रैथाने बाली संकटमा, कालो भट्टको बीउ गाउँबाटै हरायो « Khabarhub

रैथाने बाली संकटमा, कालो भट्टको बीउ गाउँबाटै हरायो


७ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

पाल्पा– माथागढी गाउँपालिका ओलेसका किसानले उब्जाउ गर्नै गरेको स्थानीय दानाको कालो भट्ट कुनै समय खाद्यान्न मात्रै थिएन, घरखर्च चलाउने बलियो आधार थियो ।
 
मकैसँगै बारीमा भट्ट लगाउने, उत्पादन बेच्ने र त्यसबाट आएको आम्दानीले वर्ष दिनका लागि चामलको जोहो गर्ने यहाँको पुरानो चलन हो। यस क्षेत्रका ६० भन्दा बढी घरपरिवारले बर्सेनि बीउ जोगाउथे, अर्को वर्ष त्यही बीउ बारीमा लगाउथेँ । तर अहिले पुस्तौँदेखि गाउँमै जोगिँदै आएको स्थानीय जातको कालो भट्टको बीउ पाउनै मुस्किल परेको छ ।

बाजेका पालादेखि गाउँमै सुरक्षित राखिँदै आएको भट्टको बीउ अहिले पाउनै मुस्किल पर्ने  गरेको स्थानीय  किसान वीरबहादुर सारुले बताए। 

‘मकैसँगै भट्ट लगाउने चलन हाम्रा बाजेका पालादेखि चलिआएको थियो,’ सारु भन्छन्, ‘तर एक्कासि किराको प्रकोप भयो । बोटमा दाना नै लागेन । स्थानीय पहिचान बनेको सानो दानाको कालो भट्टको बीउ गाउँबाटै हरायो ।’

उनका अनुसार चार वर्षयता किसानले बजारबाट ल्याइने उन्नत जातको बीउमा निर्भर हुन थालेका छन् । ‘स्थानीय जातको नाममा यही मात्र बाँकी थियो, अब त्यो पनि हरायो,’ उनी भन्छन् । 

गोठादीका पुराना कृषक प्रतीक थापाको सम्झनामा खेतका आलीमा लगाइने मास अझै ताजा छ । खेतको आलीमा मास लगाउने, उत्पादन बिक्री गर्ने र त्यही आम्दानीबाट जाडोका लागि लत्ताकपडा किन्ने गरेको उनी सम्झन्छन् । 

करिब पाँच वर्षअघि मासको दानामा किराको प्रकोप देखियो । विस्तारै बाली हराउँदै गयो । यसपटक त बीउ नै नभएपछि मास लगाउन नपाएको उनी बताउँछन्। 

‘किराले अभियानकै रूपमा आक्रमण गरेजस्तो भयो,’ थापा भन्छन्, ‘किरा नियन्त्रणका लागि विभिन्न उपाय अपनायौँ, तर सफल भएनौँ ।’ उनका अनुसार मासको बाली जोगिएको भए गाउँमा यसपटक  लाखौँ रुपैयाँ भित्रिन सक्थ्यो । ‘किरा नलागेको भए यस पटक गाउँमा दुई-चार लाख रुपैयाँ भित्रिन्थ्यो होला,’ उनी भन्छन्, ‘किरा किन लाग्यो भन्ने कुरा पत्ता लगाउनै सकिएन ।’

निस्दीको मित्यालकी माया सुनारीको अनुभव पनि उस्तै छ ।  मकै लगाउने समयमा मकैसँगै सिमी लगाउने र पछि आम्दानीको स्रोत बनाउने गरेकी सुनारीलाई गत वर्ष सिमीमा लागेको किराले ठूलो क्षति पुर्‍यायो ।  

किराले सिमीका बोट नै सखाप पारेपछि यस वर्षका लागि बीउसमेत जोगिएन । 

‘मेरो मात्र होइन, गाउँका सबैका बारीमा सिमीमा किराले नोक्सान ग¥यो,’ उनी भन्छन्, ‘बाली जोगाउन सकिएन, बीउ पनि रहेन । अहिले रैथाने सिमीको बीउ नै गाउँमा छैन ।’

कुनै समय गाउँका अधिकांश किसानका बारीमा देखिने बोडी, सिमी, भट्ट, मास र झिल्ङ्गीजस्ता विउ अहिले हराउँदै गएको छ । बालीसँगै बीउ हराएपछि किसान बाहिरबाट आउने बीउमा निर्भर हुन थालेका छन् । कृषि ज्ञान केन्द्रकी प्रमुख अमिता पाण्डेका अनुसार पछिल्ला वर्षमा बढ्दो तापक्रमसँगै दलहन बालीमा किराको प्रकोप बढिरहेको छ । 

‘जलवायु परिवर्तनका कारण रैथाने बालीमा असर परेको छ,’ पाण्डे भन्छन्, ‘रैथाने बालीमा रोग तथा किराको प्रतिरोधात्मक क्षमता कम हुने भएकाले बदलिँदो वातावरणमा थप जोखिम देखिएको छ ।’

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ४ : ३६ बजे

मकै भित्र्याउन व्यस्त छन् जुम्लाका किसान

काठमाडौं– जुम्लाको पातारासी गाउँपालिका लासीका किसान यतिबेला मकै भित्र्याउन व्यस्त

वसन्तपुरमा निकालियो लाखे, पुलुकुसी, हल्चोक आकाश भैरवको नाच (तस्बिरहरू)

काठमाडौं- इन्द्रजात्राको अवसरमा काठमाडौँको वसन्तपुरमा लाखे नाच, पुलुकिसी नाच र हल्चोक

इन्डोनेसियामा जहाज डुब्दा २० जनाको मृत्यु, ११५ बेपत्ता

जकार्ता– इन्डोनेसियाको जाभा सागरमा यात्रुवाहक जहाज डुब्दा मृत्यु हुनेको सङ्ख्या

बीपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

काठमाडौं– सरकारले भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन

कांग्रेसले ५१२ पालिकामा सक्यो अधिवेशन, २४१ पालिकामा शुक्रबार र शनिबार हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत बुधबार देशभरका पालिकामा अधिवेशन