‘क्यूआर–क्यूआर’ भन्दै उडाउनेहरूले श्रमदान गर्दैनन्, विकास पनि देख्दैनन् : हर्क साम्पाङ « Khabarhub

‘क्यूआर–क्यूआर’ भन्दै उडाउनेहरूले श्रमदान गर्दैनन्, विकास पनि देख्दैनन् : हर्क साम्पाङ


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

उर्लाबारी – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ले श्रमदान नगरी विदेशी विकासका मोडेलको उदाहरण दिनेहरू आफूलाई श्रमदाता भन्दै हिँड्ने, तर व्यवहारमा श्रम र उत्पादनभन्दा आलोचना तथा प्रचारमै केन्द्रित हुने गरेको टिप्पणी गरेका छन् ।

उनले आफूले सञ्चालन गरेका विकास अभियानहरू कुनै व्यक्ति वा संस्थासँग मागेर नभई देश–विदेशमा रहेका शुभेच्छुक नागरिकहरूको स्वस्फूर्त सहयोगबाट अघि बढेको दाबी गरे ।

मोरङको उर्लाबारीमा शुक्रबार आयोजित स्थानीय नागरिक, पार्टी कार्यकर्ता तथा श्रमदातासँगको भेटघाट कार्यक्रममा बोल्दै साम्पाङले आफू र आफ्ना अभियानलाई ‘क्यूआर–क्यूआर’ भन्दै उडाउनेहरूले श्रमको वास्तविक मूल्य नबुझेको बताए ।

‘श्रमदान नगर्ने, काम नगर्ने र विकासको परिणाम पनि नदेख्नेहरू सामाजिक सञ्जालमा बसेर आलोचना मात्र गर्छन्,’ उनले भने, ‘हामीले कसैको ढोका ढकढक्याएर पैसा मागेका छैनौँ। देश–विदेशका नेपालीहरूले विश्वास गरेर दिएको सहयोग र आफ्नै श्रमका आधारमा काम गरेका छौँ।’

उनले विकासका लागि सबैभन्दा ठूलो पूँजी श्रम नै भएको उल्लेख गर्दै भाषण, आश्वासन र राजनीतिक गफले देश परिवर्तन नहुने बताए । ‘देश नबन्नुको कारण कामको अभाव होइन, कामप्रतिको सोच हो,’ उनले भने, ‘हामीकहाँ श्रम गर्ने मानिसलाई तल देख्ने र काम नगरी भाषण गर्ने मानिसलाई माथि राख्ने प्रवृत्ति छ। यही सोच परिवर्तन नगरेसम्म देशले गति लिन सक्दैन ।’

साम्पाङले नेपालका अधिकांश राजनीतिक दलहरू विकासका नाममा भाषण र आश्वासन बाँड्नमै सीमित रहेको आरोप लगाए। वर्षौँदेखि विकासका नारा सुनाइए पनि जनताले अपेक्षा गरेअनुसार परिणाम नदेखिएको उनको भनाइ थियो।

‘सडक, खानेपानी, कृषि, उद्योग र रोजगारीका क्षेत्रमा अझै धेरै काम गर्न बाँकी छ,’ उनले भने, ‘हाम्रो पार्टीले गफ होइन, श्रमलाई प्राथमिकता दिएको छ। हामीले जे भन्छौँ, त्यसलाई व्यवहारमा पनि देखाउने प्रयास गरिरहेका छौँ ।’

उनले श्रम संस्कृति पार्टीको मूल दर्शन श्रमको सम्मान र उत्पादनमुखी समाज निर्माण रहेको उल्लेख गर्दै हरेक नागरिक कुनै न कुनै उत्पादनशील कार्यमा संलग्न हुनुपर्ने बताए। कृषिदेखि उद्योग, निर्माणदेखि वातावरण संरक्षणसम्मका क्षेत्रमा नागरिकको प्रत्यक्ष सहभागिता आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा बोल्दै साम्पाङले देशमा बढ्दो बेरोजगारी र युवापलायनप्रति पनि चिन्ता व्यक्त गरे। लाखौँ युवा रोजगारीका लागि विदेशिन बाध्य भएको उल्लेख गर्दै उनले देशभित्रै उत्पादन र उद्यमका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए ।

