समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन « Khabarhub

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बाँके– बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता समूहले स्थानीय समुदायको समग्र विकासमा साझेदारी गर्दै आएको छ ।

काठ दाउरा बिक्रीबाट भएको आम्दानीलाई यो समूहले गाउँको विकासमा लगानी गरेको छ । कचनापुर खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत ट्याङ्की निर्माणदेखि उपभोक्ताको घरसम्म पाइप बिछ्याउने र मिटर जडान गर्ने कार्यमा समूहले ५० प्रतिशत लागत व्यहोरेको छ ।

‘यति मात्र होइन, गाउँको विद्युतीकरणमा २० प्रतिशत लगानी र तीन किलोमिटर सडकमा सडक बत्ती जडान गरेर समूहले मदुई गाउँलाई उज्यालो बनाएको छ’, समूहका अध्यक्ष भगानु थारु भन्छन्, ‘हामीले समूहका सदस्य र उनीहरूका परिवारलाई आवश्यक सहयोग गर्नुका साथै समुदायका हरेक पूर्वाधारमा साझेदारी गर्दै आएका छौँ ।’

अध्यक्ष थारुका अनुसार, सिँचाइका लागि मोटर र पाइप खरिदमा पनि समूहले ५० प्रतिशत अनुदान दिँदै आएको छ, जसले स्थानीय किसानलाई ठूलो राहत मिलेको छ । शिक्षा क्षेत्रमा स्थानीय लक्ष्मी माध्यमिक विद्यालयलाई ३० सेट बेन्च–डेस्क र आधुनिक शिक्षणका लागि स्मार्ट बोर्ड सहयोग गरेको यस समूहले विद्यालय भवन निर्माणमा पनि आर्थिक टेवा पु¥याएको छ ।

कक्षा १० मा पढ्ने विद्यार्थीलाई जनही वार्षिक तीन हजार रुपैयाँ शैक्षिक सहयोग प्रदान गरिँदै आएको समूहका सह–सचिव अरुण गौतमले बताए । उनका अनुसार, स्वास्थ्यतर्फ पनि समूहको सक्रियता उत्तिकै छ । गाउँका दुई स्वयंसेविकालाई वार्षिक प्रोत्साहन भत्ता, गर्भवती आमाहरूलाई पोसिलो खाना र शिशुका लागि न्यानो कपडा वितरण गर्ने कार्यले स्थानीयमा अपनत्व बढाएको छ ।

स्वास्थ्यतर्फ समूहले बिरामी पर्दा उपचारका लागि रकम अभाव भएमा सदस्यलाई २५ हजारसम्म तीन महिनाका लागि बिना ब्याज सापटी दिने गरिएको छ । समूहका कोषाध्यक्ष मीनबहादुर सेजुवालका अनुसार हालसम्म करिब ५० जनाले यो सुविधा लिइसकेका छन् ।

त्यस्तै, स्वरोजगार बन्न चाहने उपभोक्ताका लागि समूहले एक लाखसम्म सापटी दिने गरेको छ । दुई वर्षभित्र फिर्ता गर्ने गरी दिइने यो बिना ब्याजको रकमले हालसम्म २० जना उपभोक्ताले आफ्नै व्यवसाय सुरु गरिसकेका छन् । वनको संरक्षण र व्यवस्थापनले स्थानीयलाई प्रत्यक्ष रोजगारीसमेत दिएको छ ।

झाडी सफाइ, काठ कटान र घाटगद्दीको काममा बाहिरका मजदुर नबोलाई स्थानीय उपभोक्तालाई नै प्राथमिकता दिइन्छ । झाडी सफाइमा मात्रै वार्षिक सात लाख खर्च हुने गरेको र एउटा सिजनमा एक उपभोक्ताले ६० हजारसम्म आम्दानी गर्ने गरेको सहसचिव गौतमको भनाइ छ । (रासस)

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  १० : ०२ बजे

कास्की र पर्सापछि रुपन्देहीबाट पनि रविलाई ठूलो राहत, दुई गम्भीर अभियोगका मुद्दा फिर्ता

काठमाडौं– कास्की र पर्सापछि रुपन्देहीमा पनि सहकारी ठगीसहितको मुद्दा खेपिरहेका

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ वटा मन्त्रालयको

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति