काठमाडौं – अचेल एकपछि अर्का कलाकारलाई राजनीतिको चस्का लागेको छ। कोही कलाकारितमा ओरालो यात्रा लागेपछि राजनीतिमा जोडिएका छन् त कोही उचाइतिर पुगेको करिअरबीच राजनीतिक फाइदा खोज्न दलतिर लाग्छन् ।
कलाकारहरू राजीतिमा प्रवेश गर्ने चलन पनि एकखालको फेसन जस्तै भएको छ। तर यी कलाकार पद प्राप्ति नहुनेबित्तिकै विरक्तिएर पुरानै पेशामा फर्किन पछि पर्दैनन् ।
करिश्मा मानन्धर, रेखा थापा, भुवन केसीलगायत कलाकारहरूले यसअघि नै ‘पदका लागि राजनीतिमा प्रवेश गरेर केही नपाएपछि छाडेका’ केही उदाहरण हुन् ।
०७९ मा नेकपा एमालेले टिकट नदिएपछि करिश्मा मानन्धर टाढिइन् । एमाललेबाट सांसद या अन्य कुनै नियुक्ति नपाएपछि विरक्तिएकी उनी भदौको जेन–जी आन्दोलनको बाहनामा पार्टी छोडेर बाटो लागिन् ।
तत्कालीन नेकपा माओवादी केन्द्रले टिकट नदिएपछि रेखाले दल छोडेर राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेको चर्चा हुने गर्छ । उनी र प्रचण्ड कुनै बेला छमछमी नाचेको भिडियो अहिले पनि सामाजिक सञ्जालमा भेटिन्छ ।
एमालेले चलचित्र विकास बोर्डको अध्यक्ष नबनाएपछि भुवन केसी कांग्रेसतिर ढल्किए । बोर्डको कार्यकाल सकिएपछि उनी स्वतन्त्र बनेको बताउन थालेका छन्। अर्थात्, कांग्रेसले दिएको पदमा हुञ्जेल अडिए, अब कांग्रेस पनि ओरालो लागेपछि उनले आफूलाई स्वतन्त्र कलाकारको ट्याग भिराएर हिँडिरहेका छन् ।
थपिए– प्रकाश सपुत
प्रकाश राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पुस अन्तिममा प्रवेश गरे । त्यसअघि उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गर्दा रास्वपाकै कार्यकर्ताको आक्रमणको तारो बने । तर पुस १३ गते बालेन्द्र शाह रास्वपा प्रवेश गरेसँगै सपुत पनि त्यतै ढल्किए । त्यहीबेला उनी समानुपातिक सांसद बन्ने लोभमा रास्वातिर गुपचुप छिरे ।
पुस अन्तिममा सामानुपातिक सांसदको बन्द सूची सार्वजनिक भएपछि मात्रै उनी रास्वपामा प्रवेश गरेको खुलेको थियो । कन्सर्ट र राजनीतिको व्यस्ताताले उनी माघ १ मा प्रदर्शनमा आएको आफ्नै फिल्म ‘मिरमिरे’मा पनि सहभागी भएनन् ।
माघ ११ गते साँझसम्म गायकका रुपमा सिन्धुलीमा देखिएका प्रकाश १२ गतेदेखि फरक अवतारमा देखिए । यही दिनमात्रै उनले रास्वपा प्रवेशको सार्वजनिक स्वीकार र घोषणा गरे ।
सभापति रवि लामिछानेसँग गफ गरिरहेको र बालेन्द्रसँग केन्द्रीय कार्यालयमा उभिएको तस्बिर राखेर प्रकाशले आफूलाई त्यही दिन राष्ट्र निर्माणका लागि रास्वपाको सिपाहीकारुपमा प्रस्तुत गरे ।

त्यही बेला टिप्पणी भएकै हो– पद नपाए कलाकारले पार्टी छाड्छन्, प्रकाशले नि त्यसै गरे भने आश्चर्य नमान्दा हुन्छ !
त्यसयता प्रकाशको ‘फेसबुक वाल’ बिलकुल नै फरक भयो । कलासँग जोडिएका सामाग्री सार्वजनिक गर्दै आएका प्रकाश राजनीतिक पोस्ट गर्न थाले । उनी अन्तर्वार्तामा राजनीतिक चेतको कुरा गर्न थाले । गायक प्रकाश सपुत एकाएक नेता पो देखिए ।
दुई महिना बितेकै छैन । प्रकाशले सफ्ट राजीनामा सार्वजनिक गरिसके । माघदेखि चुनावको तीन–चारसम्म बालेनकै गेटअप नक्कल गरेर चुनावी प्रचारमा हिँडेका प्रकाशले लेखेका छन्, ‘ह्यात्तेरी ! कस्तो धोका रह्यो भन्या !’
धोका ? प्रकाशले ‘डिल भइसकेको सम्झौता कार्यान्वयन नभएकाले धोका’ भनेका हुन् ।
प्रकाश रास्वपामा प्रवेश संगठन निर्माण गर्ने गरी गएका होइनन् । उनी सांसद पदमा डिल भएपछि गएका हुन् । पार्टी स्रोत भन्छ, ‘उम्मेद्वारहरूको खोजी गर्दा सपुतको नाम सिफारिस भएको हो । नेतृत्वको समानुपातिक सांसद बन्ने प्रस्ताव स्वीकार गर्नुभएको हो ।’
समानुपातिक उम्मेद्वारमा दलित क्लस्टरबाट नाम परेपछि उनी सांसद बन्ने सम्भावना बलियो थियो । चुनावअघि रास्वपाको असामान्य क्रेज देखेर केहीले प्रकाशलाई सांसद बन्ने पक्का रहेको भन्दै बधाई पनि दिएका थिए ।
समानुपातिकतर्फ पनि रास्वापले करिब ५० प्रतिशत बढी मत पायो, ५७ सिट जित्यो । पार्टीले चाहेको भए उनी ‘सियोर सट’ सांसद बन्थे ।
संसदमा महिला सहभागिताको कारण देखाएर प्रकाशलाई पार्टीले सांसद पत्याएन । यसैलाई प्रकाशले धोका भनेका हुन् ।
उनकै अनुसार सभापति लामिछानेले फोनमा भनेका थिए, ‘प्रकाशजी तपाईं छुट्नुभयो । तपाईंजत्तिको मान्छेले संवैधानिक व्यवस्था बुझ्नुपर्छ । केही छैन । तपाईंले उठाउन खोजेको समानताको मुद्दा हामी सबैको साझा हो । त्यसमा प्राथमिकताका साथ काम हुन्छ । बरू तपाईंको आगामी राजनीतिक यात्राबारे केही सोच छ भने मलाई भन्नुहोला । पार्टीमा बसेर पनि देशका निम्ति योगदान गर्न सकिन्छ । राजनीतिमा रुचि नभए पहिले जस्तै स्वतन्त्र रुपमा आफ्नो सिर्जनामार्फत् हामीलाई सहयोग र खबरदारी गर्नुहोला ।’
लामिछानेले प्रकाशलाई भनेको अन्तिम लाइन ख्याल गर्नुभयो ? पार्टी छोड्दा पनि हुन्छ भन्ने आशय व्यक्त गरेछन् । नभए ‘राजनीतिमा रुचि छैन भने पहिले जस्तै स्वतन्त्र रुपमा आफ्नो सिर्जनामार्फत् हामीलाई सहयोग र खबरदारी गर्नुहोला ।’ भन्नुको अर्थ के ?
अनि आलोचना–तारिफ भोगेर, ताली–गाली दुवै पचाएर, राम्रै फस्टाएको गायन करिअरलाई धक्का पुग्ने थाहा पाउँदा पाउँदै सांसद बन्न रास्वपा प्रवेश गरेका प्रकाशलाई पहिलो सहमति नै कार्यान्वन नगर्नु धोका होइन त ?
पदकै लागि पार्टीमा प्रवेश गरेको भन्ने तर्क आउँछ भन्ने प्रकाशलाई थाहा छ । त्यसैले किन पद चाहिन्छ ? भन्ने स्पष्ट पार्न उक्त सफ्ट राजीनामामा उनले लेखेका छन्, ‘देशका लागि केही गर्न पद नै चाहिने भन्ने त होइन । यत्तिकै पनि त योगदान गर्न सकिन्छ हैन र ?
हो, सकिन्छ । तर प्रभाव पर्ने गरी काम गर्न भूमिका चाहिन्छ । नत्र टेलिभिजनबाट खबरदारी गरिरहेका रबि लामिछाने पार्टी खोलेर आउने थिएनन् । हिपहप मार्फत् समाज बोलिरहेका बालेन लौरो लिएर उठ्नु पर्दैन थियो । त्यसैले भूमिका चाहिन्छ ।’

अब पार्टीले दिएको अन्य पदीय जिम्मेवारीमा पनि नबस्ने इच्छा सभापतिलाई जाहेर गरिसेकको उनले बताएका छन् । ‘सांसद बनाउन नसक्ने’ पार्टीको निर्णयले आफू अलमलमा परेकोसमेत प्रकाशको दुखेसो छ ।
सकारात्मक बन्दै उनी लेख्छन्, ‘एउटा व्यवसायिक कलाकारका रुपमा मलाई अलि अलमल त पक्कै भयो । मेरो समय म बिस्तारै ठिक गर्दै जाउँला । देशको समय सुध्रियो भने हामी सबैको समय राम्रो हुन्छ ।’ स्टार कलाकार कद बिर्सिए पार्टीमा लाग्दा प्रकाशलाई पहिलो गाँसमै ढुङ्गा लागेको छ ।
मनमा चिसो चाहिँ चुनावी प्रचारका क्रममै भएको रहेछ । सांसद बनाउन नसकिने जानकारी दिएपछि सभापति लामिछानेलाई फर्काएको जवाफ भन्दै उनले लेखेका छन्, ‘चुनावी अभियानका क्रममा विराटनरको चाँदनी चोकमा २०–३० जनाको अगाडि हाते माइकमा गीत गाउनु पर्दा मभित्रको एउटा स्टार कलाकार रोएको थियो । आज तपाईंको फोनले त्यो स्टारको आँसु पनि पुछियो । एउटा नेतृत्वमा हुनेैपर्ने यो गुण तपाईंमा सधैँ भइराखोस् ।’
प्रकाशको चित्त कति दुखेको होला ? बिडम्बना यो मुलुकको राजनीतिमा चित्त काम गरेको उदाहरण छैन भन्दा पनि हुन्छ ।
ढिलै भए पनि !
प्रकाशले आफू रास्वपामा प्रवेश गर्ने र सांसद बन्न लागि परेको कुरा ढिलै गरेर भए पनि सार्वजनिक गरेका छन् । ढिला होइन निकै ढिला गरेर । लगभग ‘पार्टीबाट टाढिएर कलाकार मात्रै बन्छु’ भन्ने आशयको वक्तव्यमा उनले रास्वापा नै रोज्नुको बुझाइ सेयर गरेका छन् ।
भ्रष्टाचार अन्त्य गर्ने स्थायी सरकार, बालेन्द्रलाई प्रधानमन्त्री बनाउन र राज्यको उपेक्षामा परेका दलित समुदायको पक्षमा सरकारको ध्यानकर्षण गराउने तीन उद्देश्यले रास्वपामा प्रवेश गरेको उनको स्पष्टीकरण छ ।
पार्टी प्रवेशका प्रमुख कारण उनले बुँदामा लेखेका छन् ।
पहिलो- नयाँ समय र आन्दोलनलाई सम्बोधन गर्न, पुरानो राजनीतिक अभ्यास, अस्थिरता र भ्रष्टाचार अन्त्य गर्न एउटा नयाँ राजनीतिक शक्तिका रुपमा स्थापित हुन रास्वपालाई समर्थन र सहयोग गर्ने ।
दोस्रो- बालेनको नेतृत्वमा स्थायी सरकार निर्माण गर्न खुलेर लागि पर्ने ।
तेस्रो- यसरी स्थापित नयाँ शक्ति र सरकारलाई उपेक्षित उत्पीडित हाम्रो समुदायको अनुहार देखाइरहने र झकझकाइ रहने ।
सांसद बनेपछि नीतिगत तहमा काम गर्नका लागि केही विषय प्राथकितामा राखेर तयारी गरिसकेको समेत उनले खुलाएका छन् । जातीय समानताका मुद्दामा सांसदका रुपमा काम गर्ने प्रकाशको इच्छा रहेको बुझिन्छ ।
त्यसैका लागि गैरराजनीतिक, दलित अधिकारकर्मी, संस्कृतिकर्मी र पर्यटन व्यवसायीहरूसँग संवादमा बसिसकेको उनले खुलाएका छन् ।
उनले अगाडि लेखेका छन्, ‘मलाई पहिलो उत्पीडित समुदायको मुद्दामा र अर्को नेपाली रैथाने मौलिक संस्कृतिको क्षेत्रमा ठोस नीति र योजना बनाएर काम गर्न सकिन्छ भन्ने लागेको थियो । धेरै थोक गर्न नखोज्ने यस्तै २–३ वटा विषयलाई फोकस गरेर यो पाँच वर्ष संसदीय अभ्यास गर्ने र तीन तहकै सरकारसँग समन्वय गरेर फिल्डमै खटिएर पनि काम गर्ने सोच थियो ।’
०००
यो पटकलाई प्रकाश सांसद बन्ने सम्भावनाको सूचकमा डिजास्टर गिरावट आएको छ । पार्टीको केही सांसद कारबाहीमा परे वा यस्तै भवितव्यले उनी सांसद बन्न सक्ने झिनो सम्भावना कायम छ ।

हुन त प्रकाश ठूलो फ्यान फलोइङ भएका गायक हुन् । गीतबाहेक अभिनय गर्दा पनि उनका दर्शक खुसी हुँदैनन् भन्ने प्रकाशले थाहा पाइसके ।
राज्य थर्काउने र मुटु चर्काउने गीत गाउनु नै प्रकाशको पहिचान हो । उनलाई दर्शकले चिनेको कारण नै यही हो । दर्शकले प्रकाशलाई माया गर्नुको कारण पनि यही हो ।
राजनीतिमा प्रवेश गर्दा एउटा विचारमा बाँधिनु पर्छ । करोडौंका गायक एउटा विचार बाँधिदा ठूलो संख्याका दर्शक अन्यायमा पर्न सक्छन् ।
त्यहीकारण केही तप्का र उनकै दर्शकहरू राजनीति प्रवेशसँग असन्तुष्ट थिए । केहीले ‘पदका लागि राजनीति’, ‘अवसरवादी’ जस्ता ट्याग थमाइदिएका थिए । उनी सांसद हुनुहुँदैन भन्नेहरू छेड्खानी हान्न थाले सके । गिज्याउन सुरु भइसक्यो ।
प्रकाशकै फिल्म ‘वसन्त’मा एक गीत छ, ‘माया त गरिस् कान्छा बिनास्वादैको’ यही गीतको सहयोगमा प्रकाशलाई ट्रोल गर्न थालिएको छ- राजनीति त गर्यौ प्रकाश बिनास्वादैको ।













प्रतिक्रिया