काठमाडौं- देश निर्वाचनमय भएको छ। भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनको परिणाम प्रतिनिधिसभा साढे ३ वर्षमै विघटन भएपछि देश मध्यावधि निर्वाचनमा होमिएको हो । २०७९ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसहित पाँच दलको चुनौती चिरेको नेकपा एमालेलाई यो पटक पनि तनाव छ। जेन-जी आन्दोलनमा दमन गरेको आरोप खप्दै एमाले चुनाव गएको छ । काठमाडौं उपत्यकासहित देशका १६४ क्षेत्र उम्मेवारी खडा गरेको एमालेले चुनाव प्रचारलााई तीव्र पारेको छ। यता काठमाडौं क्षेत्र नम्बर ९ मा पनि एमालेभित्र बौद्धिक नेताका रुपमा परिचित डा. अजयक्रान्ति शाक्य मैदानमा छन् । उनको मुख्य प्रतिस्पर्धा राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालसँग हुँदैछ । बागमतीका निवर्तमान सांसदसमेत रहेका शाक्य एक पटक मन्त्री पनि भएका छन्। शाक्य मैदानमा रहेको काठमाडौंमा नेवार समुदायको भोट निर्णायक छ । तर नयाँको लहरका कारण एमाले केही दबाबमा छ । यो दबाबबीच शाक्यले चुनावी प्रचार तीव्र बनाएका छन् । चुनावी प्रचारकै बीचमा शाक्यसँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ राखिएको छ ।
कातठमाडौं क्षेत्र नम्बर–९ मा एमालेको तर्फबाट तपाईंको चुनावी अभियान कसरी अगाडि बढिरहेको छ ?
अहिलेको युग सूचना प्रविधिको हो । त्यसैले यस पटकको निर्वाचनमा हामीले परम्परागत शैलीसँगै ‘प्रविधिमैत्री चुनावी प्रचार’लाई विशेष प्राथमिकता दिएका छौँ । सूचना प्रविधिको उच्चतम् उपयोग गर्दै हामीले हाम्रा एजेन्डाहरू मतदाताबीच पुर्याइरहेका छौँ ।
यसका साथै, म पनि मतदाताका घरदैलोमा पुगेर उहाँहरूका गुनासा र सुझाव सुनिरहेको छु । विगतमा जनप्रतिनिधि हुँदा मैले गरेका कामको समीक्षा गर्ने, आगामी योजनाबारे छलफल गर्ने र टोल तथा वडा तहका साथीहरूले तयार पार्नुभएको कार्ययोजना अनुसार जनतासँग प्रत्यक्ष साक्षात्कार गर्ने कार्यलाई नै मैले मुख्य अभियान बनाएको छु ।
चुनावी घरदैलोका क्रममा मतदाता र शुभेच्छुकहरूबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
मतदाताहरूमा निकै ठूलो उत्साह र भरोसा पाएको छु । विशेषगरी, काठमाडौं क्षेत्र नम्बर–९ का बुद्धिजीवी र आमनागरिकले एकजना प्राज्ञिक, विकासको स्पष्ट खाका बुझेको र कार्यान्वयन गर्न सक्ने विज्ञ व्यक्तित्वलाई उम्मेदवारको रूपमा पाउनु यस क्षेत्रकै गौरवको विषय भएको प्रतिक्रिया दिनुभएको छ । उहाँहरूले देखाउनुभएको यो अगाध माया र सम्मानले मलाई थप जिम्मेवार बनाएको छ ।
म सस्तो लोकप्रियताका लागि असम्भव सपना बाँड्ने र ठूला भाषण गर्ने कुरामा विश्वास गर्दिनँ र त्यो गर्न जान्दिनँ पनि । म जे गर्न सक्छु, त्यो मात्रै बोल्छु । जनप्रतिनिधि रहँदा वा नरहँदा, सधैँ समाजसेवा र अध्ययन–अनुसन्धानमै मेरो समय बित्ने गरेको छ । मेरो एउटै संकल्प छ– ‘बहुजन हिताय, बहुजन सुखाय, सर्वप्रकारेण जगत हिताय’ यही भावनाका साथ म राष्ट्र र जनताको सेवामा समर्पित छु ।
मतदाताहरूको यो साथ र समर्थनले पनि मलाई जित आधार तयार गरेको छ । मेरो जित भनेको यो क्षेत्रको विकासका लागि बलियो आधारसमेत हो भन्ने जनताको भावना पाएको छु ।
तपाईं यहीँ काठमाडौंको माटोमा जन्मिनुभयो, हुर्किनुभयो । यहाँको विकास र समृद्धिको सपनालाई कसरी हेर्नुभएको छ ?
मेरा लागि राजनीति पेशा होइन विशुद्ध सेवा हो । म यही काठमाडौंको माटोमा जन्मिएँ । यहीँको हावापानीमा हुर्किएँ । त्यसैले यस क्षेत्रप्रतिको मेरो दायित्व अगाध छ ।
मेरो मूल ध्येय भनेकै यस क्षेत्रको समग्र विकास, गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य र रोजगारीका अवसरहरू सिर्जना गर्नु हो । विशेषगरी काठमाडौंको मुटु मानिने यस क्षेत्रको मौलिक संस्कृति र सम्पदाको संरक्षण तथा सम्वर्द्धन मेरो पहिलो प्राथमिकता हो । म यहाँका आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई के विश्वास दिलाउन चाहन्छु भने- म जे बोल्छु, त्यो पूरा गर्छु र मेरो बाँकी जीवन यहीँको माटोको सेवामा समर्पित रहनेछ ।
२०७४ सालको निर्वाचनपछि तपाईंले यस क्षेत्र ९ (क) को जनप्रतिनिधि र छोटो समय मन्त्रीका रूपमा काम गर्नुभयो । त्यसअवधिका मुख्य उपलब्धि के–के हुन् ?
काठमाडौं क्षेत्र नम्बर–९ (क) अन्तर्गतका वडाहरू ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले अत्यन्तै महत्त्वपूर्ण छन् । म प्रदेश सभा सदस्य र मन्त्री रहँदा यी सम्पदाहरूको पुनरुत्थानमा अहोरात्र खटिएँ । मेरा काम आज जनतासामु छर्लङ्ग छन् । केही मुख्य उपलब्धि यहाँ उल्लेख गर्न चाहन्छु ।
सम्पदा पुनरुत्थान : श्वेत भैरव फल्चा, श्वेत भैरव नारायण मन्दिर, टेबहाल नास द्यः, वटुचिँकअट नारायण मन्दिर, र पचली भैरवका दुईवटा फल्चाहरूको सफल पुनर्निर्माण । त्यस्तै, बासुकी दह नजिकैको मिन्डोल लिंग बल्खु गुम्बा तथा विभिन्न ऐतिहासिक सम्पदाहरूको संरक्षण तथा प्रवर्द्धन । साथै यस क्षेत्रमा रहेका अमूर्त सम्पदाहरूको संरक्षण तथा प्रवर्द्धनका लागि विशेष योगदान ।
शैक्षिक सुधार : सरस्वती निकेतनमा कम्प्युटर ल्याब, कुलेश्वर आवासीय मावि र जनपथ मावि कलंकीमा सभाहल निर्माण, तथा जनमैत्री क्याम्पसको भवन तथा कम्प्युटर ल्याब, निर्माणमा विशेष बजेट व्यवस्था, सरकारी विद्यालयहरूमा शैक्षिक सुधारकालागि विविध कार्यक्रमहरूका सञ्चालन ।
पूर्वाधार र वातावरण : कामपा १२ वडाको खोल्चापाखामा आकर्षक पार्क निर्माण, खड्का गाउँमा खानेपानीका लागि ३ लाख लिटरको पानी टंयाकी निर्माण, डिप बोरिङ, फिल्टरेशन प्लान्ट जडान तथा पम्प हाउस तथा बस्तीभरी घर घरमा पाइपलाइन विस्तार, ज्ञानतीर्थ सडक ढलान लगायत क्षेत्रभरी अधिकांश ठाउँमा कालोपत्र सम्पन्न र विभिन्न क्लब तथा विद्यालयहरूमा खानेपानी फिल्टर प्लान्ट जडान, मयलबारी लगायत क्षेत्रभित्रका धेरै ठाउँमा खाने पानीको समस्या समाधान लगायतका धेरै पूर्वाधारहरूका काम सम्पन्न भएका छन् ।

यस्तै कानून निर्माण, कानून एप्प निर्माण, हार्जट म्यापिगं तथा अलर्टको एप्प निर्माणको काम अघि बढाएको, सूचना प्रविधि सम्बन्धी एप्पहरु निर्माण तथा मन्त्रालयका अधिकांश कार्यक्रमहरू छोटो अवधिमै सम्पन्न भएका छन् ।
मैले गरेका यी कामहरू केवल तथ्याङ्क मात्र होइनन्, यस क्षेत्रको विकासप्रतिको मेरो इमानदार प्रयासका प्रमाणहरू हुन् । आज जनताको घरदैलोमा पुग्दा यही कामहरूको सूचि लिएर गएको छु । उहाँले पनि मैले पहिलो जनप्रतिनिधि हुँदा गरेको काम सम्झेर मलाई गरेको माया र समर्थनले मलाई थप हौसला मिलेको छ ।
अहिले काठमाडौं क्षेत्र नम्बर–९ मा राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेस जस्ता बलिया प्रतिस्पर्धी पार्टी हुनुहुन्छ । यसले गर्दा तपाईंको जित चुनौतीपूर्ण देखिन्छ नि, कसरी लिनुभएको छ ?
लोकतन्त्रमा निर्वाचन भनेको विचार, एजेन्डा र कार्यक्षमताको स्वस्थ प्रतिस्पर्धा हो । म निर्वाचनलाई जनताको सर्वोच्च अदालत मान्छु । कुनै पनि उम्मेदवारका लागि निर्वाचन कहिल्यै ‘सजिलो’ हुँदैन र यसलाई हल्का रूपमा लिनु पनि हुँदैन । यदि हार–जित पहिले नै निश्चित हुन्थ्यो भने त निर्वाचनको यो महान् लोकतान्त्रिक अभ्यास र राज्यको यति ठूलो लगानीको औचित्य नै रहँदैनथ्यो । म प्रतिस्पर्धी साथीहरू र उहाँहरूको उम्मेदवारीलाई सम्मान गर्छु ।
म काठमाडौं–९ का मतदाताहरूको चेतना र विवेकमाथि पूर्ण विश्वास गर्छु । अहिले घरदैलोका क्रममा मैले जुन स्तरको स्नेह, माया र समर्थन पाइरहेको छु, त्यसले के पुष्टि गर्छ भने- यहाँका जनता ‘परीक्षण भइसकेको’ र ‘काम गरेर देखाएको’ नेतृत्वको पक्षमा हुनुहुन्छ ।
मेरा प्रतिस्पर्धी साथीहरूका आफ्नै एजेन्डा होलान्, तर यस क्षेत्रको विकासको निरन्तरता र समृद्धिका लागि मेरो अनुभव र कार्यक्षमताको विकल्प अर्को हुन सक्दैन । म चुनौतीलाई अवसरमा बदल्न अभ्यस्त छु र यस पटक पनि क्षेत्र नम्बर–९ का सचेत मतदाताहरूले विकास र स्थिरताको पक्षमा मतदान गर्नुहुनेछ भन्नेमा म ढुक्क छु ।
बजारमा एमालेभित्र अन्तर्घातको डर छ । कतिपय नेताहरू तपाईंको पक्षमा खुलेका छैनन् भन्ने चर्चा छ नि, वास्तविकता के हो ?
