झापामा लागूऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन « Khabarhub

झापामा लागूऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

झापा– पछिल्लो समय लागूऔषध सेवन र कारोबारमा संलग्न युवायुवतीको सङ्ख्या वृद्धि भएको छ । 

नेपालको पूर्वी जिल्ला झापामा पनि यो सामाजिक समस्याकै रुपमा अघि बढिरहेको छ । जिल्ला कारागार र प्रहरी हिरासतमा लागूऔषध सेवन र कारोबारमा संलग्न अभियुक्तको सङ्ख्या पनि ठूलो छ ।

अहिले झापा मात्रै लागूऔषधका सक्रिय प्रयोगकर्ता र ओसारपसारमा संलग्नको २० हजारभन्दा बढी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसुन्धरा खड्काले बताइन् । लागूऔषधका ओसारपसार र सेवन गरेको आरोपमा झापामा नौ सयभन्दा बढी व्यक्ति कारागार र हिरासतमा रहेको उनले जानकारी दिइन् ।

उनका अनुसार झापा कारागारमा रहेका कैदी ३७६ जना, पुर्पक्षका लागि थुनामा ३४० जना र अनुसन्धानको सिलसिलामा प्रहरी हिरासतमा २०८ जनाले लागूऔषधको बेचबिखन र ओसारपसार संलग्न भएको कसुर खेपिरहेका छन् ।

लागूऔषध दुर्व्यसनको उपचारका लागि जिल्लाका ४२ वटा सुधार केन्द्रमा एक हजार २६२ भन्दा बढी व्यक्ति भर्ना र प्रादेशिक अस्पताल भद्रपुरमा १३३ जना नियमित उपचारमा छन् । लागूऔषध सेवनकर्ताको यकिन तथ्याङ्क सार्वजनिक नभए पनि जिल्लामा १५ हजारभन्दा बढी  रहेको हुनसक्ने प्रहरीको अनुमान छ ।

वार्षिक तथ्याङ्कले झापामा लागूऔषधको घटना बढिरहेको देखाएको छ । लागूऔषधजन्य अभियोगमा आर्थिक वर्ष २०७८/०७९ मा २०० जना, २०७९/०८० मा २०६ जना, २०८०/०८१ मा २९७ जना, २०८१/०८२ मा ३४५ जना र चालु आव २०८२/०८३ को जेठसम्ममा ३५२ जना व्यक्ति पक्राउ परेका छन् ।

जिल्लामा लागूऔषधबाट सबैभन्दा बढी प्रभावित मेचीनगर नगरपालिका रहे तापनि भद्रपुर, बिर्तामोड र दमक पनि रहेको प्रहरीले जनाएको छ । चालु आव २०८२/०८३ को ११ महिनाको अवधिमा सबैभन्दा बढी अभियुक्त मेचीनगरमा पक्राउ परेको पाइएको छ । 

भारतबाट लागूऔषध लिएर नेपाल प्रवेश गरेको अवस्थामा मेचीनगरको सीमावर्ती क्षेत्रबाट ९२ जना, भद्रपुरबाट ७७, बिर्तामोडबाट ४५, दमकबाट ३२, अर्जुनधाराबाट १६, गौरीगंजबाट १३, कमलबाट सात, गौरादहबाट छ, बुद्धशान्तिबाट ५, कचनकवलबाट दुई र हल्दिवारीबाट एक जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

लागूऔषध प्रयोगको कारण समाजमा चोरी, डकैती, घरेलु हिंसा, आत्महत्या, दुर्घटना, मानसिक र शारीरिक रोग, पारिवारिक बिखण्डन, सामाजिक अस्थिरता र डरजस्ता समस्या बढेको प्रहरी उपरीक्षक खड्का बताउछिन् । झापामा प्रहरीले लागूऔषधको नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरेको छ । 

लागूऔषधको सेवन र कारोबारीको सङ्ख्या बढ्दै गएपछि स्थानीय तह र समुदायसँग मिलेर त्यसको प्रभावकारी नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको प्रहरी उपरीक्षक खड्काले बताएकी छन् । लागूऔषधसम्बन्धी समस्या न्यूनीकरण गर्न, आयात नियन्त्रण र क्षतिको न्यूनीकरण गर्ने योजनासहित प्रहरीले अभियानको पहिलो चरणमा विद्यालयमा सचेतनामूलक प्रचारप्रसार कार्यक्रम सञ्चालन गरिरहेको छ ।

दोस्रो चरणमा लागूऔषधविरुद्धको सचेतनामूलक कक्षा सञ्चालन गर्न १५० जनाभन्दा बढी शिक्षकलाई तालिम दिइने छ भने तेस्रो चरणमा प्रहरी र स्थानीय युवाबीच मैत्रीपूर्ण खेलकुद गरिनेछ । 

चौथो चरणमा ७१ वटा प्रहरी एकाइमार्फत समुदायस्तरीय लागूऔषध नियन्त्रण क्लब गठन गरिने भएको छ । रासस

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ११ : ३८ बजे

देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय

विराटनगर– कोशी प्रदेश सरकारले देवानगञ्ज घटनाका पीडित परिवारलाई राहत उपलब्ध गराउने

मधेशवादी दलका नेताले प्रधानमन्त्रीलाई सोधे : ताकेरै कम्मरमाथि गोली चलाउन कसले आदेश दियो ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार मधेसवादी दलहरूसँग छलफल गरेका छन्।

तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैङ्क

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका

अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न अन्तिम पटक १५ दिन थप, अब म्याद नथपिने

काठमाडौं– काठमाडौँ उपत्यकामा वर्षौंदेखि बिजुलीका खम्बामा गुजुल्टिएका, लत्रिएका तथा प्रयोगविहीन

ब्रोड पिक हिमपहिरो : चारवटा शव भेटिँदा एकजना नेपाली र ओमानी आरोहीको परिचय खुल्यो

काठमाडौं- पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा