काठमाडौं- बंगलादेशको राजधानी नजिकै साभार र आधुलिया क्षेत्रमा शृंखलाबद्ध रूपमा विस्फोटक पदार्थहरू फेला पर्न थालेपछि अतिवादी समूहहरूले फेरि टाउको उठाउने हुन् कि भन्ने गम्भीर चिन्ता उत्पन्न भएको छ । पछिल्लो दुई सातामा मात्रै दुई शक्तिशाली प्रेसर कुकर बम सहित कम्तीमा १६ वटा विस्फोटक पदार्थ बरामद भइसकेका छन्।
गत मंगलबार प्रहरीले गरेको छुट्टाछुट्टै कारवाहीका क्रममा १४ वटा बम र बम बनाउने सामग्रीका साथै साभारस्थित एक मदरसा र मस्जिद नजिक फेरि अर्को शक्तिशाली विस्फोटक उपकरण फेला पारेको छ। गएको डिसेम्बर २६ मा दक्षिण केरानिगन्जस्थित अल-कुरा मदरसामा भएको विष्फोटपछिका शृंखलाबद्ध घटनाहरूसँग यसको कनेक्सन रहेको अनुसन्धानकर्ताहरूको भनाइ छ।
नियो-जेएमबी समूहका सदस्यहरू यसमा संलग्न हुन सक्ने र उनीहरूले ठूला स्तरको हिंसात्मक अपराधको योजना बनाएको प्रहरीको आशंका छ । साभारकी प्रहरी उपरीक्षक शमिमा पर्भिनले यस क्षेत्रमा अतिवादीहरू सक्रिय रहेको र उनीहरूले ठूला तथा विनाशकारी बमहरू तयार पारेको सूचनाका आधारमा अपरेसन तीव्र पारिएको बताएकी छिन्।
यस क्रममा आरिफ हुसेनलाई पक्राउ गरिएको छ भने अन्य केही आरोपीहरू फरार रहेका छन्। अत्यधिक जनघनत्व, मजदुरहरूको बाक्लो बस्ती र आवागमनको सहजताका कारण साभार र आधुलिया क्षेत्र आपराधिक गतिविधि लुकाउन सहज स्थल बन्दै गएको सुरक्षा अधिकारी र अपराध विज्ञहरूको ठहर छ।
दुई दशकअघि सन् २००५ को देशव्यापी बम विष्फोटमा समेत जोडिएको यस क्षेत्रमा पछिल्लो पटक भेटिएका विस्फोटक पदार्थहरू छरिएका अतिवादी गतिविधि मात्र हुन् वा कुनै संगठित सञ्जालको पुनरुत्थानको संकेत हो भन्ने विषयले यतिबेला सुरक्षा निकायको ध्यान तानेको छ।












प्रतिक्रिया