‘हाम्रा गाउँ र खेतबारी खाली हुँदै गएका छन्, युवा विदेश गइरहेका छन्,’ उनले भने, ‘श्रम गर्ने हात विदेश पुगेपछि देश कसरी बन्छ ? यदि हामीले आफ्नै भूमि, पानी, जंगल र स्रोतसाधनको सदुपयोग गर्न सक्यौँ भने यहीँ अवसर सिर्जना गर्न सकिन्छ ।’

उनले युवाहरूलाई श्रमप्रति सकारात्मक सोच विकास गर्न आग्रह गर्दै कामलाई सानो वा ठूलो भनेर विभाजन नगर्नुपर्ने बताए । कुनै पनि इमानदार श्रम सम्मानयोग्य हुने उनको भनाइ थियो ।

साम्पाङले विदेशी सहायता, ऋण र अनुदानमा निर्भर भएर दिगो विकास सम्भव नरहेको धारणा पनि राखे। नेपालसँग पर्याप्त प्राकृतिक स्रोत, श्रमशक्ति र सम्भावना रहेको उल्लेख गर्दै ती स्रोतको सही उपयोग गर्न सके देशलाई आत्मनिर्भर बनाउन सकिने बताए।

‘विदेशी आएर हाम्रो देश बनाइदिँदैनन्,’ उनले भने, ‘आफ्नो देश आफैँले बनाउने हो । त्यसका लागि सबैभन्दा ठूलो पूँजी भनेको हाम्रो श्रम हो ।’

भेटघाट कार्यक्रममा सहभागी स्थानीयवासीले श्रम संस्कृति पार्टीका नीति तथा कार्यक्रमबारे जिज्ञासा राखेका थिए । सो अवसरमा अध्यक्ष साम्पाङले पार्टीको आगामी योजना, श्रम अभियान तथा संगठन विस्तारका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा करिब २०० जना विभिन्न दल परित्याग गरी श्रम संस्कृति पार्टीमा प्रवेश गरेको पार्टीका उर्लाबारी नगर उपाध्यक्ष रबि मादेनले जानकारी दिए। नवप्रवेशीहरूलाई अध्यक्ष साम्पाङले स्वागत गरेका थिए ।

कार्यक्रमको अन्त्यमा उनले देश परिवर्तनका लागि सरकार वा नेतामात्र नभई प्रत्येक नागरिक जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै सबैलाई श्रममा जोडिन आह्वान गरे। ‘देश बदल्ने शक्ति जनताकै हातमा छ,’ उनले भने, ‘गफले होइन, श्रमले मात्रै मुलुक बन्छ।’

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  ८ : ५९ बजे

निर्मल पुर्जाको स्मृतिमा ठोस काम गर्ने मन्त्री महावीर पुनको प्रतिबद्धता

काठमाडौँ – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले दिवंगत पर्वतारोही

धार्मिक पर्यटकलाई लोभ्याउँदै मकवानपुरको ‘सिसमहल’

बागमती– मकवानपुरको हेटौँडा नगरपालिका वडा नम्बर ५ चिसापानी रङ्गपथस्थित श्री

प्रदेशको अस्थिर राजनीतिले बजेट कार्यान्वयनमा सधैँ समस्या

काठमाडौँ- नेपालले २०७२ मा संविधान जारी गर्दै सङ्घीय शासन प्रणाली

बालेनलाई बाबुरामले दिए चेतावनी- सबैलाई खुसी पार्न खोजे सरकार असफल हुन्छ

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवा बाहुल्य नयाँ सरकारलाई

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल .(इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष