काठमाडौं– अमेरिकाले मध्यपूर्वमा तीव्र गतिमा सेना, सैन्य उपकरण र हातहतियार तैनाथ गरिरहँदा राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमणबारे विचार गरिरहेको जनाएका छन् । हाल अमेरिकाले मध्यपूर्वमा लडाकु विमानवाहक युद्धपोत यूएसएस अब्राहम लिङ्कन तैनाथ गरेको छ ।
त्यसैगरी, मध्यपूर्वमा अमेरिकाले १ सयभन्दा धेरै एफ–१८ र एफ–३५ लडाकु विमान, ड्रोन, निरीक्षण विमान पनि परिचालन गरेको छ । त्यस्तै, आकाशमै इन्धन भर्न मिल्ने विमान र जासुसी जहाज पनि परिचालन गरिएको छ । त्यसबाहेक अमेरिकाले क्षेत्रीय हवाई प्रतिरोधी प्रणालीलाई पनि मजबुत बनाएको छ ।
अबका केही दिनमा अमेरिकी नौसेनामा आबद्ध यूएसएस जेराल्ड फोर्ड पनि मध्यपूर्व पुग्दैछ । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गर्नका लागि क्यारेबियन सागर क्षेत्रमा परिचालन गरिएको यो युद्धपोत चाँडै मध्यपूर्व पुग्ने अपेक्षा गरिएको छ ।
यससँगै तीन विध्वंशकारी युद्धपोत र अत्याधुनिक क्षेप्यास्त्र जडित दुई पनडुब्बी पनि मध्यपूर्वमा तैनाथ छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिन्द महासागरको बीचमा रहेको अमेरिकी सैन्य अखडा डिएगो गार्सिया र बेलायतको ग्लोस्टरशयरमा रहेको आरएएफ फेयरफोर्ड हवाई अड्डा पनि प्रयोग गर्न सक्नेछ । यो दशकौँयता अमेरिकाले मध्यपूर्वमा परिचालन गरेको सबैभन्दा ठूलो सैन्य शक्ति हो ।
सामान्यतयाः सैन्य कारबाहीअघि अमेरिकी सेनाले आफ्ना गतिविधि गोप्य राख्छ । त्यसमाथि अत्याधुनिक लडाकु विमानलाई दुश्मनले पहिचान नगरोस् भनेर राडारबाट बच्ने उपाय पनि लागू गरिन्छ । गत वर्ष अमेरिकी बी–२ बमवर्षक विमानले इरानी आकाशमा प्रवेश गरेका थिए । त्यसबेला कसैले पनि ती विमानको उडान पत्ता लगाउन सकेका थिएनन् ।
तर यसपटक सबै खुल्लमखुल्ला भइरहेको छ । द एटलान्टिकका अनुसार यस साता ‘फ्लाइट ट्राकर’ मा दर्जनौँ अमेरिकी लडाकु विमान मध्यपूर्वमा उडिरहेको देखिएको थियो । कतिपय विश्लेषकहरु भने मध्यपूर्वमा ठूलो शक्ति तैनाथ गरेर अमेरिकाले इरानलाई सन्देश मात्रै दिन खोजेजस्तो देखिएको बताउँछन् ।
यदि इरानमाथि सम्झौताका लागि दबाब बढाउन मात्रै अमेरिकाले मध्यपूर्वमा सैन्य परिचालन गरेको हो भने कालान्तरमा सैनिक र सैन्य उपकरण त्यहाँबाट फिर्ता हुनेछन् । तर, अहिलेको अवस्थामा ठ्याक्कै यस्तै हुन्छ भन्ने स्पष्ट छैन । किनभने स्विट्जरल्याण्डको जेनेभामा दुई मुलुकका अधिकारीबीच उच्चस्तरीय वार्ता असफल भएपछि बल्ल ती लडाकु विमानले मध्यपूर्वतर्फ उडान भरेको खुलेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानविरुद्ध संक्षिप्त युद्ध लड्नेबारे विचार गरिरहेको जनाएका छन् । उनले भनेका थिए, ‘मेरो विचारमा म यति भन्न सक्छु, म यसबारे विचार गरिरहेको छु ।’ ट्रम्प प्रशासनले यसबारे विस्तृत जानकारी भने दिएको छैन । विश्लेषकहरुका अनुसार अमेरिकाले मध्यपूर्वमा सैन्य परिचालन बढाउँदै गर्दा इरनमाथि उक्त सैन्य क्षमताको प्रयोग गर्न राष्ट्रपतिमाथि अप्रत्यक्ष दबाब पनि बढ्दै जानेछ ।
यसै आशङ्कालाई बल पुर्याउँदै अमेरिकी सञ्चार माध्यमहरु चाहिँ राष्ट्रपति ट्रम्प इरानविरुद्ध व्यापक एक साता लामो युद्ध लड्ने मुडमा रहेको बताउँछन् । केही दिनअघि राष्ट्रपति ट्रम्पले इरानविरुद्ध आक्रमण गर्ने वा नगर्नेबारे आगामी १०–१५ दिनमा निर्णय गरिसक्ने टिप्पणी गरेका थिए । स्रोतलाई उद्धृत गर्दै अमेरिकी अनलाइन समाचार पोर्टल एक्सियोसले जनाएअनुसार यो युद्धमा इजरायलको पनि संलग्नता रहने सम्भावना छ ।
अघिल्लो वर्षको जुन महिनामा १२ दिनसम्म इजरायलले इरानको सैन्य तथा आणविक पूर्वाधार तथा नेतृत्वलाई लक्षित गरी हवाई कारवाही गरेको थियो । पछि अमेरिकाले पनि इजरायलसँगै इरानविरुद्ध हमलामा उत्रिएको थियो । यस पटकको हमला भने गत वर्षभन्दा विस्तृत हुने र यसले इरानी राज्यसत्ताका लागि अस्तित्वकै सङ्कट ल्याउने खालको हुने दाबी गरिएको छ ।
पहिले पनि राष्ट्रपति ट्रम्पले इरानको सत्ता परिवर्तनको सम्भावनातर्फ सङ्केत गरेका थिए । इजरायलसँग मिलेर इरानमाथि आक्रमण गर्ने बेला अघिल्लो जुन महिनामा नै उनले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीतर्फ इङ्गित गर्दै ‘इजी टार्गेट’ अर्थात् सजिलो निशाना’ को संज्ञा दिएका थिए । त्यसबेला उनले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेखेका थिए, ‘मलाई उनी (खामेनी) कहाँ लुकेका छन् भन्ने ठ्याक्कै थाहा थियो । तर, मैले इजरायल वा विश्वकै महान् र शक्तिशाली अमेरिकी सशस्त्र बललाई उनको ज्यान लिने अनुमति भने दिइनँ ।’
रक्षा अधिकारीहरुका अनुसार इरानी नेताहरुलाई लक्षित गरी ‘टार्गेटेड स्ट्राइक’ अहिले पनि राष्ट्रपतिसमक्ष सैन्य विकल्पका रुपमा अघि सारिरएको छ । केही समयअघि अमेरिकाको विशेष सुरक्षा बलले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई सुतिरहेको शयनकक्षबाट नियन्त्रणमा लिएका थिए । कतिपयले अमेरिकाले इरानमा यस्तै कारवाही गरी खामेनीलाई समात्ने अनुमान गरेका छन् । तर, एटलान्टिकले भने अहिलेसम्म अमेरिकाले इरानी नेतृत्वविरुद्ध यस्तै किसिमको कारबाही गर्ने सम्भावना भने नरहेको जनाएको छ ।
ट्रम्पले हालै इरानमा भएको प्रदर्शनका क्रममा ३२ हजार जनाको ज्यान गएको दाबी गरेका थिए । विश्लेषकहरु ट्रम्पको यो भनाइलाई इरानमाथि सम्भावित हमलापछि पनि इरानी जनताको असन्तुष्ट खेमा आफ्नो पक्षमा आओस् भन्ने चाहनाका रुपमा अथ्र्याउँछन् । इरानको शीर्ष नेतृत्वलाई हटाउँदा त्यहाँका आन्दोलनकारीको मनोबल बढ्ने र अमेरिकाले लामो समयदेखि चाहेको राजनीतिक परिवर्तन आउन सक्ने अनुमान गरिएको छ ।
