झापा-१ मा पुराना दलका नयाँ उम्मेदवारलाई थपिएका मतदाता निर्णायक « Khabarhub

झापा-१ मा पुराना दलका नयाँ उम्मेदवारलाई थपिएका मतदाता निर्णायक



काठमाडौं- तेस्रो प्रयासमा झापा-१ बाट अघिल्लो चुनावमा निर्वाचित भएका कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा अहिले मैदानमा छैनन् । कांग्रेसले विगतमा टिकट नपाएका कांग्रेस जिल्ला कार्यसमिति उपसभापति केशवराज पाण्डेलाई उम्मेदवार बनाएका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी युवा उम्मेदवार निशा डाँगी र पुराना कम्युनिस्ट नेता रामचन्द्र उप्रेतीले एमालेबाट टक्कर दिइरहेका छन् ।

झापा-१ मा नेपाली कम्युनिस्ट पार्टीले अशेष घिमिरेलाई उम्मेदवार बनाएको छ । हर्क साम्पाङको श्रम संस्कृति पार्टीले केवलराज राईलाई अगाडि सारेको छ । झापा-१ का मतदातालाई अहिले कसलाई भोट हाल्ने भन्ने अन्योल छ । आश्चर्य त के छ भने पुराना भनिएका पार्टीहरुले पनि यस पटक नयाँलाई उम्मेदवार बनाएका छन् ।

नेपाली कांग्रेसले ०७९ मा जितेको क्षेत्र भएकाले पाण्डेलेलाई जित्ने उम्मेदवारको रुपमा गनिएको छ । तर, युवामाझ लोकप्रिय रास्वपाकी निशाले पाण्डेलाई चुनौती दिइरहेकी छन् । ‘तीन जना उम्मेदवारको मात्रै चर्चा सुनिन्छ । हाम्रो घर टोलमा एमाले कांग्रेस र रास्वपाको उम्मेदवार आइपुगिसक्नुभयो ।’ काँकरभिट्टाका व्यवसायी सुबत राजवंशी भन्छन्, ‘कसलाई भोट दिउँ भन्ने विषयमा अहिलेसम्म निर्णयमा पुगेको छैन । हामीलाई त वारीपारी आवजातमा सबैलाई समान होस् । नेपालको सामान पानीट्याङ्कीमा बेचबिखान गर्न र पानीट्याङ्कीको सामान नेपालमा बेचबिखान गर्न सहज बनाइदिने नेता पाए राम्रो । भन्सार महसुल सुलभ होस् भन्ने हाम्रो माग छ ।’

झापा-१ मा कांग्रेस, एमाले र रास्वपा चहलपहल बढी देखिन्छ । शहरी क्षेत्रमा रास्वपाले राम्रो चर्चा पाएको छ । गाउँका मतदाता र पाँचथर ताप्लेजुङबाट बसाइँ सरेर आउनेहरू आ-आफ्ना पार्टीका उम्मेदवार जिताउने पक्षमा छन् । लामो समयदेखि कांग्रेसमा क्रियाशील रहेका नेताहरू पाण्डेको पक्षमा खुलेर लागेको देखिन्छ । पाण्डेको हकमा संस्थापन र इतर दुवै एक भएको देखिन्छ ।

कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले पनि यहाँ सबै नेता तथा कार्यकर्तालाई पाण्डेको पक्षमा उभिन भनिसकेका छन् । यता नेकपा एमालेको अग्नि खरेल समूहले भने उप्रेतीलाई सहयोग नगरेको चर्चा छ । तर, एमालेका नेता र स्वयं खरेल भने यो कुरा स्वीकार गर्दैनन् । पुराना कम्युनिस्ट नेता र नेपाल बहुद्देश्यीय सहकारी संस्थामार्फत स्थानीयलाई रोजगारी दिएको भन्दै उप्रेतीको पनि चर्चा चुलिएको छ ।

देशव्यापी रुपमा देखिएको रास्वपाको चर्चाको हावाले निशालाई पनि लाभ मिलेको देखिन्छ । ‘हामीलाई स्थानीय तहमा भिजेको नेता चाहिन्छ । कसलाई मत हाल्ने भन्दापनि स्थानीय क्षेत्रका समस्याहरु कसले उजागर गर्न सक्छ त्यसलाई चुन्ने हो ।’ मेचीनगर १० की स्थानीय दीपा मिश्र भन्छिन्, ‘जसले यहाँको समस्या समाधान गर्छ, उसैलाई चुन्छौँ । हामीलाई समयमा मल चाहिएको छ । यहाँ उत्पादन भएको सुपारीको उचित बजार मूल्य चाहिएको छ ।’

कस्तो छ विगत ?

विगतमा एमालेको किल्ला रहेको यो क्षेत्र ०७९ मा कांग्रेसले हात पारेको हो । २०५६ को निर्वाचनमा पनि कांग्रेसका नरेन्द्रविक्रम नेम्बाङ यहाँबाट निर्वाचित भए । २०६४ सालमा माओवादीको लहर चलेका बेला धर्म घिमिरे निर्वाचित हुँदा २०७० मा एमालेका रविन कोइराला निर्वाचित भए । २०७४ सालमा नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाबाट राम कार्कीले यहाँ विश्व प्रकाश शर्मालाई हराएका थिए ।

२०४८ मा एमालेका राधाकृष्ण मैनाली विजयी भएको यो क्षेत्र २०५१ मा पनि एमालेकै देवीप्रसाद ओझाले हात पारेका थिए । इतिहास हेर्दा यो क्षेत्रबाट अहिलेसम्म एमालेका उम्मेदवारहरू बढी विजय भएका छन् । दुई पटक माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भए पनि यसपटक उम्मेदवार बनेको नेकपाका अशेष घिमिरेको पक्षमा भने राम्रो माहोल नरहेको स्थानीयहरु बताउँछन् ।

२०७९ को निर्वाचनमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा तेस्रो प्रयासमा विजयी हुँदा एमालेका अग्नि खरेल पराजित भएका थिए । त्यसबेला शर्माले २९,६१४ मत ल्याएका थिए भने एमालेका खरेलले २५,२४९ मत ल्याए ।

समानुपातिकमा पनि ०७९ को निर्वाचनमा नेपाली कांग्रेस नै अगाडि थियो । त्यसबेला कांग्रेसले २५ हजार ४२० मत ल्याउँदा नेकपा एमालेले २२ हजार ५४७ मत ल्याएको थियो । तेस्रो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले १३,७५० मत ल्यायो । माओवादी केन्द्रले भने ५ हजार मात्रै मत पायो । तत्कालीन नेकपा एकीकृत समाजवादीले केबल ५२९ मत ल्याएको थियो ।

झापा-१ मा अहिले कुल १ लाख ३१ हजार ३७ मतदाता छन् । तीमध्ये पुरुष मतदाता ६५ हजार ८५८ र महिला मतदाता ६५ हजार २०९ जना छन् । पछिल्लो पटक निर्वाचन आयोगले दिएको जानकारी अनुसार १० हजार ६९० जना मतदाता नयाँ थपिएका छन् । यो क्षेत्रमा यी मतदाताहरूको मत नै निर्णायक हुने बुझिन्छ ।

जेन-जी आन्दोलनपछि फेरिएको परिस्थितिका कारण नयाँ मतदाताहरू आउँदा ती मतदाताहरू नयाँ पार्टीमा खुलेको अवस्थामा निशाको पल्लाभारी हुने धेरैले आँकलन गरेका छन् । स्थानीय समुदायसँग भिजेको र लामो समयदेखि तल्लो तहमा रहेर काम गरेको अनुभवका कारण पाण्डे र मैनालीलाई पनि चानचुने उम्मेदवार मानिँदैन । कतिपय युवाले नै निशामा परिपक्वता नभएका कारण पुरानै दलका नेतालाई जिताउनुपर्ने मत जाहेर गर्दै आएका छन् ।

झापा-१ मा बुद्धशान्ति गाउँपालिका वडा नं ४, ५, ६ र ७ पर्छ । त्यस्तै, मेचीनगर नगरपालिकाका १५ वडा र भद्रपुर नगरपालिकाका ९ र १० वडा पर्छन् । पहाडी जिल्लाहरु पाँचथर ताप्लेजुङबाट आउने प्राय बुद्धशान्ति गाउँपालिका र मेचीनगर नगरपालिकामा बसोबास गरिरहेका छन् । उनीहरू पुरानै दल अथवा आफ्नो पुरानै पार्टीलाई मतदान गर्ने पक्षमा रहेको देखिन्छ ।

सबै जाति भाषा धर्मको बसोबास रहेको झापा-१ मा जातीय मतमध्ये केही हर्क साम्पाङको पार्टीले काट्ने देखिन्छ । त्योबाहेक अरु मत मिश्रित रूपमा चारै वटा पार्टीका उम्मेदवारलाई आउँने विश्लेषण गरिएको छ । काँकारभिट्टा, धुलाबारी, बुद्धशान्ति लगायतका क्षेत्रका शिक्षित मतदाताहरू प्रचारभन्दा पनि काम गर्ने नेतृत्व चुन्न तम्सिएका देखिन्छन् ।

