काठमाडौं- विश्वभर नवीकरणीय ऊर्जाको रूपमा सौर्य ऊर्जाको विस्तार तीव्र गतिमा भइरहेको बेला यसले जैविक विविधतामा गम्भीर असर पार्न सक्ने एक अध्ययनले देखाएको छ । प्रतिष्ठित वैज्ञानिक जर्नल साइन्समा हालै प्रकाशित यस शोधले कार्बन उत्सर्जन घटाउने अभियान र प्रकृति संरक्षणबीचको सङ्घर्षलाई ‘हरित दुविधा’ को रूपमा औंल्याएको छ ।
चीनका दुई हजार तीन सयभन्दा बढी काउन्टीहरू समेटेर गरिएको यो अनुसन्धान अनुसार सौर्य ऊर्जा प्रवर्द्धन गर्ने सरकारी नीतिहरूले गर्दा खेतबारी र घाँसे मैदानहरू तीव्र रूपमा फाँडिदा चराचुरुङ्गीको विविधतामा ह्रास आएको पाइएको छ। नानजिङ युनिभर्सिटी अफ इन्फर्मेसन साइन्स एन्ड टेक्नोलोजीका प्रमुख अनुसन्धानकर्ता हुइमिङ झाङले यो अध्ययनको मुख्य सन्देश नवीकरणीय ऊर्जातर्फको संक्रमणलाई रोक्नु नभई सौर्य विकासलाई थप पारिस्थितिक रूपमा सचेत बनाउनु रहेको बताएका छन्।
चीनले सन् २०६० भन्दा अगाडि नै कार्बन तटस्थता हासिल गर्ने लक्ष्यसहित नवीकरणीय ऊर्जाको क्षेत्रमा ठूलो क्रान्ति अगाडि बढाइरहेको छ। सन् २०२४ सम्ममा त्यहाँ सौर्य ऊर्जाको दायरा करिब चार हजार पाँच सय २० वर्ग किलोमिटर पुगेको छ भने सन् २०६० सम्ममा ऊर्जा मिश्रणमा सौर्य ऊर्जाको हिस्सा ४५ प्रतिशत पुग्ने अनुमान गरिएको छ। चीनमा सौर्य ऊर्जाका लागि स्थान छनोट गर्दा घमाइलो ठाउँ र उपलब्ध जमिनलाई मात्र आधार बनाइएको छैन, बरु केही क्षेत्रमा आर्थिक विकासलाई प्रोत्साहन गर्ने सरकारी पञ्चवर्षीय योजनाहरूलाई समेत ध्यान दिइएको पाइन्छ।
शोधकर्ताहरूले सन् २०१४ देखि २०२३ सम्म चीनभरका दुई हजार तीन सय ४४ काउन्टीहरूमा सौर्य विस्तार नीतिमा आएका भिन्नताहरूका साथै राष्ट्रिय प्रवृत्ति, मौसम, सामाजिक–आर्थिक अवस्था, भूउपयोग र चरा अवलोकनका प्रयासहरूको विश्लेषण गरेका थिए। नागरिक विज्ञानको अभिलेखसँग जोडिएको यस अध्ययनको नतिजाले नीतिगत कडाइ र चराचुरुङ्गीको जैविक विविधतामा आएको ह्रासबीच ऋणात्मक सम्बन्ध रहेको देखाएको छ ।
यद्यपि यसको प्रभाव मध्यम स्तरको रहेको छ। सौर्य फार्महरूका कारण रैथाने र प्रवासी दुवै प्रकारका चराहरूले ठूलो गिरावट व्यहोर्नु परेको छ भने सौर्य फार्म निर्माणका लागि अनुपयुक्त मानिने हिमाली बासस्थानका प्रजातिहरू भने यसबाट प्रभावित छैनन् ।
शोधकर्ताहरुले पातहरूको कुल मात्रा बढेको देखिए पनि त्यो अति समरूपी भएका कारण पारिस्थितिक गुणस्तर भने घटेको जनाएका छन् । पेकिङ विश्वविद्यालयका युअन्निङ लियाङले ठूला स्तरको जैविक विविधता मूल्याङ्कनका लागि चराचुरुङ्गीहरू एक प्रभावकारी सूचक समूह भएको उल्लेख गर्दै यी समस्याहरू वायु ऊर्जा जस्ता अन्य नवीकरणीय ऊर्जाका रूपहरूमा पनि उत्तिकै लागू हुने बताएका छन्।
जैविक विविधताको मापनलाई पारिस्थितिकीय सेवा र संरक्षण मूल्यसँग जोड्नुपर्ने आवश्यकता औंल्याउँदै अनुसन्धान टोलीले कम पारिस्थितिक द्वन्द्व भएका स्थानहरूमा ठूला सौर्य आयोजनाहरू लैजानुपर्ने, प्रत्येक साइटको बृहत् मूल्याङ्कन गर्नुपर्ने र उत्पादनशील तथा बासस्थानयुक्त क्षेत्रहरूमा भूमि रूपान्तरण सीमित गर्नुपर्ने सिफारिस गरेका छन्। सफा ऊर्जाको विकास र जैविक विविधताको संरक्षण एकअर्काको विरोधमा उभिनु नपर्ने तर यसका लागि सावधानीपूर्वक स्थान छनोट र जैविक विविधताको सुरक्षा अपरिहार्य हुनेमा विज्ञहरूले जोड दिएका छन्।












प्रतिक्रिया