीले पुस्तकमा मात्र पढ्ने ग्रह, तारा, चन्द्रमा, सूर्यलगायत विषयकाबारेमा प्रत्यक्ष अवलोकन गर्न पाउने भएकाले विज्ञानप्रतिको रुचि बढ्ने भएको छ भने खगोल तथा अन्तरिक्ष विज्ञानबारे अनुसन्धान र अध्ययन गर्ने वातावरण तयार हुने अपेक्षा गरिएको छ । 

विद्यालय तथा कलेजका विद्यार्थीलाई प्रयोगात्मक शिक्षामा सहयोग पुग्नुका साथै विज्ञान र प्रविधिप्रति युवापुस्ताको आकर्षण बढेर नयाँ आविष्कार र अनुसन्धानतर्फ प्रेरणा मिल्ने स्थानीय शिक्षक नारायण मल्लले जानकारी दिए । 

यसैगरी, कालाञ्जर क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्नुका साथै होटल, यातायात, स्थानीय व्यापार तथा रोजगारीका अवसर वृद्धि हुने अपेक्षा गाउँपालिकाले गरेको छ ।

धार्मिक र प्राकृतिक पर्यटनसँगै ‘विज्ञान पर्यटन’ का रूपमा नयाँ पहिचान स्थापित हुनसक्ने भएकाले गाउँपालिकाले यसलाई उच्च प्राथमिकतामा राखेको अध्यक्ष आचार्यले जानकारी दिए । 

कालाञ्जर, हम्पाल र जलजला क्षेत्रको एकीकृत विकासका लागि मोदी गाउँपालिका र जलजला गाउँपालिकाले प्रदेश तथा सङ्घीय सरकारसँगको सहकार्यमा करोडौँ लगानी गरिसकेका छन् । जलजलामा रहेको समथर भू-भागमा कृत्रिम ताल निर्माणको योजना अघि बढाइएको छ । रासस
 

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  २ : ३३ बजे

निर्मल पुर्जाको स्मृतिमा ठोस काम गर्ने मन्त्री महावीर पुनको प्रतिबद्धता

काठमाडौँ – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले दिवंगत पर्वतारोही

धार्मिक पर्यटकलाई लोभ्याउँदै मकवानपुरको ‘सिसमहल’

बागमती– मकवानपुरको हेटौँडा नगरपालिका वडा नम्बर ५ चिसापानी रङ्गपथस्थित श्री

प्रदेशको अस्थिर राजनीतिले बजेट कार्यान्वयनमा सधैँ समस्या

काठमाडौँ- नेपालले २०७२ मा संविधान जारी गर्दै सङ्घीय शासन प्रणाली

बालेनलाई बाबुरामले दिए चेतावनी- सबैलाई खुसी पार्न खोजे सरकार असफल हुन्छ

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवा बाहुल्य नयाँ सरकारलाई

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल .(इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष