इरानमाथि ठूलो हमला गर्ने मुडमा ट्रम्प, एक सातासम्म लम्बिन सक्छ युद्ध « Khabarhub

इरानमाथि ठूलो हमला गर्ने मुडमा ट्रम्प, एक सातासम्म लम्बिन सक्छ युद्ध



काठमाडौं– अमेरिकाले मध्यपूर्वमा तीव्र गतिमा सेना, सैन्य उपकरण र हातहतियार तैनाथ गरिरहँदा राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमणबारे विचार गरिरहेको जनाएका छन् । हाल अमेरिकाले मध्यपूर्वमा लडाकु विमानवाहक युद्धपोत यूएसएस अब्राहम लिङ्कन तैनाथ गरेको छ ।

त्यसैगरी, मध्यपूर्वमा अमेरिकाले १ सयभन्दा धेरै एफ–१८ र एफ–३५ लडाकु विमान, ड्रोन, निरीक्षण विमान पनि परिचालन गरेको छ । त्यस्तै, आकाशमै इन्धन भर्न मिल्ने विमान र जासुसी जहाज पनि परिचालन गरिएको छ । त्यसबाहेक अमेरिकाले क्षेत्रीय हवाई प्रतिरोधी प्रणालीलाई पनि मजबुत बनाएको छ ।

अबका केही दिनमा अमेरिकी नौसेनामा आबद्ध यूएसएस जेराल्ड फोर्ड पनि मध्यपूर्व पुग्दैछ । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गर्नका लागि क्यारेबियन सागर क्षेत्रमा परिचालन गरिएको यो युद्धपोत चाँडै मध्यपूर्व पुग्ने अपेक्षा गरिएको छ ।

यससँगै तीन विध्वंशकारी युद्धपोत र अत्याधुनिक क्षेप्यास्त्र जडित दुई पनडुब्बी पनि मध्यपूर्वमा तैनाथ छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिन्द महासागरको बीचमा रहेको अमेरिकी सैन्य अखडा डिएगो गार्सिया र बेलायतको ग्लोस्टरशयरमा रहेको आरएएफ फेयरफोर्ड हवाई अड्डा पनि प्रयोग गर्न सक्नेछ । यो दशकौँयता अमेरिकाले मध्यपूर्वमा परिचालन गरेको सबैभन्दा ठूलो सैन्य शक्ति हो ।

सामान्यतयाः सैन्य कारबाहीअघि अमेरिकी सेनाले आफ्ना गतिविधि गोप्य राख्छ । त्यसमाथि अत्याधुनिक लडाकु विमानलाई दुश्मनले पहिचान नगरोस् भनेर राडारबाट बच्ने उपाय पनि लागू गरिन्छ । गत वर्ष अमेरिकी बी–२ बमवर्षक विमानले इरानी आकाशमा प्रवेश गरेका थिए । त्यसबेला कसैले पनि ती विमानको उडान पत्ता लगाउन सकेका थिएनन् ।

तर यसपटक सबै खुल्लमखुल्ला भइरहेको छ । द एटलान्टिकका अनुसार यस साता ‘फ्लाइट ट्राकर’ मा दर्जनौँ अमेरिकी लडाकु विमान मध्यपूर्वमा उडिरहेको देखिएको थियो । कतिपय विश्लेषकहरु भने मध्यपूर्वमा ठूलो शक्ति तैनाथ गरेर अमेरिकाले इरानलाई सन्देश मात्रै दिन खोजेजस्तो देखिएको बताउँछन् ।

यदि इरानमाथि सम्झौताका लागि दबाब बढाउन मात्रै अमेरिकाले मध्यपूर्वमा सैन्य परिचालन गरेको हो भने कालान्तरमा सैनिक र सैन्य उपकरण त्यहाँबाट फिर्ता हुनेछन् । तर, अहिलेको अवस्थामा ठ्याक्कै यस्तै हुन्छ भन्ने स्पष्ट छैन । किनभने स्विट्जरल्याण्डको जेनेभामा दुई मुलुकका अधिकारीबीच उच्चस्तरीय वार्ता असफल भएपछि बल्ल ती लडाकु विमानले मध्यपूर्वतर्फ उडान भरेको खुलेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानविरुद्ध संक्षिप्त युद्ध लड्नेबारे विचार गरिरहेको जनाएका छन् । उनले भनेका थिए, ‘मेरो विचारमा म यति भन्न सक्छु, म यसबारे विचार गरिरहेको छु ।’ ट्रम्प प्रशासनले यसबारे विस्तृत जानकारी भने दिएको छैन । विश्लेषकहरुका अनुसार अमेरिकाले मध्यपूर्वमा सैन्य परिचालन बढाउँदै गर्दा इरनमाथि उक्त सैन्य क्षमताको प्रयोग गर्न राष्ट्रपतिमाथि अप्रत्यक्ष दबाब पनि बढ्दै जानेछ ।

यसै आशङ्कालाई बल पुर्‍याउँदै अमेरिकी सञ्चार माध्यमहरु चाहिँ राष्ट्रपति ट्रम्प इरानविरुद्ध व्यापक एक साता लामो युद्ध लड्ने मुडमा रहेको बताउँछन् । केही दिनअघि राष्ट्रपति ट्रम्पले इरानविरुद्ध आक्रमण गर्ने वा नगर्नेबारे आगामी १०–१५ दिनमा निर्णय गरिसक्ने टिप्पणी गरेका थिए । स्रोतलाई उद्धृत गर्दै अमेरिकी अनलाइन समाचार पोर्टल एक्सियोसले जनाएअनुसार यो युद्धमा इजरायलको पनि संलग्नता रहने सम्भावना छ ।

अघिल्लो वर्षको जुन महिनामा १२ दिनसम्म इजरायलले इरानको सैन्य तथा आणविक पूर्वाधार तथा नेतृत्वलाई लक्षित गरी हवाई कारवाही गरेको थियो । पछि अमेरिकाले पनि इजरायलसँगै इरानविरुद्ध हमलामा उत्रिएको थियो । यस पटकको हमला भने गत वर्षभन्दा विस्तृत हुने र यसले इरानी राज्यसत्ताका लागि अस्तित्वकै सङ्कट ल्याउने खालको हुने दाबी गरिएको छ ।

पहिले पनि राष्ट्रपति ट्रम्पले इरानको सत्ता परिवर्तनको सम्भावनातर्फ सङ्केत गरेका थिए । इजरायलसँग मिलेर इरानमाथि आक्रमण गर्ने बेला अघिल्लो जुन महिनामा नै उनले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीतर्फ इङ्गित गर्दै ‘इजी टार्गेट’ अर्थात् सजिलो निशाना’ को संज्ञा दिएका थिए । त्यसबेला उनले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेखेका थिए, ‘मलाई उनी (खामेनी) कहाँ लुकेका छन् भन्ने ठ्याक्कै थाहा थियो । तर, मैले इजरायल वा विश्वकै महान् र शक्तिशाली अमेरिकी सशस्त्र बललाई उनको ज्यान लिने अनुमति भने दिइनँ ।’

रक्षा अधिकारीहरुका अनुसार इरानी नेताहरुलाई लक्षित गरी ‘टार्गेटेड स्ट्राइक’ अहिले पनि राष्ट्रपतिसमक्ष सैन्य विकल्पका रुपमा अघि सारिरएको छ । केही समयअघि अमेरिकाको विशेष सुरक्षा बलले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई सुतिरहेको शयनकक्षबाट नियन्त्रणमा लिएका थिए । कतिपयले अमेरिकाले इरानमा यस्तै कारवाही गरी खामेनीलाई समात्ने अनुमान गरेका छन् । तर, एटलान्टिकले भने अहिलेसम्म अमेरिकाले इरानी नेतृत्वविरुद्ध यस्तै किसिमको कारबाही गर्ने सम्भावना भने नरहेको जनाएको छ ।

ट्रम्पले हालै इरानमा भएको प्रदर्शनका क्रममा ३२ हजार जनाको ज्यान गएको दाबी गरेका थिए । विश्लेषकहरु ट्रम्पको यो भनाइलाई इरानमाथि सम्भावित हमलापछि पनि इरानी जनताको असन्तुष्ट खेमा आफ्नो पक्षमा आओस् भन्ने चाहनाका रुपमा अथ्र्याउँछन् । इरानको शीर्ष नेतृत्वलाई हटाउँदा त्यहाँका आन्दोलनकारीको मनोबल बढ्ने र अमेरिकाले लामो समयदेखि चाहेको राजनीतिक परिवर्तन आउन सक्ने अनुमान गरिएको छ ।

इरानले आफूमाथि हमला भएमा ‘निर्णायक जवाफ’ दिने चेतावनी दिएको छ । इरानले अमेरिकी कारवाहीको जवाफमा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य आधारमा हमला गर्ने चेतावनी दिएको छ । अमेरिकाले इरानको शीर्ष नेतृत्वलाई समाप्त परेमा त्यहाँको शक्तिशाली सैन्य शाखा इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले सत्ता कब्जा गर्ने र अमेरिकाविरुद्ध अझ बढी आक्रामक र शत्रुतापूर्ण हिसाबमा प्रस्तुत हुने जोखिम पनि रहेको विश्लेषण गरिएको छ ।

एक सैन्य विशेषज्ञका अनुसार यदि इरानले प्रत्याक्रमण गरेर अमेरिकी सैन्य अखडा वा सैनिकहरुलाई निशाना बनायो भने स्थिति अत्यन्तै अनियन्त्रित र अकल्पनीय बन्नेछ । यस्तो अवस्थामा ट्रम्पले कस्तो कदम चाल्छन् भन्ने कसैले भन्न सक्दैन ।

गत वर्ष नटान्ज र फोर्दो आणविक केन्द्रमा भएका अमेरिकी हमलाको जवाफमा इरान निकै सन्तुलित र योजनाबद्ध हिसाबमा प्रस्तुत भएको थियो । इरानले अमेरिकालाई आफूले गर्न लागेको हमलाको पूर्वजानकारी मध्यस्थकर्ताहरुमार्फत पहिले नै दिइसकेको थियो । फलस्वरुप इरानको जवाफी आक्रमणअगावै अमेरिकाले कतारको अल–उदेद हवाई अखडाबाट आफ्ना सैनिकहरू सुरक्षित रूपमा हटाउन र यस क्षेत्रमा हवाई प्रतिरक्षा प्रणाली बलियो बनाउन सफल भएको थियो । त्यसैले, इरानले प्रहार गरेका क्षेप्यास्त्र सजिलै खसालिएका थिए ।

तर, यसपटक परिस्थिति बदलिएको छ । धेरैको बुझाइमा यस पटक इरानी सत्ता पहिलेभन्दा निर्मम रुपमा प्रस्तुत हुनेछ । इरानी राजनीतिक नेतृत्वले आफ्नो अस्तित्व जोगाउन आफ्नै जनतामाथि निर्मम दमन गरेको छ । अमेरिकाविरुद्ध पनि इरानले जथाभावी प्रतिशोधपूर्ण कदम चाल्न सक्ने जोखिम रहन्छ ।

आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअअघि इरानमाथिको सैन्य ट्रम्पका लागि राजनीतिक रुपमा पनि जोखिमपूर्ण हुने विश्लेषण गरिएको छ । ट्रम्पले अमेरिका फर्स्ट भन्ने नाराका चुनाव जितेका हुन् । दशकौँ यता विश्वका विभिन्न कुनामा भएका युद्धमा अमेरिकी संलग्नताबाट असन्तुष्ट मतदाताले ट्रम्पलाई दोस्रो पटक ह्वाइट हाउस पुर्‍याएका हुन् । यस्तो अवस्थामा फेरि मध्यावधि निर्वाचनअघि इरानविरुद्ध अर्को ठूलो युद्धमा होमिनु उनका लागि राजनीतिक रूपमा महङ्गो पर्नसक्ने विश्लेषण गरिएको छ ।

आइतबार बेलुका यो समग्री तयार पार्दै गर्दा रोयटर्सले अमेरिका र इरानबीच नयाँ चरणको वार्ताको तयारी भइरहेको समाचार सार्वजनिक गरेको छ । वरिष्ठ इरानी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाए अनुसार दुई मुलुकबीच मार्च महिनाको शुरुमा हुने तय भएको छ । वार्ताबाटै दुई देशबीच कायम समस्याको समाधान होस् भन्ने कामना गरौँ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ९ : ५७ बजे

मकवानपुरमा रास्वपालाई ठूलो झट्का, जिल्ला सभापति पराजुली कांग्रेसमा प्रवेश

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुली

आधारभूत स्वास्थ्य सेवामा पहुँच बढाउँदै ‘टेम्केमैयुङ’

भोजपुर– भौगोलिक विकटताका कारण समस्या भोग्दै आएका स्थानीयलाई सहज रुपमा

दुर्घटनामा परेको बस माछापुच्छ्रे ट्राभल्सको : मालिक पनि थिए सवार

गण्डकी – सोमबार बिहान धादिङमा दुर्घटनामा परेको यात्रुबाहक बस पोखराबाट

नवलपरासीको देवचुलीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा सवारी दुर्घटना हुँदा एक

मौसम परिवर्तनसँगै बिरामी बढे : सावधानी अपनाउन चिकित्सकको आग्रह

काठमाडौं – काठमाडौं उपत्यका लगायत देशभर भाइरल ज्वरो र रुघाखोकीका