‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही « Khabarhub

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही


९ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन तथा नियम उल्लङ्घनलाई नियन्त्रण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष ‘चेकिङ’ अभियानअन्तर्गत ‘राइड सेयरिङ’ सेवामा संलग्न १७५ जना चालक कारबाहीमा परेका छन् । 

उपत्यकाका विभिन्न व्यस्त क्षेत्रमा गरिएको अनुगमनका क्रममा ती चालकले प्रचलित कानुन विपरीत सवारी सञ्चालन गरेको पाइएपछि कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरीले कार्यालयले जनाएको छ ।

पछिल्लो समय उपत्यकामा राइड सेयरिङ सेवाको प्रयोग तीव्र रूपमा बढ्दै गएको र यससँगै अनधिकृत रूपमा सेवा सञ्चालन गर्ने, मापदण्ड पूरा नगरी यात्रु ओसारपसार गर्ने तथा ट्राफिक नियमको बेवास्ता गर्ने प्रवृत्ति पनि बढेको देखिएकाले उक्त अवस्थालाई नियन्त्रण गर्न लक्षित गर्दै विशेष चेकिङ अभियान सञ्चालन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।

उनले भने, ‘हामीले उपत्यकाका विभिन्न स्थानमा विशेष चेकिङ अभियान सञ्चालन गरेका छौँ । उक्त अभियानमा राइड सेयरिङका १७५ जना चालक कारबाहीमा परेका हुन् ।’ उनका अनुसार कारबाहीमा परेका अधिकांश चालकले ‘अनलाइन प्लेटफर्म’को अनुमति बिना अफलाइन रूपमा सेवा सञ्चालन गरिरहेका थिए ।

यसैगरी, जथाभावी स्थानमा यात्रु चढाउने र झार्ने (पिक एन्ड ड्रप) कार्य, सवारीसाधनको प्राविधिक अवस्था कमजोर हुनु, आवश्यक कागजात नहुनु तथा ट्राफिक नियमको उल्लङ्घन गर्ने गतिविधि पनि भेटिएको प्रवक्ता सुवेदीले जानकारी दिए । 

ट्राफिक प्रहरीका अनुसार राइड सेयरिङ सेवा सञ्चालनका लागि सम्बन्धित निकायबाट अनुमति लिनु, सवारीसाधनको नियमित मर्मतसम्भार गर्नु, चालकले आवश्यक कागजात बोकेको हुनु तथा तोकिएका नियमको पालना गर्नु अनिवार्य हुने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, ‘धेरै चालकहरूले यी आधारभूत मापदण्डको बेवास्ता गर्ने गरेको पाइएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो ।’

विशेषगरी व्यस्त चोक, अस्पताल क्षेत्र, विद्यालय आसपास तथा मुख्य सडकमा जथाभावी रोकिएर यात्रु ओसारपसार गर्दा यातायात अवरोध हुनाका साथै दुर्घटनाको जोखिम पनि बढ्ने भएकाले यसप्रति कडाइ गरिएको ट्राफिक प्रहरी प्रमुख अधिकारीको भनाइ छ ।

आगामी दिनमा पनि यस्ता अनुगमन अभियानलाई अझ प्रभावकारी बनाइने र नियम उल्लङ्घन गर्ने जो कोहीलाई पनि कारबाही गरिने प्रमुख अधिकारीले स्पष्ट पारे । उनले सर्वसाधारणलाई पनि सुरक्षित र कानुनी रूपमा सञ्चालन भएका सेवाहरू मात्र प्रयोग गर्न आग्रह गरेका छन् ।

ट्राफिक प्रहरीले यस अभियानलाई निरन्तरता दिँदै सवारी व्यवस्थापनलाई थप व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बनाउने लक्ष्य लिएको जनाएको छ ।

साथै, राइड सेयरिङ कम्पनीलाई पनि आफ्ना चालकको अनुगमन कडाइ गर्न तथा नियम पालना सुनिश्चित गर्न आग्रह गरिएको छ । यस अभियानले उपत्यकाको ट्राफिक अनुशासन कायम गर्न र यात्रु सुरक्षालाई मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

यसैबीच काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीको बहानामा लाखौँ रुपैयाँ ठगी गर्ने पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा बर्दिया बाँसगढी नगरपालिका–८ का ३६ वर्षीय अर्जुनबहादुर पौडेल, सर्लाही बरहथवा नगरपालिका–२ का ४६ वर्षीय डिल्लीराम भुजेल, काठमाडौँ महानगरपालिका–१६ की ४३ वर्षीया उमा गुरुङ, कास्की पोखरा महानगरपालिका–३३ का ३३ वर्षीय आशिष महत र रामेछाप लिखु तामाकोशी गाउँपालिका–३ की ३५ वर्षीया सङ्गीता श्रेष्ठ रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार पौडेलले क्रोएसिया पठाउने भन्दै तीन लाख ३० हजार रुपैयाँ, भुजेलले माल्दिभ्स पठाउने भन्दै दुई लाख ९९ हजार रुपैयाँ गुरुङ र महतले बेलायत पठाउने भन्दै जनही दुई लाख तथा श्रेष्ठले पोर्चुगल पठाउने भन्दै तीन लाख ६८ हजार रुपैयाँ ठगी गरेका थिए । 

उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धानका लागि आज वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरी उपरीक्षक भट्टले बताए । 

प्रकाशित मिति : ९ चैत्र २०८२, सोमबार  १२ : ०५ बजे

नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरण तत्काल रोक्न चिकित्सकको माग

झापा– चिकित्सक तथा जनस्वास्थ्यकर्मीले नेपालमा आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको

विपक्षको आपत्तिबीच सुनुवाइ समितिको बैठक सकियो, १ बजे प्रस्तावित प्रधानन्यायाधीशसँग छलफल

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाइका लागि बसेको

नेपाल बारले आज सर्वोच्च प्रशासनको कार्यशैलीविरुद्ध लालटिन बालेर प्रदर्शन गर्ने

काठमाडौँ– नेपाल बार एसोसिएसनलगायत कानुन व्यवसायीहरूले आज लालटिन बालेर प्रदर्शन

प्रस्तावित प्रधानन्यायाधीशको उजुरी अध्ययन गर्न समय माग्दै विपक्षी सांसद ‘फास्ट ट्र्याक’ को विरोध

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रियालाई

एमालेको प्रश्न: प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइमा किन हतारो ?

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रस्तावित प्रधानन्यायाधीश