बाढीमा बेपत्ताको पहिचान गर्न अब नास्टमा पनि डीएनए परीक्षण « Khabarhub

बाढीमा बेपत्ताको पहिचान गर्न अब नास्टमा पनि डीएनए परीक्षण


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवा–नुवाकोटमा गएको प्रलयकारी बाढीमा ज्यान गुमाएका तथा बेपत्ता व्यक्तिको पहिचान गर्न नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) खुमलटारस्थित प्रयोगशालामा डीएनए प्रोफाइलिङ भइरहेको छ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र प्रहरीको प्रयोगशालाले मात्रै नभ्याएपछि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले पनि परीक्षण थालेको हो। 

यसमा चीनले प्राविधिक सहयोग गरेको छ । नास्टले ८०७ वटा नमुना प्राप्त गरेको छ र त्यसको परीक्षणपछि प्राप्त नतिजा राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई पठाउने छ । 

चीन सरकारले उपलब्ध गराएको अत्याधुनिक प्रविधि, उपकरण तथा सामग्रीको सहयोगमा चिनियाँ विशेषज्ञको टोली नास्टमा डीएनए परीक्षणमा सक्रिय भएको छ।

नास्टमा हालसम्म ८०५ वटा हड्डीका नमूना प्राप्त भएका छन्। तीमध्ये ७९८ वटा नमूना परीक्षण प्रक्रियामा रहेको र ५२२ वटाको परीक्षण सम्पन्न भइसकेको छ। परीक्षण गरिएका नमूनामध्ये ४१९ वटाको नतिजा अन्तिम चरणमा रहेको नास्टका वरिष्ठ वैज्ञानिक डा. रामचन्द्र पौडेलले जानकारी दिए।

उनका अनुसार चिनियाँ विशेषज्ञले नास्टका वैज्ञानिकलाई डीएनए परीक्षणसम्बन्धी तालिमसमेत दिइरहेका छन्। यससँगै नेपाली वैज्ञानिकको क्षमता विकास तथा नमूनाबाट आवश्यक डाटा निकाल्ने काम भइरहेको छ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले बुधबार बिहान नास्टस्थित डीएनए परीक्षण प्रयोगशालाको स्थलगत अवलोकन गरेका छन्। उक्त क्रममा उनले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरीको फरेन्सिक प्रयोगशालाको तुलनामा नास्टको क्षमता उपयोग गरी थप परीक्षण अघि बढाइएको बताए।

बाढीमा आफन्त तथा नातेदार गुमाएका परिवारलाई मृतक तथा बेपत्ता व्यक्तिको पहिचान गराउन डीएनए परीक्षण महत्वपूर्ण हुने उल्लेख गर्दै मन्त्री पुनले चिनियाँ विशेषज्ञले गरिरहेको सहयोगप्रति आभार व्यक्त गरे।

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले चिनियाँ विशेषज्ञ, उपकरण र परीक्षणमा भइरहेको प्रगतिबारे जानकारी दिँदै बाढीबाट उत्पन्न कठिनाइ सामना गर्न नेपाल सरकार र नास्टसँग थप समन्वय तथा सहकार्य गर्न चीन सरकार तयार रहेको बताए।

उनले नास्टको डीएनए प्रयोगशालामा कार्यरत चिनियाँ डीएनए तथा फरेन्सिक पहिचान विशेषज्ञले कठिन परिस्थितिमा गरिरहेको कामको प्रशंसा गरे।

परीक्षणका क्रममा चीनको अत्याधुनिक प्रविधि, उन्नत उपकरण तथा फरेन्सिक पहिचानसम्बन्धी कार्यविधिको प्रयोग भइरहेको उनले बताए।

‘नास्ट डीएनए प्रयोगशालामा भइरहेको परीक्षणले चिनियाँ विशेषज्ञहरूको महत्वपूर्ण योगदान तथा नेपाल–चीनबीचको सहकार्यको महत्वलाई थप उजागर गरेको छ’, राजदूत चाङले भने।

चीन सरकारले बाढीपछि नास्टलाई डीएनए परीक्षणका लागि आवश्यक उपकरण, सामग्री तथा प्रविधि उपलब्ध गराएको थियो। बाढीमा ज्यान गुमाएका तथा बेपत्ता व्यक्तिको पहिचानका लागि डीएनए प्रोफाइलिङ गर्न आवश्यक प्रविधिसमेत चीनले नेपाललाई हस्तान्तरण गरेको हो।

वरिष्ठ वैज्ञानिक पौडेलका अनुसार शवको डीएनए परीक्षण गर्ने वैधानिक अधिकार राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल प्रहरीको फरेन्सिक प्रयोगशालालाई मात्र छ। विपद् व्यवस्थापन प्राधिकरणले डीएनए परीक्षणका लागि संकलित नमूना सुरुमा प्रहरी र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मात्र पठाउने गरेको थियो।

तर, बाढीपछि संकलित नमूनाको संख्या अनुमानभन्दा धेरै भएपछि नास्टको प्रयोगशालाबाट समेत परीक्षण गर्ने निर्णय गरिएको पौडेलले बताए।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ३ : ३५ बजे

मकै भित्र्याउन व्यस्त छन् जुम्लाका किसान

काठमाडौं– जुम्लाको पातारासी गाउँपालिका लासीका किसान यतिबेला मकै भित्र्याउन व्यस्त

वसन्तपुरमा निकालियो लाखे, पुलुकुसी, हल्चोक आकाश भैरवको नाच (तस्बिरहरू)

काठमाडौं- इन्द्रजात्राको अवसरमा काठमाडौँको वसन्तपुरमा लाखे नाच, पुलुकिसी नाच र हल्चोक

इन्डोनेसियामा जहाज डुब्दा २० जनाको मृत्यु, ११५ बेपत्ता

जकार्ता– इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक जहाज डुब्दा मृत्यु हुनेको सङ्ख्या

बीपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

काठमाडौं– सरकारले भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन

कांग्रेसले ५१२ पालिकामा सक्यो अधिवेशन, २४१ पालिकामा शुक्रबार र शनिबार हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत बुधबार देशभरका पालिकामा अधिवेशन