बुद्धशान्ति गाउँपालिका वडा नं ६ का स्थानीय अरविन तामाङ भन्छन्, ‘म त कोरियाबाट छुट्टीमा आएको हुँ । कसलाई मत हाल्ने भन्दा पनि कसले राम्रो काम गर्न सक्छ, त्यसैलाई दिने हो । पुरानो पार्टीमा पनि एमालेभन्दा कांग्रेस निकै राम्रो लागेको छ । नयाँ पार्टी भनेर मात्र होइन, भिजन छैन भने नयाँ पार्टीलाई पनि यत्तिकै मत दिने अवस्था छैन ।’ अरविन भन्छन्, ‘निशाजीको प्रस्तुति प्रतिनिधि सभामा हेरिसकियो, खोइ के कुरा उठाउनुभयो ? उहाँ त दुईमा टिकट नपाएर एकमा आउनुभएको हो । आपत विपत पर्दा हामीलाई पाण्डे र मैलाली नै चाहिन्छ ।’

तामाङ विदेशमा भएपनि आफ्ना आमाबुबा नेपालमा भएकाले आमाबुवालाई काम लाग्ने उम्मेदवारलाई चुन्ने बताउँछन् ।

निशाबाहेक सबै नयाँ

राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक उम्मेदवार रहेकी निशा डाँगी प्रतिनिधिसभामा टेस्ट भइसकेकी छन् । उनी बाहेक अन्य उम्मेदवार पाण्डे, मैनाली, घिमिरे र राई भने प्रतिनिधि सभामा नयाँ हुन् । निशा एक पटक प्रतिनिधिसभामा टेस्ट भइसकेका कारण उनलाई पुनः किन जिताउनु पर्‍यो भन्ने मतदाता पनि यहाँ भेटिन्छन् । एमाले उम्मेदवार उप्रेतीप्रति नकारात्मक दृष्टिकोण नभए पनि पार्टी अध्यक्ष केपी ओलीका कारण उनको पनि आलोचना गरिन्छ । गगन थापा समूहमा रहेका कारण पाण्डेलाई जिताउनुपर्छ भन्ने पनि धेरै छन् ।

कांग्रेसका पाण्डेलाई विश्वप्रकाशको साख जोगाउन निकै चुनौती देखिन्छ । निशाले एमाले र कांग्रेसका असन्तुष्ट पक्षको मत काटेर पल्लाभारी गराउन सक्ने सम्भावना रहेको मेचीनगर वडा नम्बर ३ का स्थानीय जमुना लिम्बु बताउँछिन् । चिया पसल गर्ने उनी चिया पिउन आउने अधिकांशले डाँगी ,पाण्डे र मैनालीको विषयमा चर्चा गरेको सुनाइन् ।

आफ्नो घरमा उत्पादन भएको गाई भैँसीको दूध किनिदिएर र घरगाउँका युवा युवतीलाई रोजगारी दिएर मैनालीले आफूलाई गुन लगाएको मेचीनगर १२ कि स्थानीय रामकला चापागाईं बताउँछिन् । ‘हामीलाई त मैनाली सरले राम्रै गुन लगाउनुभएको हो । उहाँको सहकारीमा हाम्रा समुदायका मान्छेल रोजगारसमेत पाएका हुन् । एनएमसी सहकारीको बदनाम पनि भएको छैन ।’ चापागाईं भन्छिन, ‘अप्ठ्यारोमा साथ दिएको मान्छेलाई हामीले पनि साथ दिनुपर्छ जस्तो लागेको छ ।’

उम्मेदवारी दिएका पाँचै जना नेताहरू आफूले जित्ने दाबी प्रस्तुत गर्दै मतदातासम्म अहिले पुगिरहेका छन् । उनीहरू चिया श्रमिकको ज्याला बढाउने, सुपारीको बजार मूल्य कायम गर्ने, कृषिका लागि बिउ रविजन र बजारको सुनिश्चितता गर्ने, खाद्य बालीको उचित बजार मूल्य कायम गर्ने, व्यवसायीहरूलाई व्यवसायका लागि प्रोत्साहन गर्ने लगायतका एजेण्डाहरु लिएर मतदातासम्म पुगेको देखिन्छ ।

यस्तै काँकडभिट्टा नाकाबाट आयात हुने वस्तुको भन्सार दर न्यून गर्ने लगायतका एजेन्डा कांग्रेस, एमाले र नेकपाले प्रस्तुत गरिरहेका छन् । नयाँ खुलेको राष्ट्रिय स्वतन्त्र पार्टीले भने एजेण्डाभन्दा पनि पुरानालाई धेरैपटक हेर्नु भयो, यसपाली नयाँलाई हेरौँ भन्ने भाष्यका साथ मतदाताहरुसँग पुगेको देखिन्छ ।

कांग्रेस र रास्वपा मख्ख

झापा-१ मा आफूले जित्नेमा रास्वपा र नेपाली कांग्रेस ढुक्क छन् । कांग्रेस र रास्वपाका शीर्ष नेताहरू झापा-१ बाट आफ्ना उम्मेदवारले जसरी पनि जित्ने दाबी प्रस्तुत गर्छन् ।

झापाका राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू झापा-१ मा आफ्नो विजय सुनिश्चित रहेको बताउँछन् । जिल्ला सचिव शम्भु सुस्केरा झापाका पाँच वटा निर्वाचन क्षेत्रमध्ये आफ्नो टार्गेट पाँचै वटा निर्वाचन क्षेत्रमा जित्ने भएपनि झापा १ भने सुनिश्चित रहेको दाबी गर्छन् । झापा-४ मा आफैँ उम्मेदवार रहेका सुस्केरा २०७९ को निर्वाचनमा भने त्यहाँबाट उपविजेता भएका थिए ।

‘झापा-१ मा हामीलाई कम्फर्टेबल छ, कुनै समस्या नै छैन ।’ उनले भने, ‘हाम्रो उम्मेदवारप्रति सबैको लहर छ ।’ उम्मेदवार निशा स्वयं पनि मतदाताहरूसँग पुगेर आफू जित्ने बताइरहेकी छिन् । उनले घरदैलोबाटै आफूले जितिसकेको घोषणा हुन बाँकी रहेको बताइन् ।

यता नेपाली कांग्रेसले पनि पाण्डेलाई जित्ने नेताको रुपमा गनेको छ। जिल्ला उपसभापति पाण्डे जित्नकै लागि आफूले उम्मेदवारी दिएको बताउँछन् । ‘म त जनताको सेवक हुँ । विगतबाट नै म जनताका हरेक दुःख सुखमा अगाडि बढिरहेको छु ।’ घरदैलो गरिरहेका उनले भने, ‘झापा-१ बाट पनि नेपाली कांग्रेस हार्‍यो भने त आश्चर्य नै हुन्छ । केही मतदाता अन्योलमा पर्नुभएको रहेछ । हामी उहाँहरूको टोलमा पुगेपछि उत्साहित हुनुहुन्छ ।’

एमालेका रामचन्द्र उप्रेती पनि आफू जित्नकै लागि निर्वाचनमा उठेको बताउँछन् । ‘मैले इमान्दारपूर्वक समाजसेवासँगै यहाँका जनतालाई रोजगारीमा जोड्ने समेत काम गरेको छु ।’ मैनालीले भने, ‘मेरो पृष्ठभूमि जनताले बुझिसक्नुभएको छ । म जनताको सेवक हुँ । त्यसकारण मलाई कुनै समस्या छैन ।’ जनतासँग भिजेका कारण मैनालीले ओलीमाथिको आक्रमण झेल्नु परेको छैन ।

एमाले झापा जिल्लाका एक नेताले भने, ‘मैनालीजीको बौद्धिकता उच्च छवि र स्थानीयसँग भिजेका कारण उहाँले जित्नुपर्ने हो । पार्टीविरुद्ध छरिएका भ्रमका कारण धेरै मेहनत गर्नुपर्ने अवस्था छ ।’

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  ७ : ३५ बजे

हेटमायरको विष्फोटक ब्याटिङमा वेस्ट इन्डिजले जिम्बाब्वेलाई दियो २५५ रनको विशाल लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले

गौर घटनामा २० जनाविरुद्ध मुद्दा अघि बढाइयो

रौतहट– रौतहटको गौरमा दुई समुदायबीच भएको साम्प्रदायिक झडप तथा आगजनी

कांग्रेसले काठमाडौँ, पोखरा र सुर्खेतमा चुनावी सभा गर्दै

काठमाडौँ- नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न सहरमा चुनावी

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गरिन्छ : उपसभापति अर्याल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले निर्वाचित

इमान्दार नेता र नेतृत्वलाई मतदान गरौँ : पुष्पा भुसाल

ललितपुर- नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले उमेदवारको इमान्दारिता, योजना र