इरानले आफूमाथि हमला भएमा ‘निर्णायक जवाफ’ दिने चेतावनी दिएको छ । इरानले अमेरिकी कारवाहीको जवाफमा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य आधारमा हमला गर्ने चेतावनी दिएको छ । अमेरिकाले इरानको शीर्ष नेतृत्वलाई समाप्त परेमा त्यहाँको शक्तिशाली सैन्य शाखा इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले सत्ता कब्जा गर्ने र अमेरिकाविरुद्ध अझ बढी आक्रामक र शत्रुतापूर्ण हिसाबमा प्रस्तुत हुने जोखिम पनि रहेको विश्लेषण गरिएको छ ।
एक सैन्य विशेषज्ञका अनुसार यदि इरानले प्रत्याक्रमण गरेर अमेरिकी सैन्य अखडा वा सैनिकहरुलाई निशाना बनायो भने स्थिति अत्यन्तै अनियन्त्रित र अकल्पनीय बन्नेछ । यस्तो अवस्थामा ट्रम्पले कस्तो कदम चाल्छन् भन्ने कसैले भन्न सक्दैन ।
गत वर्ष नटान्ज र फोर्दो आणविक केन्द्रमा भएका अमेरिकी हमलाको जवाफमा इरान निकै सन्तुलित र योजनाबद्ध हिसाबमा प्रस्तुत भएको थियो । इरानले अमेरिकालाई आफूले गर्न लागेको हमलाको पूर्वजानकारी मध्यस्थकर्ताहरुमार्फत पहिले नै दिइसकेको थियो । फलस्वरुप इरानको जवाफी आक्रमणअगावै अमेरिकाले कतारको अल–उदेद हवाई अखडाबाट आफ्ना सैनिकहरू सुरक्षित रूपमा हटाउन र यस क्षेत्रमा हवाई प्रतिरक्षा प्रणाली बलियो बनाउन सफल भएको थियो । त्यसैले, इरानले प्रहार गरेका क्षेप्यास्त्र सजिलै खसालिएका थिए ।
तर, यसपटक परिस्थिति बदलिएको छ । धेरैको बुझाइमा यस पटक इरानी सत्ता पहिलेभन्दा निर्मम रुपमा प्रस्तुत हुनेछ । इरानी राजनीतिक नेतृत्वले आफ्नो अस्तित्व जोगाउन आफ्नै जनतामाथि निर्मम दमन गरेको छ । अमेरिकाविरुद्ध पनि इरानले जथाभावी प्रतिशोधपूर्ण कदम चाल्न सक्ने जोखिम रहन्छ ।
आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअअघि इरानमाथिको सैन्य ट्रम्पका लागि राजनीतिक रुपमा पनि जोखिमपूर्ण हुने विश्लेषण गरिएको छ । ट्रम्पले अमेरिका फर्स्ट भन्ने नाराका चुनाव जितेका हुन् । दशकौँ यता विश्वका विभिन्न कुनामा भएका युद्धमा अमेरिकी संलग्नताबाट असन्तुष्ट मतदाताले ट्रम्पलाई दोस्रो पटक ह्वाइट हाउस पुर्याएका हुन् । यस्तो अवस्थामा फेरि मध्यावधि निर्वाचनअघि इरानविरुद्ध अर्को ठूलो युद्धमा होमिनु उनका लागि राजनीतिक रूपमा महङ्गो पर्नसक्ने विश्लेषण गरिएको छ ।
आइतबार बेलुका यो समग्री तयार पार्दै गर्दा रोयटर्सले अमेरिका र इरानबीच नयाँ चरणको वार्ताको तयारी भइरहेको समाचार सार्वजनिक गरेको छ । वरिष्ठ इरानी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाए अनुसार दुई मुलुकबीच मार्च महिनाको शुरुमा हुने तय भएको छ । वार्ताबाटै दुई देशबीच कायम समस्याको समाधान होस् भन्ने कामना गरौँ ।













प्रतिक्रिया