काठमाडौं– संकटा फुटबल क्लबले विदेशी खेलाडीहरूको श्रम स्वीकृति सम्बन्धी विषय समाधान गर्दै तत्काल स्थगित भएका लिग सुरु गर्न राखेप र एन्फाको ध्यानाकर्षण गराएको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ए डिभिजन क्लव संकटा एफसीले हाल उत्पन्न भएको विषम परिस्थितिका कारण सीमित स्रोत र साधनबाट गरेको ठूलो आर्थिक लगानी जोखिममा परेको भन्दै विदेशी खेलाडी अनुबन्धसम्बन्धी विषय तत्काल समाधान गर्दै लिग सुरु गर्न राखेप र एन्फाको ध्यानाकर्षण गराएको हो ।
क्लबले विदेशी खेलाडीहरूले श्रम स्वीकृति विना पर्यटक भिसामा खेलिरहेको विषयलाई लिएर राष्ट्रिय लिग तथा महिला फुटबल लिग स्थगन भएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
प्रतियोगिताको नियमावली अनुसार क्लबले विदेशी खेलाडीहरूलाई विधिवत् अनुबन्ध गरी खेलाइएको क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले बताए । उनले अहिले राखेप र एन्फाबीचको विवादको असर समग्र नेपाली फुटबल क्षेत्रमा देखिएको उल्लेख गरे ।
अध्यक्ष तुलाधरले विदेशी खेलाडीको सहभागिता तथा श्रम स्वीकृति प्रक्रियालाई आधार मानी एन्फाबाट जारी गरिएको परिपत्र अनुसार आफ्ना विदेशी खेलाडीहरूको श्रम स्वीकृतिका लागि आवश्यक सम्पूर्ण कागजातहरू प्रतियोगिता सुरु हुनुभन्दा अघि नै एन्फामा पेश गरेको जानकारी दिए ।
क्लबले विदेशी खेलाडीहरूको श्रम स्वीकृति तत्काल प्रदान गर्न र प्रतियोगिताहरू लामो समय स्थगन भएमा आर्थिक रूपले क्षतिपूर्ति प्रदान गर्न समेत माग गरेको छ ।













प्रतिक्रिया