यो निराधार हल्ला र योजनाबद्ध भ्रम मात्र हो । नेकपा (एमाले) एक ढिक्का भएर निर्वाचनमा होमिएको छ । म काठमाडौं महानगरपालिका वडा नम्बर २१, लगनटोलको स्थायी बासिन्दा हुँ । जुन क्षेत्र एमालेको ‘लालकिल्ला’ मानिन्छ । हाम्रा आदरणीय नेता तथा पूर्वमेयर विद्यासुन्दर शाक्य यहीँको हुनुहुन्छ । उहाँले यही वडाबाट दुई पटक वडाध्यक्ष तथा मेयरमा समेत निर्वाचित हुनु भएर महानगरको नेतृत्व गर्नुभएको इतिहास छ ।
त्यति मात्रै होइन, पूर्वमन्त्री तथा नेता कृष्णगोपाल श्रेष्ठ अभिभावकका रूपमा उहाँको पूर्ण साथ मलाई छ । उहाँ स्वयं मेरो निर्वाचनमा अहोरात्र खटिरहनुभएको छ । समानुपातिक सांसद कुलभक्त शाक्य, प्रदेश सभा सदस्य केशव पोखरेल तथा समानुपातिक उम्मेदवार डा. सानुमैया खड्का (सविता) लगायतका सम्पूर्ण नेतृत्व तह मेरो विजय सुनिश्चित गर्न टोल–टोलमा पुगिरहनुभएको छ ।
काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनीता डंगोलको पदीय मर्यादाका कारण चुनावी प्रचारमा प्रत्यक्ष देखिन नमिल्ने कानुनी पाटो बेग्लै हो, तर उहाँको पूर्ण नैतिक समर्थन र शुभेच्छा मसँगै छ । त्यसैले, पार्टीभित्र कुनै पनि प्रकारको मतभेद छैन । हामी एउटा चट्टानी एकताका साथ मैदानमा छौँ ।

तपाईंको चुनावी एजेण्डा के–के छ ?
मेरो लागि राजनीति पद र प्रतिष्ठा प्राप्तिको सिँढी मात्र होइन, यो त समाज रूपान्तरणको एउटा लामो साधना र पवित्र सङ्कल्प हो । २०४६ सालको ऐतिहासिक जनआन्दोलनदेखि आजसम्मको मेरो अनवरत यात्रा केवल पदका लागि थिएन, बरु लोकतन्त्रको सुदृढीकरण र जनसेवाका लागि थियो ।
म विगत तीन दशकदेखि अविचलित रूपमा यही माटो र यहाँका जनताको सुखदुःखमा एकाकार छु । मेरो यस पटकको उम्मेदवारी केवल संसद्को एक सिटका लागि मात्र नभई, अनुभव, विज्ञता र विकासको त्रिवेणीमार्फत यस क्षेत्रको मुहार फेर्नका लागि हो ।
म आश्वासनको खेती गर्ने र असम्भव सपना बाँड्ने राजनीतिमा विश्वास गर्दिनँ । मेरो पहिलो र मुख्य एजेण्डा भनेको मेरो वर्षौँको राजनीतिक अनुभव र मैले हासिल गरेको ‘प्राज्ञिक ज्ञान’ को उच्चतम संयोजनमार्फत राज्यको नीति निर्माण तहमा अर्थपूर्ण र बौद्धिक योगदान गर्नु हो । हामीलाई अब गफ गर्ने होइन, योजनाबद्ध विकासको वैज्ञानिक खाका कोर्न सक्ने नेतृत्व चाहिएको छ ।
काठमाडौं क्षेत्र नम्बर–९ को मौलिक कला, जीवन्त संस्कृति र हाम्रा ऐतिहासिक धरोहरहरूको संरक्षण गर्दै यस क्षेत्रलाई विश्वकै आकर्षक सांस्कृतिक पर्यटन हब बनाउनु मेरो सर्वोच्च प्राथमिकता हुनेछ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्यलाई टेवा पुर्याउन म शिक्षा, स्वास्थ्य र रोजगारलाई प्रविधिमैत्री बनाउँदै पूर्ण निष्ठाका साथ समर्पित रहनेछु।
मेरा चुनावी एजेण्डा
१) विज्ञता र विवेकमा आधारित राजनीति
म संसद्मा केवल ताली बजाउन वा नारा लगाउन मात्र जाने छैन। मेरो तीन दशक लामो राजनीतिक अनुभव र प्राज्ञिक दक्षतालाई देशको ऐनकानुन निर्माणमा केन्द्रित गर्नेछु । राज्यका नीतिहरू वैज्ञानिक र जनमुखी हुनुपर्छ भन्ने मेरो मान्यता छ। विकासका योजनाहरू तर्जुमा गर्दा विज्ञहरूको राय र तथ्यलाई आधार बनाएर काम गर्ने पद्धतिको विकास गर्नेछु ।
२. वैज्ञानिक र व्यवस्थित शहरी विकास
काठमाडौंको अव्यवस्थित शहरीकरण आजको मुख्य चुनौती हो । मैले यस क्षेत्रका लागि एक वैज्ञानिक गुरुयोजना’ तयार गरेको छु । अव्यवस्थित ढल, खानेपानी र सडकको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्दै काठमाडौं क्षेत्र नम्बर–९ लाई सुन्दर, स्वच्छ र बस्नयोग्य बनाउन म नेतृत्वदायी भूमिका खेल्नेछु । खुला क्षेत्रको संरक्षण र ग्रीन सिटीको अवधारणा मेरो विशेष प्राथमिकतामा रहनेछ ।
३. सांस्कृतिक पुनर्जागरण र सम्पदा संरक्षण
हाम्रो पहिचान नै हाम्रो संस्कृति हो। यस क्षेत्रमा रहेका ऐतिहासिक मन्दिर, फल्चा, बहाः र चैत्यहरूको मौलिक स्वरूप नबिग्रने गरी पुनरुत्थान र जीर्णोद्धार गरिनेछ । यहाँको मूर्त–अमूर्त संस्कृतिलाई पर्यटनसँग जोडेर स्थानीयको आर्थिक स्तर उकास्ने र हाम्रा सम्पदाहरूलाई विश्वमाझ चिनाउन सांस्कृतिक कोरिडोरको अवधारणा अघि बढाइनेछ
४. मौलिक अधिकारका रूपमा गुणस्तरीय शिक्षा र स्वास्थ्य
शिक्षा र स्वास्थ्य व्यापार होइन, नागरिकको मौलिक अधिकार हुनुपर्छ। मेरा प्रयासहरू सामुदायिक विद्यालयहरूको भौतिक र शैक्षिक गुणस्तर सुधार गर्नमा केन्द्रित हुनेछन् । प्रत्येक वडामा अत्याधुनिक स्वास्थ्य सेवाको पहुँच पुर्याउने, ज्येष्ठ नागरिकका लागि विशेष स्वास्थ्य योजना र विपन्नका लागि सर्वसुलभ उपचार सुनिश्चित गर्न म नीतिगत र व्यावहारिक दुवै तहमा सक्रिय रहनेछु ।
५. युवा स्वरोजगार र डिजिटल रूपान्तरण
अहिलेको युग सूचना प्रविधिको हो । सूचना प्रविधिको उच्चतम प्रयोग गरी सरकारी सेवालाई भ्रष्टाचारमुक्त र बनाउन म पहल गर्नेछु। युवाहरूलाई प्रविधिसँग जोडेर स्थानीय स्तरमै स्टार्टअप र उद्यमशीलताका अवसरहरू सिर्जना गरिनेछ । विदेशिन बाध्य युवा जनशक्तिलाई स्वदेशमै सम्मानजनक रोजगारीका अवसर सिर्जना गर्न डिजिटल इकोनोमीको अवधारणालाई यस क्षेत्रमा नमुनाका रूपमा लागू गरिनेछ ।













प्रतिक्रिया